काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको महामारीले विश्वसँगै नेपाल पनि आक्रान्त रहेका कारण स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्णरूपमा पालना गरेर पर्व मनाउन सबैलाई आग्रह गर्नुभएको छ ।
तिहारको पाँचौँ दिन भाइटीका तथा नेपाल संवत्को नयाँ वर्ष ११४१ को अवसरमा सबै नेपालीमा शुभकामना सन्देश दिँदै उहाँले कोरोना सङ्क्रमणको रोकथाम र नियन्त्रणमा सरकारको उदासीनताका कारण बढ्दो सङ्क्रमणलाई कम गर्न नागरिकहरु आफैँ पनि सचेत र सजग हुन जरुरी रहेको उल्लेख गर्नुभएको छ ।
सन्देशमा उहाँले भन्नुभएको छ, “नेपाल विभिन्न जात–जाति, भाषा–भाषी, धर्म, विभिन्न चाड–पर्व एवं विभिन्न संस्कृति भएको देश हो, हामीमा निहित बन्धुत्व भावले विविधता बीचमा पनि अनुपम एकता कायम गरेको छ, तिहारले पनि हामी बीचको एकतालाई अझ मजबुत बनाएको ।” तिहार अर्थात यमपञ्चकका हरेक दिनले समस्त नेपालीहरुमा नयाँ उमङ्ग सिर्जना गर्न, दिदीबहिनी र दाजुभाइहरु बीच तथा आफन्तहरु बीचमा सुमधुर र सौहार्द सम्बन्ध विकसित गर्न सघाएको सभापति देउवाले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।
यसैगरी वाग्मती सभ्यतालाई नेपालको भाषा, साहित्य, कला र संस्कृतिको उत्थान काल मानिन्छ भन्दै सभापति देउबाले शुभकामना सन्देशमा नेपाल संवत् त्यही जागरण कालको इतिहास र संस्कृतिको एक जीवन्त धरोहर भएको उल्लेख गर्नुभएको छ । नेपाल संवत्को नयाँ दिनले हरेक वर्ष सबैलाई यसका प्रणेता शङ्खधर साख्वाको योगदानलाई सम्झाउने बताउँदै सभापति देउवाले यसको प्रचलन तिनै समाजसेवी साख्वाले सबैको ऋण मोचन गरिदिएको अति परोपकारी कार्यको सम्झनामा भएको उल्लेख गर्नुभएको छ । शङ्खधर साख्वालाई उहाँको उदारताको कदर गरेर राष्ट्रिय विभूतिको रूपमा सम्मान गरिएको हो ।
सभापति देउवाले अन्धकार विनाश गर्ने उज्यालोको पर्व तिहार र आफ्नै धरतीबाट उठेको नेपाल संवत्को नयाँ दिनले पारस्परिक एकता र सद्भावलाई अगाडि बढाउन सकोस् भन्दै, तिहार तथा नेपाल संवत्को नयाँ वर्षको उपलक्ष्यमा सबैमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०१ मंसिर २०७७, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गौरापर्वले नारी शक्ति, समर्पण र संस्कृतिप्रतिको आस्थालाई उजागर गर्छः सभापति देउवा
‘लखन थापा मगरलाई प्रथम शहीद घोषणा काँग्रेसले नै गरेको हो’ : देउवा
भ्रातृ संस्थाका महाधिवेशन निर्देशन समिति पदाधिकारीसँग बुढानीलकण्ठमा छलफल
पर्वहरू पहिचानसँगै सामाजिक एकता र संस्कृतिका प्रतीक हुन् : सभापति देउवा
पर्वहरूको मौलिकता जोगाउनु हाम्रो सामूहिक दायित्व : देउवा
लगानीकर्तालाई ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छ : सभापति देउवा