विवादकाबीच राष्ट्रपति ट्रम्पले ल्याटिन अमेरिकी देशको भ्रमण गर्ने

आइतबार, २७ फागुन २०७४, १३ : १७
विवादकाबीच राष्ट्रपति ट्रम्पले ल्याटिन अमेरिकी देशको भ्रमण गर्ने

वासिङ्टन । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना पेरु र कोलोम्बियाको भ्रमण गर्नुहुने भएको समाचार छ ।

उहाँले आगामी महिना ल्याटिन अमेरिकाको भ्रमणका लाग कार्यक्रम तय गर्नुभएको जानकारी अमेरिकी राष्ट्रपतिको कार्यालयले शनिबार जानकारी दिएको समाचारमा जनाइएको छ । ह्वाइट हाउसद्धारा जारी विज्ञप्तिमा भनिएको छ– उहाँले सो भ्रमणका क्रममा पेरुको राजधानी लिामामा आयोजना गरिएको अमेरिकी राष्ट्रहरुको एक सम्मेलनमा पनि सहभागिता जनाउनुहुने छ ।

त्यस अवसरमा उहाँले पेरुका राष्ट्रपति पेड्रो पाब्लो कुन्स्कीसँग पनि द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । त्यसैगरी कोलोम्बियामा पनि उहाँले त्यहाँका राष्ट्रपति जुआन म्यानुएल स्यान्टोससँग पनि भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको ह्वाइट हाउसले जानकारी दिएको छ ।

यो उहाँको पहिलो ल्याटिन अमेरिकी भ्रमण हो । यस भ्रमणका क्रममा उहाँले यहाँका विभिन्न देशहरुसँग द्विपक्षीय हितका साथै अरु पनि विविध कार्यक्रमहरुमा सहभागीता जनाउनुहुने बताइएको छ ।

यो भ्रमण राष्ट्रपति ट्रम्पले सबैजसो ल्याटिन अमेरिकी देशहरु काम नलाग्ने देश भनेर सार्वजनिक रुपमा आरोप लगाएको केही समयपछि हुन लागेको छ ।

गत जनवरी महिनामा उहाँले यी देशलाई काम नलाग्ने भन्दै ती देशलाई ‘चर्पीको कमोट’ को समेत संज्ञा दिनुभएको थियो । उहाँको यो अभिव्यक्तिपछि सार्वजनिक रुपमा नै उहाँको विरोध मात्र भएन विभिन्न देशमा त उहाँका विरुद्धमा विरोध प्रदर्शनहरु पनि भएका थिए ।

उहाँले यस्तै शब्द मेक्सिकोलाई पनि प्रयोग गर्नुभएको थियो । त्यसपछि उहाँले मेक्सिकोको सीमा क्षेत्रमा पर्खाल लगाउनेसम्मको पनि धम्की दिनुभएको थियो । यसका साथै उहाँले अरु ल्याटिन अमेरिकी देशमा आयात हुने स्टील र अल्मुनाईमा पनि चर्काे मात्रामा कर लगाउने प्रस्ताव हालैमात्र गर्नुभएको छ ।

त्यसैगरी पेरुसँग पनि यसअघिको अमेरिकी ओबामा प्रशासनले कटुतापूर्ण सम्बन्धमा सुधार ल्याउने काम गरेको भए पनि ट्रम्प राष्ट्रपति भएपछि पेरुसँगको सम्बन्ध थप बिग्रिएको छ । यसका कारण उहाँको ल्याटिन अमेरिकी देशहरुसँगको सम्बन्धमा सुधार आउन सकेको छैन । यस्तो अवस्थामा हुन लागेको उहाँको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको कतिपय विश्लेषकहरुको भनाई छ । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस