काठमाडौंका धार्मिक क्षेत्रको भ्रमणमा व्यस्त भारतीय सेनाध्यक्ष नरवणे

सफल खबर संवाददाता

बुधबार, १९ कार्तिक २०७७, १८ : ००
काठमाडौंका धार्मिक क्षेत्रको भ्रमणमा व्यस्त भारतीय सेनाध्यक्ष नरवणे

काठमाडौं । नेपाल भ्रमणमा आएका भारतीय स्थल सेनाध्यक्ष  मनोज मुकुन्द नरवणे पहिलो दिन धार्मिक क्षेत्रको भ्रमणमा व्यस्त भएका छन् ।

नरवणेले बुधवार बसन्तपुरस्थित कुमारीको दर्शन गरेका छन् । कुमारीको दर्शनपछि उनि गौशलास्थित पशुपति नाथको मन्दिरमा पुगेका छन् । धर्मपत्नी विना नरवणेसहित पशुपति मन्दिरमा उनले विशेष पूजा गर्ने बताइएको छ । सुरक्षाका कारण नेपाली सेनाले पशुपती जाने र फर्कने ३ वटा बैकल्पिक रुट तय गरेको थियो । बसन्तपुरबाट उनलाई सैन्य स्कर्टिङमा रातोपुल हुँदै पशुपति लगिएको छ ।  

नेपाली सेना, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरुको कडा सुरक्षा व्यवस्थाका बीच उनी भ्रमण गरिहेका छन् । उनको सुरक्षाका लागि सैनिक प्रहरीले अगुवा–पछुवा गाडीको व्यवस्था गरेको छ भने पछाडि नेपाल प्रहरीको एउटा टोली समेत खटिएको छ ।

प्रधान सेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा ३ दिने भ्रमणमा नेपाल आएका नरवणेको बुधवार औपचारिक कार्यक्रम छैन् । पशुपती दर्शनपछि प्रधान सेनापति पूर्णचन्द्र थापाले आयोजना गरेको डिनरमा सहभागी हुँदैछन् । बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी प्रदान गर्ने औपचारिक कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस