कोरोना कहर : पढाइ के हुन्छ ?

पत्रपत्रिकाबाट

बुधबार, २८ असोज २०७७, ०७ : ४८
कोरोना कहर : पढाइ के हुन्छ ?

काठमाडौं । कोरोना भाइरस संक्रमण त्रासका कारण अपनाइएको शिक्षाको वैकल्पिक विधि प्रभावकारी नबन्दा विद्यालयदेखि विश्वविद्यालय तहसम्मको पठनपाठन भद्रगोल बनेको छ। शिक्षा मन्त्रालय र विश्वविद्यालय नेतृत्वले स्पष्ट योजना बनाउन नसक्दा अभिभावक तथा विद्यार्थी शैक्षिक भविष्यप्रति चिन्तित देखिएका छन्।

केही विद्यालयले लकडाउनकै अवधिमा पनि वैकल्पिक माध्यमबाट राम्ररी विद्यार्थीलाई पढाएका थिए। मन्त्रालयले लकडाउन हटेपछि वैकल्पिक विधिको पढाइलाई अनिवार्य बनाए पनि बहाना बनाएर जिम्मेवारीबाट पन्छिन खोज्ने थुप्रै विद्यालयमा पढाइ हुन सकेको छैन।

विद्यार्थीको सिकाइ अवरुद्ध भएका विद्यालयबारे मन्त्रालयअन्तर्गत रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अध्ययन गरिरहेको छ। सरकारले शैक्षिक सत्र खेर जान नदिन चैतभित्रै पढाइ सकेर अन्तिम परीक्षा लिने निर्णय गरिसकेको छ। यो अवस्थाले पढ्न पाउने र नपाउने विद्यार्थीबीच खाडल खडा गरेको छ। यसबाट चैतभित्र पढाइ सकेर परीक्षा लिइसक्ने सरकारी योजना सफल नहुने देखिन्छ। असल अभ्यास गर्न उत्सुक विद्यालयले लकडाउनमा पनि बहाना नबनाई विद्यार्थीको सिकाइलाई निरन्तरता दिएका थिए। चाहना नै नगर्ने विद्यालयलाई अहिले पनि कोरोना महामारीले छोइरहेको छ।

‘मैले अध्ययन गर्दा दोलखामा केही विद्यालयले टेलिफोनबाट विद्यार्थीलाई सम्पर्क राखेर पढाउन थालेका छन्। कपिलवस्तुका विद्यालयले विद्यार्थीलाई बारअनुसार समूह बनाएर पढाइरहेका छन्। उनीहरूले बिहान ८ बजेदेखि नै पढाउन थालेका छन्’, शिक्षाविद् विद्यानाथ कोइरालाले भने, ‘लमजुङमा एक विद्यालयले पनि यसरी नै पढाइरहेको छ। तर, सँगै रहेको अर्को विद्यालयले विभिन्न बहाना बनाएर पढाइलाई निरन्तरता दिन सकेको छैन।’ यस्तो असमान व्यवस्थाले विद्यार्थी र अभिभावकमा मानसिक तनाव सिर्जना गर्ने कोइरालाको भनाइ छ।

मन्त्रालय तथा मातहतका निकायका कमजोरीका कारण यो अवस्था आएको हो। विद्यालय तहसम्मको शिक्षाको अधिकार पाएका स्थानीय तह पनि पढाइ र विद्यार्थीको भविष्यप्रति गम्भीर देखिएका छैनन्। काठमाडौंका चन्द्रागिरि, तारकेश्वरलगायत नगरपालिकाले विद्यार्थीलाई भौतिक दूरी कायम गर्दै समूहमा बोलाएर पढाउन थालेका छन्। उपत्यकाबाहिरका विद्यालयमा पनि यो पद्धति अपनाइएको छ। स्याङ्जाको फेदीखोला गाउँपालिकाले प्रत्येक विद्यालयमा वाईफाई व्यवस्था गरिदिएको छ। विद्यार्थी भाग लगाएर शिक्षकको जिम्मा लगाइदिएका छन्। पढाइबाट भाग्ने विद्यालयहरू कहिले क्वारेन्टाइन त कहिले संक्रमण फैलिएको बहाना बनाएर बसिरहेका छन्। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस