लक्ष्मीपूजामा विद्युत् नियमित गर्न विशेष तयारी

पत्रपत्रिकाबाट

बुधबार, २६ कार्तिक २०७७, ०८ : ००
लक्ष्मीपूजामा विद्युत् नियमित गर्न विशेष तयारी

काठमाडौं । वर्षभरीमा सबैभन्दा बढी विद्युत् माग नेपाली चाड तिहार अन्तर्गत लक्ष्मीपूजामा हुने गरेको छ । कुनै कुनै बाहेक अधिकांश वर्ष सबैभन्दा उच्च माग हुने तिहारको लक्ष्मीपूजाको दिन विद्युत् व्यवस्थापन सबैभन्दा चुनौतीपूर्ण हुने गरेको छ ।

आउँदो लक्ष्मीपूजाका लागि भने नेपाल विद्युत् प्राधिकरणले विशेष योजना बनाएको छ । तिहार र त्यसमा पनि लक्ष्मीपूजाको दिन लोडसेडिङ नहोस् भनेर विशेष योजना बनाइएको प्राधिकरणले जनाएको छ । चार वर्षभन्दा अघिका अधिकांश लक्ष्मीपूजाका दिन लोडसेडिङ हुने भएपनि प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले यही दिनदेखि अनपेक्षित रूपमा लोडसेडिङ अन्त्य गराएका थिए ।

विद्युत् प्राधिकरण आउँदो लक्ष्मीपूजाका लागि समेत झिलिमिली कायम गर्ने गरी तयारी अघि बढाएको छ । प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आन्तरिक उत्पादन र भारतबाट आयात गरेर लक्ष्मी पूजाका लागि विशेष योजना बनाएको बताउँछन् ।

“लक्ष्मी पूजाको दिन झिलिमिलिलाई कायमै राख्न निजी क्षेत्र र प्राधिकरणबाट १ हजार ५० मेगावाट तथा भारतबाट २ सय ५० आयात गरेर बिजुलीको प्रबन्ध गर्ने योजना बनाएका छौं,” उनी भन्छन्, “कोभिडको कारणले लक्ष्मीपूजाको दिन माग गत वर्षकै जस्तै १३ सय मेगावाट हुने प्रक्षेपण गरी सो अनुसारको व्यवस्थापन गर्ने गरी योजना बनेको छ ।” कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस