भरतपुरका सहयोगापेक्षी सडक मानवहरु नारायणी किनारमा आएर भोक मेट्दै (फोटोफिचर)

हिरालाल आचार्य ‘डायमण्ड’

मंगलबार, २३ भदौ २०७७, १५ : ३५
भरतपुरका सहयोगापेक्षी सडक मानवहरु नारायणी किनारमा आएर भोक मेट्दै (फोटोफिचर)

चितवन । कोरोना भाइरस (कोभिड–१९) कारण देशका विभिन्न स्थानहरुमा लकडाउन र निषेधाज्ञा गरिएको छ । हजारभन्दा बढी संक्रमित रहेका चितवन जिल्ला धेरै संक्रमित हुने जिल्लाहरुको सुचीमा रहेको छ । यस्तैमा जिल्ला प्रशासन कार्यालय चितवनले गत साउन २९ गतेदेखि निषेधाज्ञा जारी गरेको छ । पछिल्लो समय व्यवसायहरु खुल्ने गरी निषेधाज्ञालाई केही खुकुलो पारिएको छ । कोरोना संक्रमितको दर दिनप्रतिदिन बढिरहेकाले निषेधाज्ञाको अन्त्य भइ समान्य जीवन जिउने दिन कहिले आउँछ भनेर अहिल्यै भन्न सक्ने अवस्था छैन ।

निषेधाज्ञाको समयमा पनि जसोतसो खान सक्नेहरु र घर भएकाहरुले त बिहानबेलुका घरमा बसेर खाना खाइरहेका छन् । तर अनाथ, असहाय र अलपत्र नागरिक जो सडकमा बेवारिसे छन्, ती सहयोगापेक्षी सडक मानवहरुको अवस्था भने दर्दनाक बनेको छ । उनीहरु रोगले भन्दा पनि भोकले मर्ने पो हुन्की भन्ने चिन्ता बढेको छ । भरतपुर महानगर सहयोगापेक्षी सडक मानवमुक्त महानगरका रुपमा घोषित छ । तर सहयोगापेक्षी सडकमानवहरु भने अझै रहेको बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र चितवन शाखाकी संयोजक सीता कुँवर बताउँछिन् ।

उनैको संयोजनमा चलिरहेको सो संस्थाको आयोजनामा भरतपुरका सहयोगापेक्षी सडक मानवहरुलाई विगत १९ दिनदेखि नारायणगढको नारायणी किनारमा खाना खुवाउने काम जारी छ । 

बिहान ७ बजेदेखि नै नारायणी किनारमा बनभोजको झल्को आउने गरी खाना पकाउने कार्य सुरु हुन्छ । ११ बजेपछि खाना खानका लागि बालबालिकादेखि वृद्धवृद्धाहरुसम्म आउँछन् । सामाजिक दुरी कायम राख्दै लामबद्ध रुपमा बसेका उनीहरुलाई बसेको ठाउँमा खाना पुर्‍याइन्छ । यसरी बिहानको एक छाक उनीहरुले टार्दै आइरहेका छन् ।

खाना खान २५० देखि ३०० जनासम्म आउने गरेको कुँवरले बताइन् । खाना खान आउनेहरुमा अधिकांश सहयोगापेक्षी सडक मानवहरु छन् भने केही कोठामा बस्ने तर निषेधाज्ञाका कारण अन्न किन्न सक्ने हैसियत गुमाएकाहरु रहेको कुँवले जानकारी दिइन् । 

विभिन्न व्यक्ति, संघसंस्था र पसलहरुहरुले पनि खाना खुवाउनका लागि आर्थिक सहयोग गरिरहेको उनले बताइन् । कसैले जन्मदिन, वैवाहिक वर्षगाँठ, कुनै संघसंस्था वार्षिकोत्सको अवसरमा पनि खाना खुवाउनका लागि सहयोग गर्ने गरेको उनले बताइन् । 

चितवनका विभिन्न क्लवहरुले पनि सो कार्यमा सहयोग गरेका छन् । विशेष गरी लियो क्लव अफ भरतपुर यूथका युवायुवतीहरुले सक्रिय रुपमा दिनदिनै आएर सहयोग गरिरहेको संयोजक कुँवरले बताइन् । सुरुवाती दिनहरुमा आर्थिक सहयोग पनि गरेको सो क्लवले पछिल्ला दिनमा खाना पकाउने र खुवाउने कार्यमा महत्वपूर्ण भूमिका खेलिरहेको उनले बताइन् ।

निषेधाज्ञा सकिएको एक हप्तासम्म यसरी खाना खुवाउने योजना रहेको कुँवरले सुनाइन् । १९ दिनदेखि आफूहरुले यसरी खाना खुवाइरहँदा कुनै पनि सरकारी निकायको सहयोग नपाएको उनले बताइन् । खाना खुवाउका लागिमात्र दैनिक १५ हजार खर्च हुने गरेको उनले बताइन् ।

बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रले भरतपुर महानगरपालिका १ ठिमुरामा यही वर्षको तीजबाट शाखा सञ्चालनमा ल्याएको हो । सो केन्द्रको २५ वटा जिल्लामा शाखा रहेको छ । आफ्नो घर नभएका सडक मानवहरुलाई ठिमुरामा रहेको यही शाखालाई आफ्नो घर मान्न उनले आग्रह गरेकी छिन् । हाल ४ कोठाको घरसहित शाखा सञ्चालनमा ल्याइएको र त्यसलाई बढाउँदै लैजाने र बेवारिसे सडक मानवहरुलाई लगेर राख्ने उनले बताइन् । बेवारिसेको व्यवस्थापनका साथै सो संस्थाले बलात्कार, हिंसामा परेको महिलाहरुको पनि उद्दार गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस