खसी चिन्नु अनि किन्नु : स्वस्थ खसीबोकाको सिङमा हरियो रङ, अस्वस्थमा रातो

सफल खबर संवाददाता

शनिबार, ०१ कार्तिक २०७७, १३ : १२
खसी चिन्नु अनि किन्नु : स्वस्थ खसीबोकाको सिङमा हरियो रङ, अस्वस्थमा रातो

सांकेतिक तस्विर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले स्वस्थ खसीबोका चिनेर मात्रै खरिद गर्न उपभोक्ताहरुलाई आग्रह गरेको छ । 

महानगरपालिकाका पशुसेवा महाशाखा प्रमुख डा.अवधेश झाले बजारमा आनुगमन गरी स्वस्थ र अस्वस्थ खसीबोका छुट्याइएकोले चिनेर मात्रै खरिद गर्न आग्रह गरेका हुन् । स्वस्थ पशुको सिङमा हरियो रङ र अस्वस्थमा रातो रङ लगाइएको डा. झाले बताए । उपभोक्ताले हरियो रङ लगाइएको खसीबोका र च्याङ्ग्रा मात्रै खरिद गर्नुपर्ने उनले बताए । 

उपत्यकाका मुख्य खसीबोका बजारमा नियमित अनुगमन गरी महानगरपालिकाले स्वस्थ र अस्वस्थ खसीबोका र च्याङ्ग्राको पहिचान गर्दै हरियो र रातो रङ लगाई छुट्याएको छ । पशुको तापक्रम नाप्ने, नाकबाट सिगान बगेनबगेको, पखला लागे नलागेको, झोक्राएर बसे नबसेको हेरेर स्वस्थ र अस्वस्थ पशु छुट्याउने गरेको छ । स्वस्थ देखिए विक्रीका लागि स्वीकृति दिइएको डा. झाले बताए । अस्वस्थ भएको पाइए छुट्टै राखेर उपचार गर्न लगाइएको पनि उनले बताए ।  

दशैंको बेला काठमाडौंका खसीबोका बजारमा देशका विभिन्न स्थान तथा भारत देखि समेत खसीबोका र च्याङ्ग्रा ल्याई विक्री वितरण शुरु भइसकेको छ । यस्तो अवस्थामा अस्वस्थ पशुको विक्री वितरण हुन सक्ने भन्दै महानगरपालिकाले अनुगमन गरी स्वस्थ र अस्वस्थ पशु छुट्याई स्वस्थ पशुको सिङमा हरियो रङ र अस्वस्थको सिङमा रातो रङ लगाएको हो ।