मेगा बैंकको बदमासी : १२ दिनभित्रैमा ऋण दियो, २२ दिनमै तिर्नलाई सूचना निकाल्यो

सफल खबर संवाददाता

मंगलबार, २५ कार्तिक २०७७, १६ : ०८
मेगा बैंकको बदमासी : १२ दिनभित्रैमा ऋण दियो, २२ दिनमै तिर्नलाई सूचना निकाल्यो

काठमाडौँ । मेगा बैंकको बदमासीको रहस्य बाहिरिएको छ । एकै व्यक्तिलाई घरी ऋण दिने घरी तिर्न आउनू भनेर सूचना निकाल्ने गरिएको तथ्य बाहिरिएको छ ।  एकै व्यक्तिलाई घरी ऋण तिर्न आउनु पर्ने भनेर पत्रिकामा नै सूचना निकालेको छ भने तत्कालै त्यही व्यक्तिलाई ऋण दिएर २२ दिनमा पुनः पत्र काटेर तिर्न आउनू भनिएको छ । 
 
भूमादेवी गौतम पौडेल र उनका श्रीमान् गुरुदत्त पौडेलको नाममा घरीघरी ऋण दिने र त्यो ऋण तिर्न आउनु भन्दै सूचना निकाल्ने गरेको प्रमाणहरु फेला परेको छ । १२ दिनभित्रमा दुई पटकसम्म ऋण दिने र ऋण दिएको २२ दिनभित्रमा तुरुन्त ३५ दिने सूचना निकाल्ने गरेको पाइएको छ । 

सार्वजनिक भएको प्रमाण अनुसार २०७५ पौष १८ गतेका दिन बैंकले पौडेल दम्पत्तीलाई ऋण दिएको देखिएको छ । बैंकले त्यसको १२ दिनपछि पौष ३० गते पुन ऋण थपि दिएको छ । त्यसको २२ दिनपछि भने ऋण तिर्न आउनु अन्यथा कर्जा सूचना केन्द्र लिमिटेडको कालासुचीमा नाम समावेश गर्न लेखी पठाउँछौं भन्दै ३५ दिने सूचना निकालेको छ । 

पौडेल दम्पत्ती ३५ दिनभित्र ऋण तिर्न नगएपछि बैंकले अघिल्लो सूचनाको ४५ दिनपछि फेरी अर्को ३५ दिने सूचना निकालेको छ भने त्यो सूचना प्रकाशित गरेको साढे तीन महिनामा २०७६ असार १९ गते बैंकले फेरि पनि ऋण दिएको छ । यसरी पटक पटक ऋण दिदै सूचना निकाल्दै गर्नुमा अवैध लेनदेन रहेको पनि स्रोतको भनाइ छ । 

मेगा बैंकले गरेको यस्तो शंकास्पद कारोबारको बारेमा नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले नेपाल राष्ट्र बैंक तथा आर्थिक नीति र निर्देशनहरुको अधिन बाहिर गएर कुनै पनि बैंकले कारोबार गर्न नमिल्ने बताए । यसै विषयमा नेपाल राष्ट्र बैंक​, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले यदि त्यस्तो भएको हो भने मेगा बैंकलाई कारवाही हुने बताए । 

प्रतिक्रिया दिनुहोस