बाबुराम भट्टराईको अभिव्यक्ति : केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालले ९ अर्ब खाएको खबरले ल्यायो तरंग

पत्रपत्रिकाबाट

बुधबार, २८ असोज २०७७, ०८ : ०२
बाबुराम भट्टराईको अभिव्यक्ति : केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालले ९ अर्ब खाएको खबरले ल्यायो तरंग

काठमाडौँ । २०६९ मंसिरमा बाबुराम भट्टराई नेतृत्वको सरकारले बूढीगण्डकी आयोजना अघि बढाउने निर्णय गरेसँगै राजनीतिक वृत्तमा प्रवेश गरेको यो आयोजनाका बारेमा विवाद नभएका वर्ष छैनन् । निर्माण मोडालिटीदेखि आयोजना ठेक्का सम्झौताका निर्णय गर्ने सरकार तथा राजनीतिक नेतृत्व विवादमा पर्दै आएका छन् ।

सार्वजनिक खरिदका विधि र प्रक्रिया पूरा नगरी विवादास्पद रूपमा काम भइरहेको पृष्ठभूमिमा पूर्वप्रधानमन्त्री भट्टराईले नै केही दिनअघि दिएको अभिव्यक्तिले यो आयोजनाबारे नयाँ तरंग पैदा गरेको छ । गत बिहीबार गोरखामा आयोजित एक सार्वजनिक कार्यक्रममा भट्टराईले ‘बूढीगण्डकी आयोजनामा केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्डले नौ अर्ब कमिसन बाँडेर खानुभएको छ, यो कुरा प्रमाणित गर भने तुरुन्त गर्न सक्छु’ भन्ने दाबी गरेका थिए ।

लगत्तै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विज्ञप्तिदेखि सामाजिक सञ्जालमार्फत धेरैले भट्टराईलाई त्यस्तो प्रमाण सार्वजनिक गर्न वा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाउन चुनौती दिएका छन् । तथ्यमा आधारित हो कि सार्वजनिक खपतका लागि गरिएको भाषण मात्रै हो भन्ने भट्टराईले यसबारेमा गर्ने थप गतिविधिले देखाउनेछ । भट्टराईले कान्तिपुरसँगको कुराकानीमा सोच, विचार गर्दै हिसाब गरेर बोलेको जनाएका छन् ।

त्यसको प्रमाण भने उपयुक्त समयमा सार्वजनिक गर्ने उनको भनाइ छ । ‘मैले संसद्देखि संसदीय समितिहरूमा निरन्तर तीन वर्षदेखि भनिरहेको विषय हो,’ उनले भने, ‘अहिले अंक नै किटान गरेर भनेपछि कुम्भकर्णको निद्राबाट ब्युँझेझैं भएको हो । मैले चुनौती दिएको छु, उहाँहरूले छानबिन अगाडि बढाउनुहोस् ।’

त्यसका प्रमाणहरू किन अख्तियारलाई बुझाउनु हुन्न वा सार्वजनिक गर्नु हुन्न त रु भन्ने प्रश्नमा भट्टराईले भने, ‘अख्तियारले के लछारपाटो लगाएको छ र, उसलाई प्रमाण दिऊँ । म राजनीतिक मान्छे हुँ । जनाधारमा विश्वास गर्छु । उपयुक्त बेला आएपछि प्रमाण सार्वजनिक गर्छु ।’भट्टराईले प्रमाण सार्वजनिक कहिले गर्लान् अर्कै कुरा भयो तर बूढीगण्डकी निर्माणको ठेक्का सम्झौता र खारेजीको निर्णय भने शंकास्पद रहेको घटनाक्रमले देखाउँछ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस