कथा : परम आनन्द बोध

आइतबार, ०२ कार्तिक २०७७, १२ : ३७
कथा : परम आनन्द बोध

सांकेतिक तस्विर

– लाफ्टर बाबा
खाना खाएपछि सदाझैँ हजुरआमाले मलाई काखमा राखेर कथा सुनाउने समय भएको थियो । त्यो दिन उहाँले मलाई काखमा राख्नु त भयो तर निकै समयसम्म कथा सुनाउन सुरु गर्नुभएन । मैले उहाँको अनुहार हेरेँ । निकै टोलाइरहनुभएको थियो । मैले हजुरआमालाई कथा सुनाउन कर गरेँ ।

शान्त स्वरमा उहाँले भन्नुभयो, “आज त कथा नै सम्झन सकिन, बाबु !”

मैले भनेँ, “नाइँ हजुरआमा, सुनाउनुस् न । छिटो सुनाउनुस् न ।“

हजुरआमाले भन्नुभयो, “आज म एउटा कथा भन्छु, जुन धेरै बर्षपहिला घटेको थियो । मेरो मनमा त्यही घटना नाचिरहेको छ अहिले पनि । सुन है त ।”

लामो स्वास लिँदै हजुरआमाले गम्भीरतापूर्वक भन्न थाल्नुभयो, “स्वर्ग नै बिर्साउने प्रकृतिको सुन्दर ठाउँ । कलकल बगिरहेको नदी । सयौँ फिटमाथिबाट झरझर आवाजका साथ झरिरहेको झरना । वरिपरिबाट अनेक किसिमका फूलहरुले छरिरहेको सुगन्ध । चराचुरुङ्गीको मन्त्रमुग्ध ध्वनि । यस्तो सुन्दर ठाउँमा एउटा दिव्य गुफा थियो । गुफामा पुग्नासाथ जो कोही पनि विचारबाट अतीत भई आनन्दमा मग्न हुन्थे ।”

यति भनिसकेर हजुरआमा रोकिनुभयो ।

मैले सोधेँ, “अनि हजुरआमा ?”

हजुरआमा अगाडि भन्न थाल्नुहुन्छ –

त्यस्तो सुन्दर ठाउँमा अवस्थित गुफामा गुरु आनन्द विलासको आयोजनामा ध्यान शिविर चलिरहेको थियो । सबै शिष्यहरुलाई ध्यानमा राखेर उनी पनि आँखा बन्द गरेर बसेका थिए । ध्यानमा बसेको केही बेरपछि उनको मनमा विचार चल्न सुरु भयो । उनी विचारलाई हेर्ने अभ्यास गर्न थाले । वर्षायामको भेलझैं विचार झनझन् बढ्दै जान थाल्यो । आफूले जानेका साधनाका अनेक विधिको प्रयोग गर्दा पनि विचार रोकिनुको सट्टा झनै तीब्र गतिमा बढ्दै जान थाल्यो ।

त्यही क्रममा उनलाई नदीमा आएको ठूलो बाढीले वरिपरि बाँध तोडेर खेतबारीमा लहलह गर्दै झाङ्गिएका बोटबिरुवा बगाएझैँ आफ्नो जीवनको सारा भरोसा बगाएको अनुभूति भयो । उनको शरीरमा तीब्र रुपमा काम्पन हुन थाल्यो ।

तीब्र विचारहरुको बीचमा उनको अन्तरमनबाट आवाज निस्क्यो – “महान् सपना बाँडेर धेरैको जीवनसँग खेलबाड गर्यौ तिमीले ।”

उनी भित्रभित्रै झस्किँदै आफ्नै अन्तरमनसँग प्रश्न गर्छन्, “कसको जिन्दगीसँग खेलबाड भयो र ?”

अन्तरमनबाट आवाज आउँछ, “धेरै मानिसहरुलाई महान् सपना बाँडेर उनीहरुको जीवनसँग खेलबाड ग¥यौ । अझै पनि अनभिज्ञ हुन खोज्छौ रु के तिमी होसमा त छौ ?”

उनी भित्रभित्रै डराउँछन् ।

उनका आँखाअगाडि पुराना तस्बिरहरु एकपछि अर्को गर्दै आउन थाल्छन् । उनी आत्मरुपान्तरण कक्षा सुरु गर्नुअघि विशाल सभामा बोलेको तस्बिर देख्दै जान्छन् – “पाँच हजार वर्षदेखि चल्दै आएको मानवजातिको इतिहासमा उनान्सय प्रतिशत मान्छेहरु सधैँ दास र बाँकी एक प्रतिशत मान्छेहरु सधैँ मालिक भइरहे । जहिले पनि एक प्रतिशत मान्छेहरुले उनान्सय प्रतिशत मान्छेहरुलाई शोषण र शासन गरिरहे ।

शिक्षा, स्वस्थ्य, व्यापार, कला र राजनीति आदि जति पनि कुराहरु छन् सबैमा मात्र एक प्रतिशत मान्छेहरुले कब्जा जमाउँदै गए । धर्ममा पनि स्वर्ग र मुक्तिका सपना बाँडेर मात्र एक प्रतिशत मान्छेहरु ठूलाठूला धर्म गुरु बने । चेलाहरु सधैँ चेला नै रहिरहे । यसको कारण एउटै छ । त्यो हो – मान्छेलाई आफूभित्र रहेको अनन्त खजानाको ज्ञान नहुनु । हरेक मान्छेभित्र रहेको असीम क्षमताको जानकारी नहुनु ।

जबसम्म हामी आफूभित्र रहेको दिव्यशक्तिका बारेमा अनभिज्ञ रहन्छौँ तबसम्म कायर, डरपोक, कमजोर, क्षीण र नादान रहिरहन्छौँ । त्यसको फाइदा जहिले पनि एक प्रतिशत मान्छेहरुले उठाइरहेका हुन्छन् । हामी सधँै उनीहरुलाई शिखरमा पु¥याउने सिँढी बनिरहेका हुन्छौँ । उनीहरु हाम्रै ढाडमा टेकेर शिखर चुम्छन् । हामी सधैँ उनीहरुकै दास भइरहेका छौँ र भइरहनेछौँ ।

आउनुहोस्, हामीले यस्तो अभियान सुरु गर्दैछौँ जसको नाम हो, महाक्रान्तिअभियान । नामै काफी छ बुझ्नेलाई हा।हा।हा।हा। । हाँसौ ।

हाँसौ खोली सबले दिल

नत्र भने उठ्छ हजुर हस्पिटलमा बिल ।

त्यो गुफामा पुरै हाँसो गुञ्जिन्छ । हाँसोको आवाज सुनेर वरिपरिका मानिसहरू अनौठो मानेर यस दृश्यलाई नजिक नजिक आएर चियाएर हेरिरहेका थिए ।

यो अभियान बाहिर सम्पनता र भित्र शान्ति एकै साथ दिने अभियान हो । जहाँ हरेक मानिस शान्ति, स्वास्थ्य र सफलता एकै साथ प्राप्त गर्न सक्छन् । ताप र चाप युक्त वातावरणमा रहेका कोइला नै हिरा बन्छन् । हामीले त्यस्तो बातावरणको सृजना गरेका छौं जहाँ संसारमा काम नलाग्ने, कमजोर, आफ्नो गन्तब्य भेट्न नसकेका साथै कौडीको भाउमा आफूलाई बेच्न बाध्य भइरहेकाहरू पनि महामानव बन्नेछन् भने अरुको त कुरै नगरौँ । आउनुहोस् हामी आइसकेका छौं । हजुरहरू सबैको महामानव बन्ने दिन सुरु भयो ।

ऊनी आफुले योजना प्रस्तुत गरेका दृष्यहरु एकएक देख्दै जान्छन् ।

१) अहिलेको प्रमुख समस्याको रुपमा आएको छ शिक्षा । जसले मानवजातिको सृजनशीलता नै नष्ट गरेको छ । हामी जतिजति कक्षा चढ्दै गइरहेका छौं त्यति नै बेवकुफ बन्दै गइरहेका छौं । आजको शिक्षाले हाम्रो सृजनशीलता नष्ट गरेको छ । त्यसको ज्वलन्त उदहारण हो स्कुलमा लट्ठु भनेर चिनिएका थोमस एल्वा एडिसन, अल्वट आईस्टाईन आदि युगका महान बैज्ञानिक बन्नु । कलेज पढ्दापढ्दै छोड्ने बिल गेट्स संसारकै धनी बन्नु । यस्ता उदाहरण अनगिन्ती छन् । चाहे त्यो विज्ञान, कला लगायत जुनसुकै क्षेत्रका महान मान्छे हेर्ने हो भने प्रायः समाजमा अनपढ र बुद्धि नभएका भनिनेहरूको नै बर्चस्व देखिन्छ । समाजमा पढेका बिद्वान् ठानिएकाहरू कौडीको भाउमा आफूलाई बेचिरहेका छन् । शिक्षामा क्रान्ति आजको प्रमुख आवश्यकता हो । हामी यस्तो स्कुल निर्माण गर्दै छौं जहाँ हरेक मान्छे श्रृजनशील हुन्छन् । उनीहरू आफू भित्र रहेको असिम क्षमता जागृत गर्दै सबै जनालाई धन्य बनाउन सक्छन् ।

२) हाम्रो स्कुलसँगै खेल मैदान जोडिएको हुन्छ । जहाँ बच्चाबच्ची लगायत अरू पनि आफूभित्रको असिम शक्तिको प्रयोग गर्दै विश्वकै सर्बोत्कृष्ट खेलाडी बन्न सक्छन् ।

३) खेल मैदानसँगसँगै जोडिएको भवनमा तहतहगत कोठाहरू हुनेछन् । जहाँ एउटामा बोल्ने, अर्कोमा लेखनको अभ्यास गर्ने, अर्कोमा संगीत अभ्यास लगायतका कक्षा कोठाहरु रहनेछन् । संसारभर मानव कल्याणका लागि प्रयोग सिद्ध सम्पूर्ण कला र विज्ञानको अभ्यास एकैथलोमा हुनेछ । जहाँ हरेक मान्छे आफूले जन्मजात बोकेर ल्याएका क्षमताको सही अभ्यास गरेर सबैजना महामानव बन्न सक्नेछन् ।

४) त्यसको माथिल्लो भागमा सुन्दर बगैँचा हुनेछ । जहाँ पर्याप्त मात्रामा अग्र्यानिक फलफूल तरकारी उत्पादन हुन्छ । त्यससँगै जोडिएर ध्यान गर्ने कुटीहरू हुनेछन् जहाँ मानिसहरू आफूभित्र रहेको परमात्मालाई चिन्ने छन् । जहाँ हजारौं बुद्ध पुरुष जन्मिने छन् । उनीहरूले यो ज्ञान सर्बत्र फैलाउने छन् । अनि संसारका हरेक घरघरमा बुद्ध पुरुषको जन्म हुनेछ । हरेक घर नै मन्दिर बन्नेछ । सोचौं आजभन्दा पच्चिस सय बर्षअघि जन्मिएका बुद्धको ज्ञान हामी आज पनि सर्बत्र चर्चा गरिरहेका छौं । हरेक घरघरमा बुद्ध पुरुषको जन्म हुँदा यो संसार कस्तो होला रु

५) हाम्रो अभियानमा जोडिएका सबैजना आफ्ना आमाबुबा साथै आफन्तको भविष्यप्रति ढुक्क हुनुहोस् । आश्रमसँगै बृद्धाश्रम जोडिएको हुनेछ । जहाँ बृद्धबृद्धा भएका आमा बुबा आफूले जिन्दगीभर सिकेको ज्ञान र अनुभव अरूलाई सिकाउँदै भगवानको भजन कृतन गर्दै बस्न सक्नेछन् ।

६) आश्रमको एउटा भागमा आवास गृह बन्नेछ जहाँ यस अभियानमा सहभागीहरू आफ्नो परिवारसहित बस्न सक्नेछन् । आफ्ना बच्चाबच्चीलाई सिकाउँदै आफू पनि सिक्दै अरुलाई सिकाउँदै महान ज्ञानको अभ्यास गर्न सक्नेछन् ।

समग्रमा भन्नुपर्दा हाम्रो आश्रम यस्तो बन्नेछ जहाँ संसारभरका सम्पूण ज्ञानहरू एकै ठाउँमा प्राप्त गर्न सकिनेछ । यस्तो हुनेछ जहाँ संसारभरका सम्पूर्ण राम्रो कुराहरूको जोड र नराम्रो कुराहरूको सदुपयोग हुनेछ । यत्ति भनिसकेपछि यहाँहरूको मनमा प्रश्न पैदा हुन सक्छ राम्रो कुराहरूको जोड त बुझियो तर नराम्रो कुराको सदुपयोग कसरी गर्ने त ?

उदाहरणका लागि दिसालाई हामी नराम्रो देख्न सक्छौं । यदि बायो ग्याँस प्लान्ट जोडियो भने त्यही दिसाबाट उर्जा निस्कन्छ । एकछिन अघिसम्म गन्हाइरहेको, काम नलाग्ने जस्तो देखिने बस्तु तत्कालै शक्तिमा रुपान्तरण हुन्छ । जसबाट खाना पकाउन, बत्ती बाल्नलगायत अनेक प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ । भएन त कमाल ?

बुझ्न सके संसारमा हरेक कुरामा फाइदा नै फाइदा

यहि नै हो जिन्दगी जीउने काईदा हा।हा।हा ।।। ।

सबैजना हाँस्छन् (पुरै आश्रममा हाँसो गुञ्जिन्छ ।)

हाँस्न जान्नेहरूले नै बाँच्न जानेका छन् । जसले हास्न जानेका तिनले वाँच्न जानेका छैनन् ।

खैर ! यस महाक्रान्ति अभियानमा जोडिनेहरू शत् प्रतिशत मष्तिष्क चलाउन सक्छन् । सोचौं आजसम्म संसारमा सबैभन्दा बढी दिमाख चलाऊने भनिएका यस युगका महान बैज्ञानिक अल्वर्ट आइन्स्टाइन हुन् । जसले तेह्र प्रतिशत मात्र दिमाग प्रयोग गरेका थिए । हामीसँग महाक्रान्ति दिव्यास्त्र छ । जसबाट शत् प्रतिशत मष्तिष्क चलाउन सक्छौं । सोचौं कस्तो होला रु जुन कुरा हामी अहिले कल्पनासमेत गर्न सक्तैनौं ।

पानी यो सल्किने छ, ढुङ्गा यो पग्लिने छ

यसको मतलव संसारमा असम्भब देखिएका सारा कुराहरू सम्भब हुनेछन् । अनि सिङ्गो संसार नै स्वर्ग बन्नेछ ।

यत्ति भन्दै हजुरआमा रोक्किनुहुन्छ ।

त्यसपछि के भयो होला मेरो मनमा तिब्र कौतुहल भइरहेको थियो । मैले फेरि हजुरआमासँग सोधें

अनि के भयो नि हजुरआमा ?

हजुरआमाः ऊनी अझै बोलेका क्षणहरू देख्दै जान्छन्

जसरी दुषित हावाबाट कोही बाँच्न सक्दैनन् । नचाहेर पनि हामीले स्वास फेर्दा फोक्सोमा पुगेर अनेक किसिमका रोगहरू पैदा गर्छ । त्यसैगरि राम्रो राजनेता नहुँदा राष्ट्र बर्बाद हुन्छ । अहिले हाम्रो देश यस्तो स्थितिमा पुग्नुको प्रमुख कारण प्रज्ञावान् व्यक्तिको हातमा शासनसत्ता नपुग्नु हो । अबको बीस बर्षमा यो देशको शासनसत्ता हाम्रो अभियानले जन्माएका प्रज्ञावान् व्यक्तिले चलाउनेछन् भने अबको चालिस बर्षमा सम्पूर्ण विश्व प्रज्ञावान् व्यक्तले हाक्नेछन् । तब सिङ्गो बिश्व नै एउटा राज्य बन्नेछ । बिश्व नै एक सुन्दर परिवारमा परिणत हुनेछ । तब साकार हुनेछ प्लेटोको दर्शन राजनेता दार्शनिक भए जनता सुखी हुन्छन् भन्ने ।

आउनुहोस् यो महाक्रान्ति अभियान हामी सबैको साझा अभियान हो ।

हजुरआमा पुनः रोक्किनुहुन्छ ।

मः अनि के भयो भन्नु न हजुरआमा ?

