नेकपाका अध्यक्ष प्रचण्डले बोलाएको सचिवालय बैठक धुम्बाराहीमा सुरु

सफल खबर संवाददाता

मंगलबार, २५ कार्तिक २०७७, १६ : ३४
नेकपाका अध्यक्ष प्रचण्डले बोलाएको सचिवालय बैठक धुम्बाराहीमा सुरु

काठमाडौँ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सचिवालय सदस्यहरुको बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ । 

बैठकमा अध्यक्ष प्रचण्डसहित सचिवालयका पाँच सदस्य सहभागी छन् । यस बैठकको बारेमा सचिवालयका सदस्यहरुले जानकारी गराएका छैनन् । स्रोतका अनुसार यो बैठक अनौपचारिक रहेको जनाइएको छ । एकपटक अनौपचारिक छलफल गरेर औपचारिक बैठकको मिति तय गर्ने विषयमा यतिबेला छलफल भइरहेको स्रोतको भनाइ छ । 

सोमबारसम्म प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकको मिति नतोके प्रचण्ड आफैंले बैठक बोलाएका हुन् । बैठकमा प्रधानमन्त्री केपी ओलीसहित महासचिव विष्णु पौडेल, रामबहादुर थापा बादल, ईश्वर पोख्रेल सहभागी छैनन् । 

धुम्बाराही बैठक बस्नुअघि प्रचण्डले प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटेका थिए। बालुवाटारबाट सिधै प्रचण्ड धुम्बाराही पुगेका हुन् । बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डबीच भएको छलफल बाहिर आएको छैन । 

यसअघि प्रधानमन्त्री ओलीनिकटका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री  शंकर पोखरेल प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए।

प्रतिक्रिया दिनुहोस