दशैंमा बेवारिसेहरुलाई खाना खुवाउने कार्यक्रम सकियो, तिहारमा पनि खुवाइने

हिरालाल आचार्य ‘डायमण्ड’

शनिबार, १५ कार्तिक २०७७, १८ : २८
दशैंमा बेवारिसेहरुलाई खाना खुवाउने कार्यक्रम सकियो, तिहारमा पनि खुवाइने

चितवन । बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र चितवन शाखाले दशैंको अवसरमा नारायणगढस्थित नारायणी नदी किनारमा आयोजना गरेको बेवारिसे सडक मानवहरुलाई निःशुल्क खाना खुवाउने र दशैं मनाउने कार्यक्रम सम्पन्न गरेको छ ।

केन्द्रले असोज १ गते घटस्थापनाबाट दोस्रो चरणको खाना खुवाउने अभियान सुरु गरेको थियोे । केन्द्रकी संयोजक सीता कुँवरले दशैंका बेला १५ दिनसम्म बिहान र बेलुकाको खाना खुवाइएको बताइन् । दशैंका दिन बेवारिसेहरुलाई टिका लगाएर नयाँ लुगा पनि वितरण गरिएको बताउँदै संयोजक कुँवरले तिहार पनि बेवारिसेहरुसँगै मनाउने योजना रहेको सुनाइन् ।

कुँवरका अनुसार हरेक दिन बिहान ११ बजे र बेलुका ६ बजेपछि खाना खानका लागि सडक मानवहरु आउने गर्थे । सामाजिक दुरी कायम राख्दै लामबद्ध रुपमा बसेकै ठाउँमा उनीहरुलाई खाना पु¥याइन्थ्यो । खाना नारायणी किनारमै पकाएर खुवाइन्थ्यो ।

भरतपुर महानगर सहयोगापेक्षी सडक मानवमुक्त महानगरका रुपमा घोषित छ । तर सहयोगापेक्षी सडक मानवहरु महानगरमा अझै रहेको संयोजक कुँवर बताउँछिन् । ‘खाना खान दैनिक ४०० जनासम्म आएका थिए । जसमध्ये २८४ जना बेवारिसेहरु नै छन् । घरपरिवार भएकाहरुको पहिचान गरेर उनीहरुलाई आफ्नो घरमा पठाउने काम पनि ग¥यौं’ उनले भनिन् ।

विभिन्न व्यक्ति, संघसंस्था र पसलहरुहरुले पनि खाना खुवाउनका लागि आर्थिक सहयोग गरेको केन्द्रका उपसंयोजक प्रकाश थापाले बताए । कसैले जन्मदिन, वैवाहिक वर्षगाँठ, कुनै संघसंस्था वार्षिकोत्सको अवसरमा पनि खाना खुवाउनका लागि सहयोग गर्ने गरेको उनको भनाइ छ । सहयोगीमनहरु प्रति आभार प्रकट गर्दै उनले आफूहरु आर्थिक रुपमा पारदर्शी रहेको बताए । 
सहयोगको रकमले नपुगरे पसलहरुबाट उधारोमा बेवारिसेहरुलाई लत्ताकपडा किनेको बताउँदै उनले आफूहरु जस्तोसुकै अवस्थामा पनि बेवारिसेहरुको सेवामा लागिरहेको बताए ।

यसअघि पहिलो चरणमा सो केन्द्रले भदौ ५ गतेदेखि असोज ५ गतेसम्म लियो क्लब अफ भरतपुर युथलाई साथमा लिएर निषेधाज्ञाका बेला खाना खुवाएको थियो । 

प्रतिक्रिया दिनुहोस