यमपञ्चक शुरु

पाँच दिनसम्म यसरी मनाइन्छ ‘उज्यालो पर्व ‘तिहार’

सफल खबर संवाददाता

शुक्रबार, २८ कार्तिक २०७७, ०९ : १६
पाँच दिनसम्म यसरी मनाइन्छ ‘उज्यालो पर्व ‘तिहार’

काठमाडौं । विजयादशमीपछिको अर्का ठूलो चाड तिहार नेपालीहरूको घरआँगनमा भित्रिसकेको छ। आज तिहारको दोस्रो दिन अर्थात काग तिहार । तिहारसँग सम्बन्धित विभिन्न कथनहरूमध्ये एउटाको सम्बन्ध यमराजसँग रहेको र कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म लगभग पाँच दिन मनाइने चलन भएकाले यस चाडलाई यमपञ्चक पनि भनिन्छ । 

हिन्दू धर्मावलम्वीले दीपावलीको रुपमा यस पर्वलाई धूमधासँग मनाउँछन्  यमपञ्चकमा त्रयोदशीदेखि क्रमशः काग, कुकुर, गाई र लक्ष्मी, गोरु र बलि एवं गोवर्द्धन र अन्तमा यम र उनकी दिदी यमुनाको सम्झनामा दिदी बहिनीले दाजु भाइको पूजा गरेर यो पर्व समाप्त हुन्छ । पञ्चकको सुरूदेखि नै बहिनीले आफ्ना दाजुलाई घरमा निम्त्याउँछन् र मीठा खानेकुरा, मन परेको सामान दिई देवताको रूपमा पूजा गर्ने गर्दछन् । तिहारका यी पाँच दिन काग तिहार, कुकुर तिहार, गाइ तिहार र गोवर्धन पूजा अर्थात् गोरु तिहार र भाई टीका अर्थात् भाई तिहार पर्दछन। यी पाँचै दिनका आ–आफ्नै विशेषता छन् ।

काग तिहार
तिहारको पहिलो दिन कागको पूजा गरिन्छ। जसलाई काग तिहार भनिन्छ । अत्यन्त चलाख पंक्षी मानिएको कागलाई यमराजको सन्देश सुनाउने यमदूतको प्रतीक समेत मानिन्छ। कागले अन्नबालीमा लाग्ने कीराहरू खाइदिएर कृषकको अन्नबाली नोक्सानी हुनबाट जोगाउँछ ।

फोहोर वस्तु खाइदिएर वातावरण स्वच्छ राख्नुका साथै भूकम्प वा कुनै दैवी विपत्ति आउँदा पहिले थाहा पाउने काग ग्रहण लागेका बेला कराउने गरेको छ ।

कुकुर तिहार
यमपञ्चकको दोस्रो दिन बफादार जनावर कुकुरको पूजा गरिन्छ । घरको रक्षक र यमराजको दूतसमेत रहेको कुकुरको पूजा गर्दै कुकुर तिहार मनाइन्छ । यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ ।

घरको आज्ञापालक र रक्षक कुकुरले प्राकृतिक प्रकोप वा विपत्तिका बेला पनि सूचना दिन्छ । भैरवको बाहन कुकुरलाई मन पर्ने खानेकुरा दिई फूलको माला लगाई यसदिन पूजा गरिन्छ ।

गाई तिहार, लक्ष्मी पूजा
हिन्दु धर्मावलम्बीहरु गाईलाई लक्ष्मी वा गौमाता मान्छन। लक्ष्मीलाई धनधान्यकी देवी र ऐश्वर्यकी प्रतीक मानिन्छ । कात्तिक कृष्ण औंसीको रात अन्धकारमय हुन्छ । यो कालरात्रिलाई उज्यालो बनाउन घर–घरमा बत्ती बालेर लक्ष्मीको आह्वान गर्ने गरिन्छ । लक्ष्मीको प्रतीक गाईको सोही दिन पूजा हुन्छ ।

गाईको गहुँत वा गोबरको प्रयोगले कुनै पनि धार्मिक कामलाई पवित्र बनाउने हिन्दु संस्कार छ । गाउँघरतिर गाईको गोबरले घर–आँगन लिप्ने तथा कोठा र चोटामा गहुँत छर्किएर ती स्थानलाई पवित्र तुल्याउने गरिएको छ । यही दिन धनधान्यकी देवी लक्ष्मीको पूजा हुन्छ । चेलीबेटीहरू भैलो खेलेर रमाइलो गर्न थाल्छन् । लक्ष्मीपूजाको रातलाई सुखरात्रि पनि भनिन्छ ।

गोवर्धन पूजा
पौराणिक कथानुसार गोवर्धन गोकुल नजिकै रहेको एक पर्वत हो विश्वास अनुसार कृष्ण भगवान गोकुलमा गोपालहरुसँग बस्दथे । गोपालहरु देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे तर इन्द्रवाट उनीहरुले केही पाउँदैन थिए ।

संस्कृतमा गौ भनेको गाई हो । त्यसैले गोवर्धन,गोकुल,गोपाल यी शव्दहरुले त्यस बेलाको समाजमा गाईलाई दिइएको सम्मानलाई प्रष्ट्याउँछ । वास्तवमा गोवर्धन पूजाको दिन तिहार (यमपञ्चक)को चौथो दिनमा पर्दछ र त्यसदिन घरघरमा गाईको गोवरले गोवर्धन पर्वतको प्रतिमा बनाई त्यसैको पूजा गरिन्छ । त्यसैदिन नेपालीहरुले सालभरि अन्न उब्जाउन हलो तानी मानिसहरुको पालनहारी गोरूको पनि पूजा गर्दछन् ।

भाइ तिहार 
तिहारको अन्तिम दिन कात्तिक शुक्ल द्वितीयामा भाइटीका पर्छ। चेलिबेटीले आफ्ना माइतीलाई विधिपूर्वक पूजाआजा गर्ने, मिठामिठा परिकार खुवाउने र उपहार दिने चलन छ भने दाजुभाइले पनि दिदी–बहिनीलाई टीका लगाई दक्षिणा वा उपहार दिने गर्छन् ।

यो दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, ओखर, तेल, मखमली र दूबोको माला, कटुस आदिको प्रयोगमा दिदीबहिनी र दाजुभाइको सुख–समृद्धि, अरोग्य र दीर्घायुको कामना गर्छन् । त्यसपछि दाजुभाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्ने गरिन्छ ।

तेलले सात घेरा हालेर दाजुभाइलाई छेक्ने चलन पनि पाइन्छ । फूल, अक्षता र चन्दनको पूजा गरी दिदी–बहिनीले दाजुभाइको शिरमा तेल लगाउँछन्। उनीहरूले सगुनका रूपमा दही पनि खुवाउँछन् । दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्व छ । मखमली नओइलाउने फूलको प्रतीक हो भने सयपत्रीको रंग कहिल्यै उड्दैन । दूबो सधैं हरियै रहिरहन्छ ।

प्रतिक्रिया दिनुहोस