हजुरआमा :

हावाले फूलको बासना सर्बत्र फैलाए जसरी अभियानको आवाज सर्बत्र फैलिन्छ । स्कुल कलेज अध्ययन गरिरहेका युवायुवती आफूले पढेको कुरा व्यर्थ ठानेर, कति त आफ्नो प्रमाण पत्र च्यातेर, कोही आफ्नो घर परिवारमा बिद्रोह गरेर त कोही देश बिदेशमा आफूले गरिरहेको काम छोडेर उज्ज्वल भविष्यको खोजीमा रहेकाहरू ढुङ्गा खोज्दा देउता पाएको अनुभूति गर्दै पुरै जीवन अभियानमा लगाउने घोषणाका साथ समर्पित भएर अभियानमा लागेका घटनाहरू एकपछि अर्को गर्दै छर्लङ्ग रुपमा देख्दै जान्छन् ।

यति घटना देखेपछि उनको अन्तर मनबाट आवाज आउँछ, “आज खै कहाँ गयो तिम्रो अभियान ? ठूलाठूला सपना देखाएर मानिसहरूलाई भ्रमित बनायौं ? अझै पनि अभियानको नाटक गर्दै छौं ? त्यस्ता सारा कुरा छाडेर आएकाहरूलाई पञ्छाएर केही गर्छु भन्छौ । तिम्रा सारा योजनाहरूले तिमीलाई दुःख सृजना गर्नेछन् ।

उनको आफ्नै अन्तर हृदयमा संवाद हुन्छ । संवाद यस प्रकार छ –

उनी मैले पवित्र भावनाका साथ संसारको कल्याणमा रातदिन भोक तिर्खा नभनेर आफ्ना कयौँ इच्छाहरू तिलाञ्जली दिंदै लागेको थिएँ तर परिस्थिति त्यस्तै पर्यो के गर्ने ?

अन्तरमन चलिआएको धर्म संस्कृति बिरुद्ध महिलाहरूलाई कपाल खौरेर पुरुषहरूको जनै फ्याल्दै दिक्षाको आयोजना ग¥यौ । गुरु शिष्य हामी जन्मौं जन्मको नातासँग जोडिएका छौं भन्यौ ।

ओम सह नाववतु सह नौं भुनक्तु सह वीर्यं करवावहै

तेजस्वि नाव धीत मस्तु मा विद्धिषावहै ।

अर्थ– हामी गुरु र शिष्यको सँगसँगै रक्षा होस् ।

हामी गुरु शिष्य सँगसँगै भोजन गरौं ।

हामी गुरु शिष्य सँगसँगै पराक्रम गरौं ।

हामी दुवै गुरु शिष्य त्यसो बिद्या अध्ययन गरौं जुन तेजस्वी होस् ।

हामी गुरु भविष्यमा कहिल्यै द्वेष नहोस् ।

साथै गुरु शिष्य हामी एकै रथको पाङ्ग्रा हौं । हामी एकै शिक्काको दुई पाटा हौं । हामी एउटै जहाजका यात्री हौं । एकै साथ लक्ष्यमा पुग्छौं भनेर उनीहरूलाई आफ्नै टेलिभिजन, आफ्नै पत्रिका चलाउने लगायत अनेकौं आशा देखायौं । सधैं साथसाथै अघि बढ्ने संकल्प गर्यौ खै कहाँ गयो तिम्रो संकल्प ? खै कहाँ गयो तिम्रो योजना ? महाभ्रमको खेती गर्यौ तिमीले ।

परिस्थिति हैन मनस्थिति बदल्नोस् भनेर सिकाउने अनि आज आएर परिस्थितिको बहाना गरेर आफ्नो गल्तीको ढाकछोप गर्न खोज्नु त सरासर ती साधकहरू प्रति गरिएको अन्याय, अत्याचार हो । यो अक्षम्य पाप गर्यौं तिमीले ।

उनी– त्यसमा मेरो के दोष रु मैले बर्षौंबर्षको त्याग, तपस्याबाट प्राप्त गरेको ज्ञानबाट सबैको कल्याण गरौँ भनेर लागेको थिएँ । शिष्यहरू बदमास निस्किएपछि के गर्ने ?

अन्तर मन– वर्षौवर्षको त्याग तपस्याको कुरा गर्छौं ।

तिमीप्रति पूर्ण समर्पित भएर हिँडेका साधक जो आफ्नो शरीरको प्रवाह नगरि महिनौं महिना भोकभोकै खाडलमा बस्ने । नाङ्गो खुट्टा आगोमाथि हिड्ने, नाङ्गो खुट्टा शिशा र सिस्नुमा नाँच्ने, चौंध पन्ध्र बर्षका युवतीहरूले पनि जोखिम मोलेर पेटमाथि गाडी गुडाउने, गहिरो खाडलभित्र भोकभोकै महिनौं बिताउने, दुनियाँको कुरा प्रवाह नगरी बर्षौं खाली खुट्टा हिड्ने, अभियान सफल बनाउन रात दिन नभनी ठाउँठाउँमा प्रचारप्रसार कतै पत्रिका बेच्दै रात दिन नभनी दौडिएँ । साथसाथै भिक्षाका भरमा देश बिदेश महाक्रान्ति अभियानको प्रचारप्रसारमा दौडिरहे । त्यस्ता तिमीप्रति समर्पित भएका साधकहरू जसलाई बीचमै छाड्नु भनेर बताउँछ तिमीले बर्षौंबर्ष तपस्या गरेर प्राप्त गरेको ज्ञानले रु तिमी भ्रममा रहेर ब्यर्थै ज्ञानको आडम्बर देखाइरहेका छौं । अर्को कुरा बिध्यार्थीको कहिल्यै दोष हुदैन । एदि बिध्यार्थी भ्रष्ट निस्किए भने बुझ्नु कि सिकाउने शैलीमा त्रुटी छ । आज तिमी शिष्य हरू बदमास निस्किए भन्दै आफ्नो गल्तीको ढाकछोप गरेर भाग्न खोजिरहेका छौं ।

