थापाथलीमा खसीबोका किन्नेको भिड

सफल खबर संवाददाता

सोमबार, ०३ कार्तिक २०७७, १५ : २८
थापाथलीमा खसीबोका किन्नेको भिड

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोकाको विक्री शुरुगरेसँगै खरिद गर्नेहरुको भिड लागेको छ । कम्पनीले सोमबारदेखि सहुलियत दरमा खसीबोकाको विक्री सुरु गरेको हो । 

कम्पनीको थापाथली स्थित प्रादेशीक कार्यालय परिसरबाट दशैंका लागि खसीबोका विक्री वितरण सुरु गरेको छ । कम्पनीले जिउदो खसीबोकाको प्रति केजी ५ सय ६० रुपैयाँ मूल्य निर्धारण गरी त्यसमा १० रुपैयाँ सहुलियत दिई ५ सय ५० रुपैयाँमा विक्री गरिरहेको छ । बजारमा प्रतिकेजी ६ सय देखि ६ सय ५० रुपैयाँ प्रतिकेजी सम्म पर्ने खसीबोका ५ सय ५० रुपैयाँ मै पाउने भएपछि उपभोक्ताहरुको भिड लागेको छ । 

खसीबोका किन्नका लागि कोभिड संक्रमणको प्रवाह नगरी सयौंको संख्यामा उपभोक्ताहरु थापाथली पुगेका छन् । कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्ष दशैंमा खसीबोका र च्याङ्ग्रा विक्री गर्दै आएको छ । यसपटक कोभिड १९ संक्रमणको जोखिमका कारण विगतमा भन्दा कम संख्यामा खसी बोका विक्री गर्न लागिएको पनि कम्पनीले बताएको छ । 

यसवर्ष २ हजारको संख्यामा खसीबोका र १ हजार च्याङ्ग्रा ल्याई विक्री गर्ने योजना बनाएपनि कोभिड संक्रमणको जोखिमलाई मध्यनजर गर्दै एक हजार खसीबोका मात्रै विक्री गर्न लागिएको कम्पनीले जनाएको छ । यसपटक च्याङ्ग्रा भने विक्रीमा राखिएको छैन ।

प्रतिक्रिया दिनुहोस