सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिद अनियमिततामा प्रधानमन्त्री पनि संलग्न रहेको आरोप

बुधबार, २६ कार्तिक २०७७, ०७ : ३४
सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिद अनियमिततामा प्रधानमन्त्री पनि संलग्न रहेको आरोप

काठमाडौं । तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो टेप रेकर्ड गरेर चर्चामा आएका विजयप्रकाश मिश्रले सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिद अनियमिततामा प्रधानमन्त्री केपी शर्मा ओली पनि संलग्न भएको आरोप लगाएका छन् । 

जापानबाट फर्केलगत्तै जिल्ला अदालत काठमाडौंमा उनले पेस गरेको लिखित जवाफमा ‘तत्कालीन सञ्चारमन्त्री बाँस्कोटाले डिल गरेको अनियमिततामा प्रधानमन्त्री ओली पनि संलग्न रहेको’ उल्लेख छ । ‘गाली बेइज्जती’ मुद्दाको लिखित जवाफका क्रममा मिश्रले यसपटक मात्रै नभई अघिल्लो कार्यकालमा समेत प्रधानमन्त्री ओलीले अनियमितता गर्न सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे मन्त्रिपरिषद्बाट नीतिगत निर्णय गरेको दाबी गरेका छन् । 

मिश्रमाथि तत्कालीन सञ्चारमन्त्री बाँस्कोटाले ‘गाली बेइज्जती’ गरेको आरोपमा जिल्ला अदालतमा मुद्दा दर्ता गरेका थिए । तत्कालीन एमाले–माओवादी गठबन्धनको सरकार रहेकामा २०७३ असार–साउनमा माओवादीले कांग्रेससँग गठबन्धन बनाएको थियो ।

ओली नेतृत्वको सरकार ढल्ने निश्चित भएपछि हतारहतार सुरक्षण विकास समिति गठन गर्नुमा ‘अनियमितता गर्ने उद्देश्य रहेको’ आरोप मिश्रले लिखित जवाफमै लगाएका छन् । ओलीले राजीनामा दिनुभन्दा केही दिनअगाडि २०७३ साउन ५ गतेको मन्त्रिपरिषद् बैठकले सुरक्षण मुद्रण विकास समिति गठन आदेश जारी गरेको मिश्रको भनाइ छ । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस