नेकपाभित्रको विवादको साइड इफेक्ट : वाग्मती र प्रदेश १ मा पनि नेतृत्व फेर्ने तयारी

सफल खबर संवाददाता

सोमबार, २६ असोज २०७७, ०८ : ५४
नेकपाभित्रको विवादको साइड इफेक्ट :  वाग्मती र प्रदेश १ मा पनि नेतृत्व फेर्ने तयारी

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध उनकै दल नेकपाका सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि सिंगो पार्टीभित्र हलचल पैदा भएको छ ।

केन्द्रमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक आयोगहरूमा नियुक्ति, राजदूत सिफारिसलगायत विषयमा भागबन्डाको गृहकार्य चलिरहेका बेला कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएपछि नेकपामा हलचल पैदा भएको हो । अविश्वासको प्रस्तावले नेकपामा थप विवाद बढ्ने संकेत देखिएको छ ।

राष्ट्रिय महत्वका विषयमा पार्टी कमिटीमा छलफल गर्ने कुरा भए पनि दुई अध्यक्षले मात्र प्रदेश ५ को राजधानीको विषयमा सहमति गरेर विवाद निम्त्याएका स्रोत बताउँछ । ‘दाङमै राजधानी तोक्ने भए पनि पार्टी कमिटीलाई मनाएर लैजान सकिन्थ्यो तर कमिटीमा एकपटक पनि छलफल नगरी मुख्यमन्त्री पोखरेललाई मात्र उचालेर जसरी प्रदेश ५ का कमिटीहरू बिच्काउने काम भयो, त्यो राम्रो भएन ।

यसअघि वाग्मती प्रदेशमा त्यही नीति अख्तियार गरियो, यसले पार्टीलाई नै क्षति पुग्छ भन्नेतर्फ ध्यान दिइएन, त्यसकारण अब कर्णाली प्रदेशबाट मुख्यमन्त्री हटाउने खेल वाग्मती र प्रदेश १ सम्म आइपुग्न सक्छ,’ नेकपा उच्च स्रोतले भन्यो । कर्णाली प्रदेशमा अहिले देखिएको विवादप्रति केन्द्रमा नेपाल पक्ष मौन देखिएको छ । आफ्नै पार्टीका १८ सांसदले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि संसदीय दलमा उनी अल्पमत परेका छन् । ‘माधव नेपाल पक्ष मौन रहेका बेला दाहाल समूहको भने यतिबेला परीक्षा सुरु भएको छ ।

दाहालले अब प्रदेश १ र वाग्मती प्रदेशमा पनि हल्का साथ दिए भने त्यहाँका मुख्यमन्त्रीहरू पनि परिवर्तन हुन सक्छन्,’ स्थायी कमिटीका अर्का सदस्यले भने । ती सदस्यका अनुसार कर्णालीमा मुख्यमन्त्री फेरिने अवस्था आए वाग्मती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन ४५ सांसदको हस्ताक्षर र प्रदेश १ का ३१ सांसदको हस्ताक्षर तयारी अवस्थामा छ । ‘हामीमाथिको ग्रिन सिग्नल कुरेर बसेका छौं,’ वाग्मती प्रदेशका एक सांसदले भने । ती सांसदका अनुसार दुई महिनाअघि नै मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याउन हस्ताक्षर संकलन भएको थियो । 

त्यस्तै प्रदेश १ को सरकारमा पनि कर्णालीको असर पर्ने सम्भावना छ । सुरुमा संसदीय दलमा शेरधन राई र भीम आचार्यबीच मतदान हुँदा दुई मतको मात्रै फरक थियो । दुई मत बढी पाएर राई संसदीय दलको नेता भएका हुन् । अहिले अविश्वासको प्रस्ताव दर्ता गर्ने अवस्था आए ३१ सांसदको हस्ताक्षर तयारी अवस्थामा रहेको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस