अमेरिकामा रहेका नेपालीबाट देवघाटमा सहयोग

सफल खबर संवाददाता

शुक्रबार, ३० असोज २०७७, १६ : ४५
अमेरिकामा रहेका नेपालीबाट देवघाटमा सहयोग

देवघाटधाम । अमेरिकामा रहेका नेपालीहरुको संस्था ‘ग्रेटर अस्टिन नेपाली सोसाइटी’ ले शुक्रबार देवघाटका बालबालिका र बृद्धबृद्धालाई खाद्यान्न र स्वास्थ्य सामग्री सहयोग गरेको छ । 

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले अहिलेको अवस्थामा कोरोनाबाट सबै क्षेत्र प्रभावित बनेको बताए । रोग लाग्नुभन्दा पहिले नै सावधानी अपनाइयो भने कोरोनाको प्रभाव पनि कम हुने उनको भनाई थियो । 

सहयोग हस्तान्तरण कार्यक्रमलाई स्थानीय रुपमा गुणनिधि खनाल मेमोरियल ट्रष्टले संयोजन गरेको थियो । डा. अधिकारीले ट्रष्टद्वारा देवघाटमा सञ्चालित निःशुल्क स्वास्थ्य क्लिनिकलाई आवश्यक सहयोग गर्ने र महिनामा एकपटक विशेषज्ञ डाक्टरबाट सेवा प्रदान गर्न व्यवस्था मिलाइने प्रतिवद्धता व्यक्त गरे । 

देवघाटमा रहेका एनआरएन वृद्धाश्रम, ईश्वर बाल सेवा आश्रम, रामजानकी गार्गी कन्या गुरुकुल र रामजानकी बालिका आश्रमलाई ७५ हजार रुपियाँ बराबरको खाद्यान्न र स्वास्थ्य सामग्री सहयोग गरिएको गुणनिधि खनाल मेमोरियल ट्रष्टकी कोषाध्यक्ष सिर्जना खनालले जानकारी दिइन् । 

सहयोग रकम जुटाउन अमेरिकामा ट्रष्टको तर्फबाट डा. कृष्णप्रसाद खनाल र ग्रेटर अस्टिन नेपाली सोसाइटीका तर्फबाट भोजराज भट्टले विशेष पहल गरेका थिए । 

प्रतिक्रिया दिनुहोस