‘म कृषि क्षेत्रको चौकीदार हुँ, बदमासी गर्नेलाई छोडदिन्’ : कृषि मन्त्री भुषाल

सफल खबर संवाददाता

बुधबार, १९ कार्तिक २०७७, ११ : ४३
‘म कृषि क्षेत्रको चौकीदार हुँ, बदमासी गर्नेलाई छोडदिन्’ : कृषि मन्त्री भुषाल

काठमाण्डौ । कृषि मन्त्री घनश्याम भुषालले जिम्मेवारी लिएर काम नगर्ने पदाधिकारीहरुमाथि निर्ममतापूर्वक कारवाही गर्ने चेतावनी दिएका छन् । ‘जिम्मेवारी पुरा गर्न नसक्ने हो, काम गर्न नसक्ने हो भने छोडिदिनुस्, होइन भने काम गर्नु पर्छ, परिणाम दिनुपर्छ । अब कुनै वहानावाजी होइन, परिणाम चाहिन्छ ।

 विनापूर्वाग्रह निर्ममता काम गर्नुस् र परिणाम दिनुस् । परिणाम दिन नसक्ने भए छोड्नको लागि तयार हुनुस् ’ नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को व्यवस्थापन तहका अधिकारीहरुसंगको अन्तक्रियामा मन्त्री भुषालले भने । आफू कृषि क्षेत्रको चौकीदार भएको बताउंदै उनले भने–‘म कृषि क्षेत्रको चौकीदार हुं । कसैले यस भित्र पसेर बदमासी गर्न खोज्छ, तपाईहरुलाई गलत काम गर्न दवाव दिन्छ भने मैले गेटबाटै तह लगाइदिन्छु । त्यसो भएपछि तपाईहरुले त प्रभावकारीरुपमा काम गर्नु पर्यो नी ।’ 

मन्त्री भुषालले उत्पादनशिल र सृजनशिल कर्म भएकोले धर्तीका सबैभन्दा सुन्दर मानिसहरुले मात्रै कृषि पेशा अपनाउने बताउंदै त्यसलाई प्रदुषित गरिएकोले अब कुनै पनि हालतमा शुद्धिकरण हुनु पर्ने बताए । सबैभन्दा बढी देश बिगारेको राजनीतिज्ञहरुले हो, तर त्यसमा कर्मचारीहरुको भूमिका पनि कम्ति छैन भन्दै भुषालले कृषिमा राजनीति क्षेत्रबाट हुने हस्तक्षेप पुरै रोकिने बताए । ‘कसैले तपाईहरुलाई अनावश्यक दवाव दिन्छ भने सिधै मलाई भन्नुहोस्, फोन डाइभर्ट गरेर मकहां पठाइदिनुस् त्यस्ता सबै दवावहरुलाई म तह लगाउंछु । त्यसो भएपछि तपाईहरुले त परिणाम दिनु पर्यो नी ।’

मन्त्री भुषालले नार्कमा रहेको बेथिति देख्दा आफूलाई भाउन्न भएको बताउंदै अब त्यसरी नहुने बताए । ‘अब कुर्न सकिदैन, जुनसुकै हालतमा पनि परिणाम चाहिन्छ’ मन्त्री भुषालले भने ।  कार्यक्रममा नार्ककका कार्यकारी निर्देशक डा. दीपक भण्डारी तथा निर्देशकहरु राम वहादुर केसी, डा.स्वंय प्रकाश श्रेष्ठ र नविन प्रकाश पौडेलले नार्कको विभिन्न पक्षको बारेमा कार्यपत्र पेश गरेका थिए ।  कार्यक्रममा सहभागि नार्कका उच्च अधिकारीहरुले विगतमा मन्त्री र कृषि मन्त्रालयको नेतृत्वबाट कृषि अनुसन्धानलाई पूर्वाग्रहीरुपमा पछाडि पारिएको तथा नार्कका साधन स्रोतहरुलाई दुरुपयोग गर्न दवाव दिइने गरिएको अनुभव सुनाएका थिए ।

‘कुनै मन्त्रीले पहिलो पटक म तपाईहरुलाई कुनै अनुचित दवाव दिन्न तर तपाईहरुले परिणाम दिनुस् भनेर दबाब दिएको पहिलो घटना होला । अन्यथा नार्कले कृषि मन्त्रालयबाट अनावश्यक दवाव मात्र झेलिरह्यो । त्यसले गर्दा नै नार्कमा समस्या भएको हो । अहिले मन्त्रीले सकारात्मक काम गर्नको लागि दवाव दिएकोले अब नार्क सुधार भएरै छोड्छ’ उनीहरुको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस