नारायणी किनारमा सडक मानवलाई खाना खुवाएर दसैँ मनाइँदै

हिरालाल आचार्य ‘डायमण्ड’

विहीबार, ०६ कार्तिक २०७७, १५ : ४५
नारायणी किनारमा सडक मानवलाई खाना खुवाएर दसैँ मनाइँदै

चितवन । बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र चितवन शाखाले नारायणगढस्थित नारायणी नदी किनारमा बेवारिसे सडक मानवहरुलाई दसैँको अवसरमा निःशुल्क खाना खुवाइरहेको छ ।

केन्द्रले असोज १ गते घटस्थापनाबाट दोस्रो चरणको खाना खुवाउने अभियान सुरु गरेको हो । अभियानलाई पूर्णीमासम्म सञ्चालन गरिने संस्थाकी संयोजक सीता कुँवरले बताइन् ।

कुँवरका अनुसार हरेक दिन बिहान ११ बजे र बेलुका ६ बजेपछि खाना खानका लागि सडक मानवहरु आउने गर्छन् । सामाजिक दुरी कायम राख्दै लामबद्ध रुपमा बसेकै ठाउँमा उनीहरुलाई खाना पु¥याइन्छ । खाना नारायणी किनारमै पकाउने गरिन्छ ।

भरतपुर महानगर सहयोगापेक्षी सडक मानवमुक्त महानगरका रुपमा घोषित छ । तर सहयोगापेक्षी सडक मानवहरु महानगरमा अझै रहेको संयोजक कुँवर बताउँछिन् । ‘खाना खान दैनिक ४०० जनासम्म आउने गर्छन् । जसमध्ये २८५ जना बेवारिसेहरु नै छन् भने अन्यहरुको पहिचान गर्ने काम भइरहेको छ । घरपरिवार भएकाहरुको पहिचान गरेर उनीहरुलाई आफ्नो घरमा पठाउने काम गरिरहेका छौं’ उनले भनिन् ।

विभिन्न व्यक्ति, संघसंस्था र पसलहरुहरुले पनि खाना खुवाउनका लागि आर्थिक सहयोग गरिरहेको उपसंयोजक प्रकाश थापाले बताए । कसैले जन्मदिन, वैवाहिक वर्षगाँठ, कुनै संघसंस्था वार्षिकोत्सको अवसरमा पनि खाना खुवाउनका लागि सहयोग गर्ने गरेको उनको भनाइ छ ।

पहिलो चरणमा सो केन्द्रले भदौ ३ गतेदेखि असोज ५ गतेसम्म निषेधाज्ञाका बेला पनि खाना खुवाएको थियो । पहिलो चरणको खाना खुवाउने अभियानमा लियो क्लब अफ भरतपुर युथले सहकार्य गरेको भएपनि दोस्रो चरणको अभियान केन्द्रले एक्लै चलाइरहेको छ । 

 

प्रतिक्रिया दिनुहोस