खसीबोका चाहियो ? थापाथली जानुहोस्

सफल खबर संवाददाता

शुक्रबार, ३० असोज २०७७, १६ : २१
खसीबोका चाहियो ? थापाथली जानुहोस्

फाइल फोटो

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कात्तिक ३ गते देखि काठमाडौं उपत्यकामा खसीबोका विक्री गर्ने भएको छ । कम्पनीको थापाथलीस्थित प्रादेशीक कार्यालय परिसरबाट कात्तिक ३ गतेदेखि दशैंका लागि खसीबोका बिक्री वितरणको काम शुरु हुने भएको हो । 

कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दशैंमा खसी, बोका र च्याङग्रा बिक्री गर्दै आएको छ । तर यसपटक प्राविधिक कठिनाइले गर्दा मुस्ताङबाट च्याङग्रा ल्याउन नसकिएको कम्पनीले बताएको छ । यस्तै दुई हजार खसी बोका र च्याङग्रा बिक्री गर्ने योजना रहे पनि आयातमा कठिनाई हुँदा केही संख्यामा खसी र बोका मात्रै विक्रीमा राखिने कम्नीका बागमती प्रदेश कार्यालयका प्रमुख पवित्र गौतमले बताए । यस बर्ष तुल्सिपुर, दाङ र हेटौंडाबाट १ हजार वटा खसी बोका ल्याइएको उनले जानकारी दिए ।

कम्पनीले यसअघि दशैंको लागि १ हजार वटा खसी बोका र १ हजार वटा च्याङग्रा विक्री गर्ने बताएको थियो । तर कोराना भाइरसको संक्रमणले गर्दा बजारमा आम उपोभोक्ताको क्रयशक्ति घटेको अनुमान गरिएकाले यसवर्ष कम आपूर्ति गर्न लागिएको गौतम बताउँछन् । पहिलो चरणमा एक हजार संख्यामा खसीबोका ल्याई विक्रीमा राखिने र माग बढ्दै गए बजारलाई सन्तुलित राख्न थप आयात गर्न सकिने गौतमले बताए ।

यस वर्ष कम्पनीले खरिद गर्दा नै खसीबोकाको मूल्य गत वर्षभन्दा प्रतिकिलो ४० रुपैयाँ बढी परेकाले अघिल्लो वर्षभन्दा केही बढी मूल्य कायम हुन सक्ने गौतमले बताए । कम्पनीले गत बर्ष जिउँदो खसीको मूल्य प्रतिकिलो ५ सय ६० रुपैयाँ निर्धारण गर्दै विक्री गरेको थियो । उक्त मुल्यमा प्रतिकिलो १० रुपैयाँ सहुलियत दिएर बिक्री गरेका थियो । कम्पनीले यसपटक पनि प्रतिकिलो १० रुपैयाँ सहुलियत दिने बताएको छ । 

दशैंका बेला काठमाडौं उपत्यकामा करिब ५० हजार खसी, बोका र च्याङ्ग्रा खपत हुने अनुमान छ । दसैंलाई लक्षित गरेर निजी व्यवसायीहरुले समेत गाउँ गाउँमा गएर खसीबोका खरिद गरेर बजारमा ल्याउन शुरु गरिसकेका छन् । स्थानीय उत्पादनले माग धान्न नसकेपछि छिमेकी मुलुक भारत र चीनबाट समेत खसीबोका र च्याङ्ग्रा आयात हुने गर्छ ।