फेरि विवादको भूमरीमा फस्यो ओली–प्रचण्ड नेतृत्वको नेकपा

पत्रपत्रिकाबाट

विहीबार, १३ कार्तिक २०७७, ०८ : ०३
फेरि विवादको भूमरीमा फस्यो ओली–प्रचण्ड नेतृत्वको नेकपा

काठमाडौं । चार महिनाको छिनाझपटीपछि फेरि विवाद नहुने गरी मिलेको भनिएको नेकपाभित्रको सहमतिबारे नेता घनश्याम भुसालले गत भदौ २६ गतेको स्थायी कमिटी बैठकमा भनेका थिए, ‘यो सहमति ब्रेन ट्युमरका बिरामीलाई निको पार्छु भनेर टाउकामा घस्ने नुरानीको तेल लगाइदिएजस्तै हो ।’

भुसालकै जस्तै सार थियो– स्थायी कमिटी सदस्यहरू लीलामणि पोखरेल, रघुजी पन्त र मातृका यादवको पनि । उनीहरूले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका बीचमा शक्ति बाँडफाँट गर्ने गरी विवाद समाधान गर्न बनेको कार्यदलले तयार पारेको सहमतिको प्रस्ताव र त्यही आधारको अध्यक्षद्वयको प्रतिवेदनलाई तात्कालिक युद्धविरामको संज्ञा दिएका थिए तर प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल पक्षधर अधिकांश नेताहरू उक्त सहमतिबाट उत्साहित भए । विभाजनको संघारमा पुगेको पार्टीलाई जोगाएको र अब कोरोना नियन्त्रणमा समेत पार्टीको ध्यान केन्द्रित गर्ने उनीहरूको भनाइ थियो ।

अध्यक्षद्वयले पनि आन्तरिक विवाद सुल्झियो भनेर नेकपाले गत भदौ २६ लाई पुरानो विवादतर्फ नफर्किने निश्चित समयका रूपमा व्याख्या गरे । पार्टी केन्द्रीय सदस्यहरूलाई सर्कुलर पठाउँदै उनीहरूले सोही दिनदेखि पुनः त्यस प्रकारको अन्तरविरोधपूर्ण विवाद नगर्ने प्रतिबद्धता जनाए ।

नेकपाको सचिवालय बैठकसमेत जनवर्गीय संगठनहरूको कार्यालय पेरिसडाँडामा बस्यो, जसलाई कार्यकारी अधिकार पाएका अध्यक्ष पुष्पकमल दाहालको भूमिका बढेको देखाउन नेकपाले दिएको सन्देशका रूपमा व्याख्या गरिएको थियो । उक्त बैठकमा सरकार पुनर्गठन र राष्ट्रिय सभा सदस्यमा मनोनीत वामदेव गौतमलाई मन्त्री बनाउन हुन्छ कि हुन्न भन्ने विषयमा लामो छलफल चल्यो ।

त्यसपछि नेकपामा सचिवालय बैठक कम र अध्यक्षद्वयबीच छलफल धेरै हुन थाले तर जति धेरै छलफल भयो, त्यति नै विवाद बल्झिँदै गयो । अध्यक्षद्वयले गत भदौ २९ गते अन्तरपार्टी निर्देशन जारी गर्दा भनेझैं भदौ २६ गते ‘कट अफ डेट’ बन्न सकेन । स्थायी कमिटी सदस्य मातृका यादव त्यतिखेर सहमतिका लागि भन्दा पनि गल्ती ढाकछोपका लागि मात्रै पार्टीभित्र मेलमिलाप भएकाले विवाद बल्झिने निश्चित नै भएको बताउँछन् ।

यादवले भनेझैं नेकपाभित्रको विवाद बल्झिँदै गएको छ । कतिसम्म भने पछिल्लो सातायता अध्यक्षद्वयबीच संवादसमेत हुन सकेको छैन । बुधबार मात्रै पनि अध्यक्ष पुष्पकमल दाहालसँग महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङले छुट्टाछुट्टै भेटेर पार्टीभित्रको द्वन्द्व समाधानका लागि पहलकदमी लिन आग्रह गरे तर प्रधानमन्त्री ओलीले छलफलका लागि गरेको निम्तो भने अर्का अध्यक्ष दाहालले बुधबार पनि अस्वीकार गरेको उनी निकटस्थहरूको भनाइ छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस