उत्तर कोरियासँगको वार्तामा अभूतपूर्व प्रगति हुने राष्ट्रपति ट्रम्पको भनाई

आइतबार, २७ फागुन २०७४, १७ : २९
उत्तर कोरियासँगको वार्तामा अभूतपूर्व प्रगति हुने राष्ट्रपति ट्रम्पको भनाई

मुन टाउनसिप, संयुक्त राज्य अमेरिका  । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेतासँग हुन गइरहेको वार्ता अभूतपूर्वरुपमा सफल हुने भविश्यवाणी गर्नुभएको छ ।

उहाँले भन्नुभयो– मैले देखेको छु कि हामीले उत्तर कोरियासँग गर्न लागेको वार्ता निकै सफल हुनेछ र यसले हामीबीचका सबै कुराहरुमा पनि खुलेर कुरागर्ने अवस्था आउने छ ।

पेन्सिलभानियाका लागि प्रस्थान गर्नुअघि शनिबार सम्वाददाताहरुसँग संक्षिप्त कुराकानीगर्दै राष्ट्रपति ट्रम्पले यो प्रतिक्रिया दिनुभएको हो ।

उहाँले उत्तर कोरियासँगको वार्ताका लागि आफू उत्साहित रहेको भन्दै यसका लागि जापान र दक्षिण कोरियाको पनि समर्थन र सहयोग रहेको पनि खुलासा गर्नुभयो ।

मलाई उत्तर कोरियाले अणुअस्त्रको परीक्षण रोक्ने आश्वासन दिएका छन् र उनीहरुले आगामी दिनमा गर्ने सम्भावना पनि छैन, त्यसैले मलाई यो वार्ताप्रति उत्साह जागेको छ– उहाँले भन्नुभयो ।

उत्तर कोरियाली नेता किम जङ उन र राष्ट्रपति ट्रम्पबीच आगामी मे महिनाको अन्तिमतिर भेटवार्ता हुने भएको समाचार हालैमात्र आएको थियो ।

उनसँगको भेटवार्ताका लागि उत्तर कोरियाली नेता उनको आमन्त्रण स्वीकार गर्नुअघि राष्ट्रपति ट्रम्पले जापानी प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिसँग फोनवार्ता गर्नुभएको पनि बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प उत्तर कोरियाका नेता उनसँग भेट्न तयार हुनुभएको समाचार बिहीबार मात्र आएको थियो । उत्तर कोरियाली नेता उनको आग्रहमा राष्ट्रपति ट्रम्प उहाँलाई भेट्न तयार हुनुभएको हो ।

अमेरिकी र उत्तर कोरियाली नेताहरुसँग भेटवार्ता गरेका दक्षिण कोरियाली राष्ट्रपतिका विशेषदूतले बिहीबार अमेरिकाबाट सो जानकारी दिनुभएको हो ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनका विशेषदूतका रूपमा राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ इयु–योङ र दक्षिण कोरियाको गुप्तचर निकायका प्रमुख दक्षिण कोरियाली राष्ट्रपति र उत्तर कोरियाली नेता उनको सन्देश बोकेर अमेरिका जानुभएको थियो ।

उहाँहरुले संयुक्तराज्य अमेरिकाका सुरक्षा र गुप्तचरसम्बन्धी उच्च अधिकारीका साथै अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनसँग भेटवार्ता गरी हालैको प्योङयाङ भ्रमणका बारेमा जानकारी गराउनुभएको थियो ।

त्यसपछि राष्ट्रपति ट्रम्प किमसँग भेटवार्ताका लागि तयार हुनुभएको समाचारमा जनाइएको छ ।

उत्तर कोरियाली नेता किमले राष्ट्रपति ट्रम्पलाई भेटवार्ताको लागि प्रस्ताव गर्नुभएको र सोही वार्ताको वातावरण निर्माणका लागि भन्दै आफूहरुले अणुअस्त्रको परीक्षणको काम पनि रोक्ने आश्वासन दिनुभएको थियो ।

दक्षिण कोरियाली अधिकारीहरुका अनुसार किमले पारमाणविक र क्षेप्यास्त्र परीक्षणहरु स्थगन गर्न सहमति जनाउनुभएको छ भने आणविणक निस्शस्त्रीकरणका लागि पनि प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

यो घटनाक्रम चिनियाँ विदेशमन्त्री वाङ यिले उत्तर कोरिया र अमेरिकालाई वार्तागर्न आग्रह गरेको भोलिपल्ट विकसित भएको देखिएको छ

गएको बिहीबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो आग्रह गर्नुभएको थियो । उहाँले यी दुई देशले जतिसक्दो चाँडै शान्तिवार्ता गर्नुपर्ने सुझाव दिनुभएको थियो ।(रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस