नेकपा कलह उत्कर्षमा

ओलीविरूद्ध दाहालको एकल राजनीतिक प्रतिवेदन, ओलीको कार्यशैलीमाथि प्रश्नै प्रश्न

सफल खबर संवाददाता

शनिबार, २९ कार्तिक २०७७, ०७ : ४२
ओलीविरूद्ध दाहालको एकल राजनीतिक प्रतिवेदन, ओलीको कार्यशैलीमाथि प्रश्नै प्रश्न

काठमाडौँ । नेकपाका शीर्ष नेताबीच आरोप–प्रत्यारोप चरम बिन्दुमा पुगेका बेला अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि दर्जनौं गम्भीर आरोप लगाउँदै पार्टी एकतादेखि अहिलेसम्म भएका कमीकमजोरीसहितको लिखित दस्ताबेज पेस गरेका छन् ।

नेकपा सचिवालय बैठकमा शुक्रबार दाहालले पेस गरेको १९ पेज लामो राजनीतिक प्रस्तावमा ओलीका यस्ता गतिविधि अब क्षम्य नहुने उल्लेख गरिएको छ । प्रधानमन्त्री ओलीले पार्टी एकताको राजनीतिक–वैचारिक भावना, संगठन, सिद्धान्त र विधि–पद्धति तथा स्थायी कमिटीको पछिल्लो बैठकका निर्णयहरूमाथि प्रहार गरेको दाहालको निष्कर्ष छ । पार्टी एकतायताका २९ महिनामा बैठकमा अध्यक्ष दाहालको मात्रै एकल राजनीतिक दस्ताबेज प्रस्तुत भएको यो पहिलो पटक हो । एकतायता सचिवालय बैठक ७०, स्थायी कमिटी ५ र केन्द्रीय कमिटीको बैठक २ पटक बसेको छ । औपचारिक बैठकमा दुवै अध्यक्षले दस्ताबेज पेस गर्ने गरेका थिए ।

झन्डै चार महिना लामो गलफतीपछि गत भदौ २६ को स्थायी कमिटी बैठकले गरेका निष्कर्ष लागू गर्ने विषयमै दुई अध्यक्षबीच मतभेद भएपछि लिखित आरोप–प्रत्यारोप हुन थालेको हो । ‘सरकारको नेतृत्वले पार्टीको राजनीतिक कार्यक्रम तथा घोषणापत्रलाई अवज्ञा गर्ने, पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्ने मान्यतालाई अस्वीकार गर्ने र सुशासन एवम् जनमुखी काम आचरणहरूको उपेक्षा गर्दै अघि बढ्ने हो भने यो ऐतिहासिक अवसर हेर्दाहेर्दै गुम्न सक्ने खतरा र चुनौती हाम्रा अगाडि देखा पर्दै जान थालेको छ । यस्तो स्थिति क्षम्य हुन सक्ने छैन,’ दाहालले भनेका छन् ।

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायतको साथ लिएर ओलीविरुद्ध मोर्चाबन्दी कसेका दाहालले शुक्रबार पेस गरेको दस्ताबेजमा सम्पूर्ण समस्याको जड ओली नै भएको उल्लेख गरेका छन् । प्रस्तावमा अध्यक्ष दाहालले गणतन्त्रको रक्षा र देश निर्माणका लागि आवश्यक त्यागसहित पहल लिन ओलीलाई सुझाव दिएका छन् । ‘कमरेड केपी ओलीले प्रमुख रूपमा गम्भीर आत्मसमीक्षा र आत्माआलोचना गर्दै पार्टी एकता, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा एवम् देशको निर्माणमा आवश्यक त्यागसहित पहल लिई समुचित योगदान गर्नुहुनेछ भन्ने विश्वास छ,’ दाहालको प्रस्तावको निष्कर्षमा उल्लेख छ ।

प्रस्तावमा उल्लेख भएअनुसार सरकार पार्टीले चलाउने सैद्धान्तिक मान्यता बिर्सिएर सरकारले पार्टी चलाउने स्थिति पैदा भएको छ । ‘पार्टीमा उत्पन्न अविश्वास, आशंका र अन्तरविरोध समाधान गर्ने अनेक प्रयास भए पनि अपेक्षित सकारात्मक परिणाम आउन भने सकेको छैन । यस सन्दर्भमा पछिल्लो र गम्भीर प्रयासका रूपमा गत भदौ २६ गते सम्पन्न गरिएको स्थायी कमिटीका निर्णयहरू पनि कार्यान्वयनमा जान सकेका छैनन् । बरु दिन बित्दै जाँदा र घटनाक्रम अगाडि बढ्दै जाँदा अविश्वास र अन्तरविरोध पनि बढ्दै गएका छन्,’ प्रस्तावमा भनिएको छ, ‘पार्टी र सरकारका सम्बन्धमा आपसी तालमेल र समन्वयको ठूलो अभाव छ । यथार्थमा आज पार्टीले सत्ता होइन, सत्ताले पार्टी चलाउने जस्तो उल्टो व्यवहार भइरहेको छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस