माधव नेपाल र वामदेव गौतम बिच किन भयो बाँझाबाँझ ?

'कर्णालीको पार्टी समस्याका बारेमा खुमलटारमा केहीबेर माधव नेपाल र वामदेव गौतमबीच बुधबार भनाभन भएपनि अन्तिममा दुवै नेता एउटै निस्कर्षमा पुगेका थिए, कर्णालीको सत्ता अहिले बचाउने'

सफल खबर संवाददाता

शुक्रबार, ३० असोज २०७७, ०९ : २०
माधव नेपाल र वामदेव गौतम बिच किन भयो बाँझाबाँझ ?

काठमाडौं । एकातिर प्रधानमन्त्री केपी ओलीको पेलाहा प्रवृति, अर्काेतिर कर्णालीको पार्टी समस्या ! के गर्ने भन्नेमा बुधबार बिहान झण्डै पाँच घण्टा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बैठक बसेको छ । बिहान ७ बजेदेखि शुरु भएको छलफल मध्यान्ह् सवा १२ बजेसम्म चलेको थियो । छलफलमा सहभागी थिए, वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, स्थायी समिति सदस्य तथा कर्णाली प्रदेशका इन्चार्ज जर्नादन शर्मा, स्थायी समिति सदस्यहरु सुरेन्द्र पाण्डे लगायतका नेताहरु ।

पार्टीका दुवै अध्यक्षले कर्णालीको विवाद यथास्थानमा राख्दै केन्द्रीय कार्यालयमा छलफलका लागि बिहिबार सम्म आउनु भन्ने निर्देशन पछि प्रदेशका पार्टी पदाधिकारी, मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सांसद चन्द्रबहादुर शाही, राष्ट्रिय सभा सदस्य तथा कर्णाली प्रदेश पार्टी सचिव मायाप्रसाद शर्मा (पारसमणि) लगायतका नेताहरु छलफलका लागि प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

उता अविश्वासको प्रस्ताव राख्ने यमलाल कँडेल, मुख्यमन्त्री शाहीले प्रमुख सचेतकबाट हटाईदिएका गुलाबजंग शाह लगायतका नेताहरु फेरि उता बालुवाटारमा प्रधानमन्त्री ओलीसँगको छलफलमा थिए । पार्टीका नेताहरुले बिहिबार आफु निकट नेताहरुसँग कर्णालीको वस्तुस्थितीका बारेमा छलफल गरेका हुन् । आजै दुवै पक्षलाई सँगै राखेर पार्टीका दुवै अध्यक्ष, महासचिवले कर्णालीमा देखिएको समस्याका बारेमा छलफल गर्ने तयारी गरिरहेका छन् ।

दुवै अध्यक्षको छलफल पूर्व भएको पूर्व तयारी छलफलका क्रममा भने वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष वामदेव गौतमका बीचमा खुमलटारमा केही बेर भनाभन भएको खुमलटार छलफलमा सहभागी एक नेताले सफलखबरलाई बताए । ‘कर्णालीको पार्टी समस्या बुझेको÷नबुझेको विषयमा माधव कमरेड र वामदेव कमरेड केही बेर झोकाझोक पो गर्न थाल्नुभयो,’ छलफलमा सहभागी एक नेताले भने,–‘पछि फेरि उहाँहरु दुवै सहमतिमा आउनुभयो ।’

कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध अविश्वास प्रस्ताव राख्ने नेता यमलाल कँडेल अहिलेपनि ब्यक्तीगत रुपमा उपाध्यक्ष वामदेव गौतमसँग निकट नै छन् । कुनै समय गौतमका मान्छे रहेका कँडेल गत महाधिवशेनबाट ओलीका बनेका हुन् । गौतम स्यवं ओलीका रहेका कारण उनका मान्छेहरुले गौतमलाई पाखा लगाउँदै ओलीसँग समधुर सम्बन्ध कायम गरेका थिए ।

बुधबारको खुमलटार छलफलमा पनि उपाध्यक्ष गौतमले कर्णालीको पार्टी समस्याका बारेमा आफुलाई सबै विषय जानकारी भएको भन्दै धारणा राख्न थालेपछि माधव नेपाल कडकिएका थिए । ‘तपाईका यस्तै सबै कुरा थाहा छ भन्ने प्रवृतिका कारण नै समस्या उब्जिरहने र प्रधानमन्त्री ओलीले पेलिरहने स्थिती बनिरहेको छ, यर्थाथ के हो ? कुन पक्ष ठीक हो भन्ने प्रष्ट खुलेर हिड्नुपर्छ,’ वरिष्ठ नेता माधव नेपालले गौतमलाई भने । नेपालले गौतमलाई अन्तिम समयमा ओलीतिर ढल्किएर साथ दिएकोमा घुमाउरो पारामा ब्यङग्य कसेका थिए ।

त्यसपछि गौतमले पनि कमजोरी मानिसका हुने र भएका भन्दै आफुबाट भएका कमजोरीका विषयमा आफु लज्ज्ति रहेको धारणा राखेको सहभागी एक नेताले बताए । केही बेर बाँझाबाँझ गरेपछि नेपाल र गौतम एउटै निश्र्कषमा पुगेका थिए,–कर्णालीको सत्ता टिकाउने र त्यसका लागि आवश्यक जुनकुनै कदम पनि चाल्ने । खुमलटारको उक्त छलफलमा प्रचण्ड र माधव नेपालहरुले त्यहाँका प्रतिनिधीहरुका धारणा मात्र धेरै समय सुनेका थिए ।

अन्तिममा प्रचण्डले पार्टीका अर्का अध्यक्षले पनि आवश्यक पर्दा एकल वा सामुहिक रुपमा पनि भेटघाटका लागि बोलाउन सक्ने भन्दै त्यहाँको समस्या समाधानमा पार्टी गम्भिर भएर लाग्ने धारणा राखेका थिए । ‘कर्णालीमा उत्पन्न समस्याका बारेमा मैले प्रधानमन्त्रीजीसँग पनि छलफल गरेको छु । तपाईहरुसँग एकल र संयुक्त रुपमा पनि छुट्टाछुट्टै भेटेर समस्या र समाधानको उपायका बारेमा सुझाव लिइनेछ,’ प्रचण्डले अन्तिममा भनेका थिए, –पार्टी स्थायी समितिले पारित गरेको नीतिगत निर्णयका आधारमा केन्द्र देखि प्रदेशसम्मको सरकार पूर्नगठन हुन्छ ।

सबैलाई मान्य हुने गरी निर्णय कार्यान्वयन गरेर लगिनेछ ।’ छलफलमा सहभागी नेताहरुले कर्णाली सरकारका विषयमा विभिन्न विकल्पमा केन्द्रीत रहेर सुझाव दिएका थिए । वरिष्ठ नेता माधव नेपाल र प्रचण्ड पक्षका बीचमा भएको समझदारीका विषयमा पनि नेताहरुले त्यहाँ सुझाव राखेको ति नेताले बताए ।

प्रतिक्रिया दिनुहोस