प्रयोग गर्न नमिल्ने खाद्यवस्तु छ्यापछ्याप्ती

पत्रपत्रिकाबाट

शनिबार, ०१ कार्तिक २०७७, ०८ : ०४
प्रयोग गर्न नमिल्ने खाद्यवस्तु छ्यापछ्याप्ती

कञ्चनपुर । महेन्द्रनगर बजारमा प्याजको कृत्रिम अभाव सिर्जना गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले गरेको संयुक्त अनुगमनका क्रममा तरकारी पसलका गोदाममा प्याज लुकाएको भेटिएको छ ।

अनुगमनका क्रममा शुक्रबार महेन्द्रनगर बजारको गल्ली नम्बर ४ मा रहेको एउटै तरकारी पसलको गोदामबाट झन्डै ७ क्विन्टल प्याज बरामद गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरकी प्रशासकीय अधिकृत कल्पना भट्टले जानकारी दिइन् । उक्त तरकारी पसलका सञ्चालकलाई ५ हजार जरिवाना गरिएको उनले बताइन् । ‘प्याजको कालोबजारी भएको भन्दै धेरै ठाउँबाट गुनासो आइरहेको थियो,’ उनले भनिन्, ‘त्यही भएर आज पहिलो दिन तरकारी पसलबाटै अनुगमन सुरु गरेका हौं ।’ भारतबाट आयात भइरहेको प्याज गोदाममा थन्क्याएर कालोबजारी भइरहेको स्थानीयबाट गुनासो आएको थियो । सोही आधारमा जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको हो ।

तरकारी मात्रै होइन, खाद्यान्नमा समेत गुण्स्तरहीन र म्याद गुज्रेका वस्तु बिक्री भइरहेको पाइएको छ । अनुगमनका क्रममा महेन्द्रनगरकै सब्जीमन्डी क्षेत्रका किराना पसलमा गरिएको अनुगमनका क्रममा पेय पदार्थ, चियापत्ती र फास्ट फुड म्याद नाघेको भेटिएको अनुगमन टोलीमा रहेका खाद्य तथा गुण नियन्त्रण कार्यालय धनगढीका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत नवराज दाहालले बताए । ‘म्याद गुज्रेका सबै वस्तु बरामद गरिएको छ,’ उनले भने ।

टोलीले बजार क्षेत्रका मिठाई पसलमा पनि अनुगमन गरेको छ । तिनमा सरसफाइ नगरिएको, खाद्यान्न खुला राखेको र झिँगा भन्किएको भेटिएकाले सञ्चालकलाई सचेत गरिएको दाहालले बताए । ‘चाडपर्वका बेला म्याद नाघेका र गुणस्तरहीन वस्तुको बिक्री बढ्ने भएकाले अनुगमन गरिरहेका छौं,’ उनले भने, ‘पहिलो दिन महेन्द्रनगरमा अनुगमन गर्‍यौं, अब यसलाई अरूतिर पनि निरन्तरता दिन्छौं ।’

महेन्द्रनगरलगायत जिल्लाका ग्रामीण भेगका स–साना बजारमा समेत म्याद नाघेका र गुणस्तरहीन खाद्यवस्तु बिक्री भइरहेको स्थानीय बताउँछन् । तर स्थानीय प्रशासनले यसतर्फ चासो दिएको छैन । दसैं नजिकिँदै गर्दा मात्रै अनुगमन गर्ने प्रवृत्ति यस पटक पनि दोहोरिएको छ । दसैं सुरु हुनै लाग्दा प्रशसनले शुक्रबारदेखि अनुगमन सुरु गरेको हो । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस