भारतले सौर्य उर्जाबाट सन् २०२२ सम्म १०० गिगावाट विद्युत उत्पादन गर्ने

सोमबार, २८ फागुन २०७४, ०८ : २३
भारतले सौर्य उर्जाबाट सन् २०२२ सम्म १०० गिगावाट विद्युत उत्पादन गर्ने

नयाँ दिल्ली । भारतले सौर्य उर्जाबाट सन् २०२२ सम्म १०० गिगावाट विद्युत उत्पादन गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार नयाँ दिल्लीमा भएको अन्तर्राष्ट्रिय सौर्य उर्जा सम्झौता सम्मेलन (आइएसए) को उद्धघाटन समारोहमा भन्नुभयो, “भारतले आगामी पाँच बर्षभित्र १७५ गिगावाट विद्युत निकाल्ने र यसमध्ये १०० गिगावाट बिजुली सौर्य उर्जाबाट उत्पादन गर्ने घोषणा गर्ने योजना ल्याएको छ ।”

भारतीय प्रधानमन्त्री मोदीले भन्नुभयो, “हामीले अहिलेसम्म २० गिगावाट विद्युत सौर्य शक्तिबाट उत्पादन गर्न सफल भइसकेका छौँ । भारतमा अहिले परम्परागत स्रोतबाट विद्युत निकालिरहेको सन्दर्भमा थप विद्युत उत्पादनको स्रोत नवीकरणीय उर्जालाई बनाइनेछ ।”

सरकारले ‘सौर्य अध्ययन बत्ती योजना’ मार्फत् ७० लाख विद्यार्थीलाई उज्यालोको पहँुच दिनेछ । ‘अटल ज्योति योजना’को उद्देश्य भारतीय सडकमा वत्तीको प्रवन्ध गर्नु भएको र यसलाई सौर्य उर्जाको सहायतामा सफल पार्ने उहाँको भनाए थियो ।

प्रधानमन्त्री मोदीले भन्नुभयो, यदि सौर्य शक्तिलाई प्रविधिका अन्य क्षेत्रमा पनि जोड्न सकियो भने यसबाट मुलुकको विद्युतको मागलाई थप परिणाममुखी बनाउन सकिनेछ ।

भारत सरकारले २८ अर्ब एलइडी वल्व बाँडेर विगत तीन बर्षमा दुई अर्ब अमेरिकी डलर बराबरको धनराशी जोगाएको छ भने ४ गिगावाट विद्युत खपतलाई पनि बचाएको छ, प्रधानमन्त्री मोदीले भन्नुभयो । यसबाहेक यस योजनाले तीन करोड टन कार्बनडाई अक्साइड उत्सर्जन हुनबाट जोगाएको छ ।

भारतले विभिन्न १५ विकासोन्मुख मुलुकमा एक अर्ब चार करोड अमेरिकी डलर बराबरको २७ सौर्य योजना सञ्चालनमा ल्याउन लागेको उक्त कार्यक्रममा बताइएको थियो । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस