‘काकाकुल’ गाउँमा पानी आएपछि खुसियाली...

पत्रपत्रिकाबाट

आइतबार, २३ कार्तिक २०७७, ०७ : ४६
‘काकाकुल’ गाउँमा पानी आएपछि खुसियाली...

इलाम । इलाम नगरपालिका ११ (साविक सोयाक गाविस–७) का नरेन्द्रप्रसाद आचार्य गाउँमा खानेपानीको चरम अभाव भएपछि घर छाडेर बसाइँ हिँडे। स्थानीय बालकन्या विद्यालयका शिक्षकसमेत रहेका आचार्य बिहान–बेलुका हातमुख जोर्ने जागिरभन्दा प्राण धान्ने खानेपानी चाहिँ बढी आवश्यक भएपछि गाउँ बसिरहन सकेनन्।

गाउँबाट धेरै तल खोलाको छेउमा १० वर्षअघि बसाइँ सरेका आचार्य अहिले पुरानै घर उक्लिएका छन्। अहिले गाउँमै खानेपानी आएपछि उनको परिवार घर फर्केको हो। ‘जसोतसो खानेपानी टारियो भनेमात्रै बाँच्न सकिनेरहेछ,’ उनले सुनाए, ‘अब पक्कै पनि पहिलाजस्तो काकाकुल भएर बस्नुपर्दैन होला।’  

उसबेला खानेपानी लिन घरबाट दिनहुँ २ किलोमिटर धाउनुपथ्र्यो। गाउँका कम्तीमा पनि दर्जन घरले एउटै कुवाको पानी खानुपथ्र्यो। ‘बिहान २ बजेतिर उठेर कुवामा पुग्नेले पानी पाउँथ्यो, ढिलो गर्नेले फेरि कुवा भरिउञ्जेल पर्खिनुपथ्र्यो,’ उनले दशकअघिको सास्ती सम्झिए, ‘डोकामा गाग्री बोकेर कुवा पुगेका कतिजना त पानी नपुगेर रित्तैसमेत फर्किनुपथ्र्यो।’ आचार्य गाउँ फर्केर पुरानो घर स्याहार्दैछन्। नयाँ घरसमेत बनाउँदैछन्।  

औल भेगको अत्यन्तै उर्बर भूमि, ‘दरबार’जस्ता ठुल्ठूला घर छाडेर बसाइँ सर्ने आचार्य एक्ला होइनन्। यहाँका ११ परिवार खानेपानीले आँत भिजाउनै नपाएपछि तराईका जिल्लातिर बसाइँ सरे। स्थानीय डिल्लीराम आचार्य, कमल आचार्य, यादव आचार्य, टीकाराम आचार्य, युवराज आचार्य, डोलाराम आचार्य, भेषराज आचार्य, कुलप्रसाद आचार्य, बुद्धिसागर आचार्य र गोपाल आचार्यलगायतका परिवार दशकअघि बसाइँ हिँडे। उनीहरूले छाडेका घर अहिले भग्नावशेष भएका छन्।

तर, खानेपानीको चपेटा सहेर भएपनि गाउँमै अडिएका परिवारको सास्ती भने अहिलेसम्म उस्तै थियो। दशकौंदेखि हरहर भएको आँत भिजाउन पाउने भएपछि अहिले स्थानीयमा हर्षको सीमा छैन। स्थानीय जुनु मगर भन्छिन्, ‘झन्डै १ घण्टाको बाटो धाएर डोकामा पानी बोक्दा–बोक्दा ढाडै पिल्सिएको छ। अब चाहिँ घरमै धारो आइपुगेकाले सास फेर्न पाइएलाजस्तो छ।’ करेसो जोडिएको खड्का परिवार १२ वर्षअघि पानी पिउन नपाएर झापाको दुर्गापुर बसाइँ सरेको उनले सुनाइन्। गाउँमा पानी पुगेपछि कतिपय छिमेकी पुनः गाउँ फर्किने तर्खर गरिरहेको स्थानीय सुनाउँछन्। नागरिक दैनिकमा खबर छ ।