किन रोकिदैंन सुन तस्करी ?, फेरी २३ किलो बरामद

पत्रपत्रिकाबाट

आइतबार, ०२ कार्तिक २०७७, ०७ : ५९
किन रोकिदैंन सुन तस्करी ?, फेरी २३ किलो बरामद

काठमाडौँ । भारतीय नागरिक विनोदकुमार सोनी २०६९ असोज १९ गते सवा १ करोड रुपैयाँबराबरका विदेशी मुद्रासहित दुबई उड्न लागेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे । अनुसन्धान गर्दै जाँदा उनी काठमाडौंमा सक्रिय सुन तस्करको सेटिङमा विदेशी मुद्रा लिएर दुबई उड्न लागेको खुल्यो ।

सोनीले प्रहरीसमक्ष विमल पोद्दार, मुरारीलाल जमालिया ९गोयल० लगायतको योजनामा काम गरेको र आफू भरिया मात्रै भएको बताए । उनले किटान गरेका व्यक्ति शक्तिकेन्द्रसम्म पहुँच राख्ने मानिस थिए । जमालिया दरबारमार्गस्थित इबिसुलगायत ज्वेलर्सका सञ्चालक थिए । पोद्दार कालिकास्थानस्थित सिल्भर सिटी अपार्टमेन्टका सञ्चालक हुन् ।

दबाब र प्रभावकै कारण प्रहरीले उनीहरूविरुद्ध बलियो अनुसन्धान गरेन । त्यसपछि पनि सुन तस्करीको शृंखला रोकिएन । तस्करीमा भरियाबाहेक मुख्य अभियुक्तसम्म पुग्न प्रहरीलाई हम्मे परिरहेको थियो । २०७४ मा ३३ केजी सुन तस्करी र सनम शाक्यको हत्या प्रकरणपछि भने सरकारले सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गर्‍यो । अनुसन्धान गर्दै जाँदा सोनीले उल्लेख गरेकै व्यक्ति पोद्दार २०७५ असार ५ गते कालिकास्थानस्थित घरबाटै पक्राउ परे । अर्का अभियुक्त एमके भनिने मोहनकुमार अग्रवाल भने फरार भए ।

राजकुमार दारुका, आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्यलगायतले तस्करीको नेटवर्क चलाउने गरेको खुल्यो । पोद्दार पक्राउ परेपछि समितिका संयोजक पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर तस्करीको सञ्जाल अझै माथिसम्म पुग्ने भन्दै अनुसन्धानको दायरा बढाउनुपर्ने संकेत गरे ।

दुबई, थाइल्यान्ड र हङकङबाट तस्करीको सुन आउने गरेको र यसमा नाम चलेका व्यापारी नै संलग्न रहेको पनि उनले जानकारी दिए । स्थलमार्गअन्तर्गत चीनबाट तातोपानी र केरुङ, भुटान र बर्माबाट भारतको मणिपुर हुँदै तस्करी हुने गरेको तथ्य प्रधानमन्त्रीलाई जानकारी गराइएको थियो । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले ‘अब जे जस्ता प्रमाण भेटिएका छन्, त्यसलाई अन्तिम रूप दिएर बुझाउनुस्, माथिसाथी जानुपर्दैन अहिले’ भनेका थिए । त्यसपछि समितिका पदाधिकारी थप जोखिम मोल्नेतर्फ लागेनन् । ‘त्यसबेला अनुसन्धानको दायरामा राखिएकामाथि थप छानबिन गर्न दिइएको भए सुन तस्करी नियन्त्रणमा ठूलो सफलता हात लाग्न सक्थ्यो,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने ।

औपचारिक कुराकानी गर्न नमाने पनि समितिका एक सदस्यले ‘लहरो तान्दा पहरो थर्किने भएर त्यसभन्दा अघि बढ्न नदिएको हुन सक्ने’ बताए । समितिले पोद्दार पक्राउ परेको ४० दिनपछि साउन १६ गते प्रधानमन्त्री निवास बालुवाटारमा ७ सय ५२ पृष्ठ लामो प्रतिवेदन बुझायो । जसमा २ सय ९२ जनाको नाम नै सुन तस्करका रूपमा किटान गरिएको थियो । गृहमन्त्री रामबहादुर थापा, तत्कालीन गृह सचिव प्रेमकुमार राईलगायत उच्च अधिकारीमाझ प्रधानमन्त्री ओलीले प्रतिवेदनका राय तथा सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए । ‘प्रतिवेदन सार्वजनिक गरिए मात्रै तस्करहरू को–को रहेछन् भनेर आममानिसले थाहा पाउने थिए,’ स्रोतले भन्यो । कान्तिपुर दैनिकमा खबर छ ।