(उनको मुटुको धड्कन झन्झन् बढ्दै जान्छ) हे दैब ! आज कस्तो दुर्दशामा छु म भन्दै बेलाबेलामा आफैलाई धिक्कार्छन् भने बेलाबेलामा मुर्छा पर्छन् ।

बिस्तारै आफूलाई केही सम्हाल्दै अन्तरमनसँग संवाद गर्दै जान्छन्– साधकहरूको उन्नति, प्रगति विकासका लागि रात दिन नभनी खटेकै हुँ । उनीहरूले जति पनि कार्य गरे त्यसमा मैले देन छ । आगोमा हिड्ने, माटो मुनि बस्ने, पेटमा गाडी चलाउने सारा कुरामा मेरो देन छ । मैले जोखिम मोलेर गराएको हुँ । त्यस्तो गराउन हिम्मत गर्ने व्यक्ति हुँ हा।हा।हा।।।।।।उनी बेस्करी हाँस्छन् ।

अन्तर मन– जोखिम मोलेर गराइयो भन्दैमा पाँचहजार बर्षको मानव जातिको इतिहास बदल्ने आश्वासन बाँडेर साधक साधिकाको अथक श्रमसहित बनेको भवन व्यक्तिगत प्रयोजनका लागि लगाउनु सरासर अन्याय भएन र ?

उनी– मैले अमूल्य ज्ञान बाँडे । संसारमा ज्ञान दानभन्दा ठूलो दान के पो हुन्छ र ?

अन्तर मन– तिमीले सिकाएका साधकहरू आज विचलित भएका छन् । पतञ्जली योग सुत्रको बयान गर्दै भन्थ्यौ जसले परम् शान्ति र आनन्दको अनुभूति गराउँछ त्यो नै ज्ञान हो । जतिसुकै ठूलो कुरा भए पनि त्यसबाट परम् शान्ति आनन्द मिल्दैन भने त्यो सबै अज्ञान हो भनेर अर्ति उपदेश दिन्थ्यौ । आज कहाँ गयो त्यो कुरा ? तिमीसँग बर्षौंबर्ष बिताउनेहरूमा बिचलन भएको देख्दा लाग्दैन मैले ज्ञान हैन अज्ञान बाँडें भनेर । मानव मुक्तिको गीत गाउँदै भ्रमको खेती गरें भनेर ?

भ्रमको खेती गर्दै बुद्धि विलासद्वारा आफ्नो गल्ती ढाकछोप गर्न खोजिरहेका छौ । जसरी छोपिएको आगोले भित्रभित्र जलाएर ध्वस्त बनाउँछ त्यसैगरी तिमीले ढाकछोप गरेको गल्तीले तिमी आफैंलाई समाप्त पार्ने निश्चित छ ।

साधकहरूको श्रमसहित बनेको भवन व्यक्तिगत प्रयोजनका लागि लगाइरहेका छौ । त्यसबाट तिमीले आफ्नो र परिवारको ठूलो प्रगति भएको सपना देखिरहेका छौ । यो सरासर अज्ञानता सिवाय केही हैन । चित्त विचलित भएको अवस्थामा पैदा भएको भ्रम हो । तिमी आफू जति नै धनी भएँ भनेर हिसाब गरे पनि त्यो धनले तिम्रो दुर्गति निश्चित छ । सोच त्यही धनबाट नै तिम्रो र तिम्रो परिवारको अनिष्ट हुने पक्का छ ।

हजुआमा रोकिनुहुन्छ । म सोध्छु अनि के भयो नि हजुरआमा ?

हजुरआमा– सारा दृष्य नियाल्दै उनी भक्कानिएर रुन्छन् । रुँदारुँदा आँसु बगेर साधनामा बसेका साधकहरूको चकटी भिज्छ । साधक के भयो के भयो भनेर आँखा खोलेर हेर्छन् । हत्तपत्त आनन्द विलास गुरु आफ्नो आँसु पुछ्दै पुराना साधकहरू जो संसार बदल्ने लक्ष्यसहित उनको अभियानमा जोडिएका थिए उनीहरूलाई बोलाउँछन् । आफूबाट ठूलो गल्ती भएको स्वीकार गर्दै उनीहरूसँग माफी माग्छन् ।

संसार फेर्ने सपना देखाएर बनाएको भवन आध्यात्मिक ट्रस्ट दर्ता गरेर सार्वजनिक गर्छन् । जुन ठाऊँमा आजभोलि सच्चा हृदयले आध्यात्मिक साधना गर्न चाहने सबैका लागि खुल्ला ठाउँ भएको छ । चारैतिर कुटी बनेका छन् । त्यहाँ मन्दिर बनेको छ । आत्मा रुपान्तरण गर्न चाहाने धेरै साधकहरूको जमघटले त्यो ठाउँ पवित्र भएको छ ।

म अनौठो अनुभूतिका साथ हजुर आमासँग सोध्छु– अनि आनन्द विलास गुरुको पछिल्लो स्थिति कस्तो रह्यो नि ?

हजुरआमा– उनी अचम्मित हुन्छन् । आफू तुक्ष्छ मनको बसमा परेर आफैले गरेका पुराना कृयाकलाप सम्झेर आफै हाँस्छन् र भन्छन्– परमात्माले श्रृजना गरेको माया बडो अनौठो रहेछ । तेत्रो साधना तपस्या गरेँ ,कयौँ शास्त्र पढें र सारा दुनियाँलाई ज्ञान सिकाएँ भन्ठान्थें । म यस्तो महाज्ञानी भएँ भन्ठान्नेलाई पनि आजसम्म यसरी मायाले फसाइरहेको रहेछ । उनी सारा पुराना घटना सम्झेर हाँस्छन् । त्यसपछि उनको हृदय पवित्र हुँदै जान्छ । सद्गुरुको कृपा मिल्छ र तुरुन्त परमात्मासँग साक्षातकार हुन्छ । उनले धेरै ठाउँ पुग्दा धेरै पुस्तकहरू पढ्दा र अनेक किसिमका कठोरकठोर साधानको अभ्यास गर्दासमेत प्राप्त नभएको परम आनन्दको बोध तत्कालै गर्छन् ।

यत्ति सुनेपछि मेरो शरीरको कोषकोष हर्ष र आनन्दले कम्पित हुन्छ । म अझै उत्सुक हुँदै हजुरआमासँग सोध्छु– हजुरआमा यस्तो अनौठो रोमाञ्चित साथै प्रेरणादायी कहानी हजुरले कसरी सुन्नुभयो नि ?

हजुरआमा गहभरि आँसु पार्दै भन्नुहुन्छ– बाबु म पनि आनन्द विलास गुरुको प्रवचन सुनेर लठ्ठ हुन्थेँ । “संसार बदल्नु अघि आफूलाई बदल्नुपर्छ ।” भन्ने कुराले मेरो हृदयमा स्पर्श गथ्र्यो ।

मान्छे र पशुमा फरक एउटै छ त्यो हो मान्छेको मष्तिष्कमा नियोकोर्टेक्सको विकास भएका कारण महान उपलब्धि हासिल गर्न सक्छ । पशुपंक्षी, जनावरहरूको नियोकोर्टेक्स विकास नभएका कारण उनीहरू मात्र खाने बस्ने र सन्तान उत्पादन गर्ने काम गर्छन् । यदि हामी मान्छेको चोला लिएर पनि खाने, लाउने मनोरञ्जनको कृयाकलापका साथै सन्तान उत्पादन गरेर मात्र मर्छौ भने हामी र पशुमा के फरक भयो त ? मात्र हामी पनि दुईखुट्टे जनावर भयौं । म यस्ता कुराबाट निकै प्रभावित थिएँ । यता घरमा बिहेको कुरा चलिरहेको थियो । आमाबुबा उमेर पुगेकी छोरी छिट्टै राम्रो ज्वाइँलाई जिम्मा लगाउनुपर्छ भन्दै बिवाह गराउने तयारीमा थिए ।

उता आनन्द विलास गुरुको पाँच हजार बर्षदेखि चल्दै आएको मानव जातिको इतिहास बदल्ने अभियान सुरु हुँदै थियो ।

केही समय त म दोधारमा थिएँ । मेरो मनमा जनावर झै बाँच्नु भन्दा संसारका लागि महान कर्म गर्नुपर्छ भन्ने उनले भनेको कुराले बारम्बार झक्झकाउन थाल्यो । त्यसपछि मैले मनमनै संकल्प गरें, “म यो संसारका लागि केही गरेरै मर्छु । म पशु झैं खाने बस्ने र सन्तान उत्पादन गर्ने कार्यका लागि जन्मिएको हैन भन्ने विचार मेरो मष्तिष्कमा प्रबल हुँदै गयो । मैले पनि पाँच हजार बर्ष पुरानो मानवजातिको इतिहास बदल्दै, एक्काइसौँ शताब्दीको महान संसार बनाउने महाक्रान्ति अभियानमा जोडिने सङ्कल्प लिएँ । मेरा मातापिताका लागि त्यो कुरा स्वीकार्य थिएन । त्यसैले म मध्यरातमै घरबाट भागेर उनले सुरु गरेको अभियानमा सरिक हुन पुगेँ । हजुरआमा रोकिनुहुन्छ ।

म भन्छु– छिटोछिटो भन्नु न हजुरआमा । (त्यो कहानी सुन्न म बडो उत्सुक थिएँ)

हजुरआमा आत्मरुपान्तरण तथा नेतृत्व विकास कक्षामा सरिक भएपछि हामी (मलगायत साथीहरू) देश विदेशमा अभियानको प्रचारप्रसार गर्न खटिएका थियौं । हाम्रो त्याग समर्पण देखेर धेरै मानिसहरू हामीबाट प्रभावित थिए । हाम्रो योजना सफल बनाउन धेरै मानिसहरूको साथ सहयोग मिलिरहेको थियो । कतिले जग्गा, पैसा के आवाश्यक छ सोध्दै दिन्थे भने कतिले अभियान सफल बनाउन श्रम दान गर्थे ।

त्यस्तै माहोलका बीचमा हाम्रो अभियान विश्वव्यापी रुपमा अघि बढिरहेको थियो । सम्पूर्ण घटना नियाल्दा त्यस अभियान सिङ्गो मानव जातिको मुक्तिका लागि जन्मिएको हो भन्ने आभाष सबैलाई हुन्थ्यो । छुट्टै उत्साहका साथ बढिरहेको त्यो अभियान सुरु भएको केही समयमा नै देश विदेशका मानिसहरूमा ठूलै चर्चाको विषय बनिसकेको थियो । आनन्द विलास गुरुले पनि आफ्ना साधकहरू सहित देश विदेशमा यात्रा गरे । देशका हरेक जिल्लाजिल्ला र विश्वका हरेक देशमा आश्रम बनाउने योजना थियो उनको ।

खै के भयो कुन्नी हामी सबै एउटै जहाजका यात्री हौं । यस अभियानलाई सँगसँगै मिलेर शिखरमा पु¥याउने छौं भनेर गरेको संकल्प तोडेर सबै साधक साधिकालाई बिचल्लीमा पार्दै सबै कार्यक्रमहरू समापन भएको घोषणा भइसकेको थियो ।

त्यस्तो घटना सुनेपछि म झसङ्ग भएँ । ठूलो छाँगाबाट झरेको अनुभव भयो । एकछिन त मैले होस नै गुमाएँछु । केही बेरपछि वरिपरि बोलिरहेका मानिसहरूको आवाज सुन्न थालें । बिस्तारैबिस्तारै मेरो होस खुल्यो । अनि मैले उनले सिकाएको दर्शन सम्झिएँ– समस्याको समाधान हैन सदुपयोग गर्नु । जहाँ लडिन्छ त्यहाँबाटै उठ्ने हो । नेपालमा लडेर अमेरिकामा टेकेर उठ्न सकिन्न ।

अनि आफूलाई सम्हाल्दै मैले त्यहीँबाट केही गर्नुपर्छ भन्ने सोँचे ।

मैले सोधेँ यहीँ भनेको कहाँ हो हजुरआमा ।

उहाँले भन्नुभयो– मैले योगलगायत अभियानका विभिन्न कार्यक्रम चलाएको ठाउँ हो बाबु । त्यहाँका मानिसहरूका कयौं रोगहरू हामीले योगलगायत अन्य विधिबाट ठीक गरेका थियौं । उनीहरूले पनि हामीलाई जग्गादान दिएर अभियानका लागि भवन बनाउनका लागि र अन्य विभिन्न प्रयोजनका लागि ठूलै आर्थिक सहयोग गरेका थिए । मानिसहरूले त्यो अभियानलाई आफ्नै अभियान ठानेर सहयोग गर्थे ।

त्यसपछि केही समय त्यहीँ कार्यक्रम चलाइयो । बिस्तारैबिस्तारै मानिसहरूले अभियानप्रति कुरा काट्न थाले । त्यस अभियानले भ्रम छरेको रहेछ । आनन्द विलाश गुरु धुर्त रहेछन् । सोझासाझा व्यक्तिहरूलाई भ्रममा पारेर आफू ठूलो बन्न खोजिरहेका छन् भन्ने लगायतका अनेक चर्चा परिचर्चा सुरु हुन्छ । त्यसपछि मानिसहरू हामीप्रति रुष्ट हुँदै गए । जसरी जरा काटिएको रुखको पात हरियो देखिए पनि छिट्टै सुक्छ त्यसैगरि ठूलो माहोलको रूपमा बढेको हाम्रो कार्यक्रम हेर्दाहेर्दै सुख्खा लाग्छ ।

म आनन्द विलास गुरुले अभियान सुरु भएपछि सबै साधक साधिकासहित मिलेर बनाएको भवनमा पुग्छु । त्यो भवन व्यापारिक प्रयोजनका लागि दिइसकेछन् । म चिच्याउँछु– हे आनन्द विलास तिमीले हाम्रो जिन्दगीसँग खेलबाड गर्यौ । ठूलाठूला सपना बाँडेर हाम्रो जिन्दगी बर्बाद बनायौ । त्यो कुरा उनले सुनेछन् । तत्कालै मेरो परिवारलाई फोन गरेर उनीलाई मानसिक समस्या भएछ भनेर मलाई तुरुन्त त्यहाँबाट निकालेर घर पठाइयो ।

घरमा पुगेपछि परिवारले चौटा खान गएकी बुढी झोलमा डुबेर मरी भनेर खिल्ली उडाए । आनन्द विलास गुरुका रुपमा खोल ओढेर आएका गोरु पो रहेछन् । ती त योगीका खोल ओढेर आएका महाभोगी रहेछन् । महान सपना देखाएर अर्काको जिन्दगी बर्बाद पारे भनेर गुरुलाई अनेक लान्छना लगाए ।

मलाई पनि अनेक किसिमले गाली गरे । न त घर रह्यो न त अभियान नै । आखिर म घर न घाटको भएँ । सुनेअनुसार अन्य धेरै साथीहरूको स्थिति पनि यस्तै थियो । घरमा अनेक किसिमका बचनको बाँडबाट घाइते थिएँ । म घरमा गाउँलेहरूको चोटमाथि चोट खप्दै बसिरहें । उनीहरुले बुढी कन्या भन्नुका साथसाथै मेरा बारेमा अनेक कुरा गर्दै उडाउँथें । म मानसिक रुपमा बिछिप्त हुँदै गएँ ।

यो कुरा गर्दै जाँदा हजुरआमाको आँखा रसाइरहेको थियो । नजिकै रहेको रुमालले आँसु पुछ्दै उहाँले भन्नुहुन्छ–

म आफैलाई धिक्कार्छु यस्तो जिन्दगी के जिन्दगी १ म आफैसँग हार्छु । दुनियाँको घाँडो र धर्तीको बोझ भएर बाँच्नुभन्दा मर्नु नै ठीक भन्ने लाग्छ ।

एक दिनको कुरा हो । झिसमिसे बिहानी थियो । म हातमा डोरी बोकेर आत्महत्या गर्ने सोचका साथ जंगलमा गइरहेकी थिएँ । त्यहाँ कोही आइरहेको देखें । थाहा पाउलान् कि भनेर लाजले नदेख्ने गरी डोरी पाखातिर फ्याँकिदिएँ । उनी नजिक आएपछि पो चिनेँ । ऊनी पल्लो गाउँका मसँगै पढेका साथी रहेछन् । जो विदेशबाट छुट्टी मनाउन घर आइरहेका थिए । स्कुल पढ्दा हामी सँगसँगै पढ्थ्यौँ । उनी मलाई मन पराउँथे । म महाक्रान्ति अभियानमा गएपछि मैले विवाह नगर्ने सङ्कल्प लिएकी थिएँ । त्यस कुराबाट ऊनी खिन्न थिए । मबाहेक अरुसँग बिहे नगर्ने भनेर बसेका रहेछन् ।

यत्ति भन्दाभन्दै हजुरआमाको आवाज रोक्किन्छ ।

म घटना सुन्दै जाँदा बडो अनौंठो महसुस गरिरहेको थिएँ ।

म तत्कालै सोध्छु– अनि हजुरआमा ?

हजुआमा– अनि ऊनले मसँग विवाहको प्रस्ताव गरे ।

मैले उनको बचन भुईँमा खस्न नपाउँदै स्वीकार गरेँ । हाम्रो बिहे भयो ।

तिम्रो हजुरबा पनि क्षणभंगुर, नश्वर संसारबाट वाक्क भएर परमानन्दको खोजीमा हुनुहुँदो रहेछ । परमात्माको कृपाले हामी दुबैको उदेश्य एकै हुँदा म पनि धेरै खुसी भएँ । हामी दुबै जना सद्गुरुको खोजीमा निस्कियौं । त्यसै क्रममा एक ठाउँमा असल गुरु हुनुहुन्छ भन्ने कुरा थाहा भयो । हामी उहाँ रहेको स्थानमा गयौ । त्यहाँ ती गुरुले हामीलाई ध्यान सिकाउनुभयो । बल्ल थाहा भयो वास्तविक ध्यान के रहेछ भन्ने । पहिले त हामी अनेक अभ्यास गरेर मुक्ति पाउने नाममा झन्झन् भड्किएका रहेछौं । वास्तविकताबाट टाढाटाढा गइरहेका रहेछौं । उहाँले हामीलाई साधना विधि सिकाउनुभयो जुन धेरै सरल र सहज थियो । बर्षौंबर्ष कठोर साधना गरेर प्राप्त गर्न नसकेको कुरा छिट्टै अनुभूति भयो । त्यसको निरन्तर अभ्यासबाट हामीलाई जीवनको वास्तविक सत्य र यथार्थको बोध भयो । हाम्रा धेरै साथीहरू पनि त्यस मार्गमा लागेर आफ्नो जीवन धन्य बनाउँदै संसार कल्याणको मार्गमा हुनुहुन्छ ।

आफूले महसुस गरेको परमानन्दको बयान गर्न मसँग कुनै पनि शब्द छैन बाबु । वास्तविक ज्ञान नभएका गुरुहरू आफू भ्रममा छन् । त्यही सत्य ठानेर धेरैको जीवन बर्वाद बनाइरहेका छन् ।

कहिलेकाहीँ आनन्द विलास गुरुले हामीलाई दिएको धोका र हामीप्रतिको अन्याय सम्झन्छु । त्यो सारा घटना घट्नुको पछि उनको मात्र के दोष रु हाम्रो पनि जन्मौंजन्मको सञ्चित कर्मका कारण घटना घट्न पुगेको हो भन्ने अनुभूति गर्छु । हामी सबै यस संसारमा जीवनको वास्तविताको बोध गर्न आएका यात्री नै हौं । यस संसाररुपी नाट्यशालामा हामी सबैको भूमिका अलगअलग हुन सक्छ तर आखिर हामी सबै एकै हौं । म आनन्द विलास गुरुलाई धन्यबाद दिन्छु । आध्यात्मिक यात्राका लागि झक्झक्याउने मेरा पहिलो गुरु उनी नै हुन् । मेरा गाउँका साथिहरू सामाजीक रुपमा मान प्रतिष्ठा कमाए छन् तर रोगी पिडित छन् । सायद उनले न झक्झकाएको भए सायद म पनि रोगी, पिडित हुन्थे कि ? म उनी प्रति कृतज्ञ छु ।

सारा घटना भर्खरै घटे झैँ मेरा आँखाअघि नाचिरहेको छ । हेर्दाहेर्दै तिमी पनि यत्रो भइसकेछौ । शरीरका कयौँ कोसहरू परिवर्तन भए होलान्, जीवनका कति घटनाहरू बिर्सियो होला तर यो घटना अमिट बनेर मेरो मानसपटलमा बसेको छ बावु ।

नोट : यो कथा लेखकको भावना हो । संयोग बश कसैको जिवन सँग मेलखाएमा क्षमाप्रार्थी छु । साथसाथै कसैको हृदयमा कुनैपनि चोट पुग्न गएमा त्यस चोटले उसको हृदयका सम्पूर्ण क्लेस हटाएर उसको हृदय परम् पवित्र बनोस् । चराचर जगतको कल्याण होस्, परमात्मासँग यहि प्रथानाका साथ कलम बन्द गर्ने अनुमति चाहन्छु । धन्यवाद । 

प्रतिक्रिया दिनुहोस