‘अनुदानको पछि लाग्नुभन्दा कर्मको पछि लाग्नु राम्रो’

सफल खबर संवाददाता

आइतबार, २५ असोज २०७७, १७ : २९
‘अनुदानको पछि लाग्नुभन्दा कर्मको पछि लाग्नु राम्रो’

चितवन । भनिन्छ, कर्म गर तर फलको आशा नगर । यही भनाइमा अडिग थिए भरतपुर २५ का किसान गणेश भुसाल । उनले निरन्तर कर्म गरे, तर फलको आशा कहिल्यै गरेनन् । कर्म गरेपछि भगवानले पनि हेर्दा रहेछन् क्यारे, १८ वर्ष कृषिकर्ममा जुटेपछि गणेश भुसाललाई नसोचेको फल यतिबेला मिलेको छ । 

कृषि क्षेत्रमा लागेर सरकारी उच्च पदक पाउँछु भनेर किसान भुसालले सोचेकै थिएनन्, तर कहिलेकाहीँ नसोचेको भइदिन्छ । यही नसोचेको फल किसान भुसालले पाएका छन्, त्यसैले त उनी भन्छन्, ‘कर्म गरेपछि फलको आशा नगरे पनि फल मिल्दोरहेछ ।’ 

सफल किसान भुसाल राष्ट्रपतिबाट पाउने जनसेवा श्री पाँचौ पदक प्राप्त गर्ने व्यक्ति हुन् । उनलाई सो पदकको लागि सरकारले छनौट गरिसकेको छ । उनी भन्छन्, ‘नाम छनौट भइसक्यो, खबर आउँछ, त्यसपछि पदक लिन आउनू भनिएको छ, खबर आएपछि जाने हो ।’ 

विगत १८ वर्षदेखि भरतपुर महानगरपालिका वडा नं. २५, २६ र २७ को सीमाक्षेत्रमा १८ बिघा जग्गामा उनले तरकारी फलाएका छन् । उनको बारीमा यतिबेला टनाटन हरियो तरकारीहरु छन् । उनको बारीमै व्यवसायीहरु किन्न जान्छन् । उनको तरकारीलाई मनग्य भाउ दिन्छन् । 

तरकारी खेती गरेका ५४ वर्षीय किसान भुसालले १८ वर्षसम्म कृषिमा लाग्दासम्म सरकारी अनुदान लिएका छैनन् । आफ्नै बलबुताले माटो खोस्रिरहेका छन् । उनले सरकारी अनुदान नलिने घोषणासमेत गरेका छन् । उनी भन्छन्, ‘अनुदान र संरक्षणले मानिसलाई कमजोर बनाउँछ, मैले त अनुदान नलिने घोषणा नै गरेको छु, अनुदानको पछि लाग्नुभन्दा कर्मको पछि लाग्नु राम्रो हुन्छ ।’ सरकारी अधिकारीहरुले उनलाई अनुदान लिनलाई अनुरोध पनि गरेका हुन् । तर उनले अनुदान नलिई सफल किसान बनेर देखाउँछु बन्ने दह्रो प्रतिबद्धता गरे । उनी भन्छन्, ‘अरुको भर पर्नुभन्दा आफ्नै भर परौँ, आफ्नो खुट्टामा आफैँ उभिऔँ ।’

सरकारले आफूलाई पदक दिने भनेपछि फुरुङ्ग त भए, कर्मको फल हो भन्ने पनि सोचे, तर अझै धेरै गर्न बाँकी रहेको उनी बताउँछन् । कोरोनाको कहरमा उनले थुप्रै तरकारीहरु कुहाएर फाल्नुपरेको थियो । उनले हरेश खाएका छैनन् । भन्छन्, ‘लकडाउनमा तरकारीले भाउ पनि पाएन, कोरोनाको कारण धेरै तरकारी कुहाएर फालेँ तर पनि मनलाई दह्रो बनाएर कृषिमा लागिरहँदा पदक पाउने अवसर मलाई मिल्दा साह्रै खुसी लागेको छ ।’ चितवनको कृषि ज्ञान केन्द्र भरतपुरले उनलाई पदकका लागि सिफारिस गरेको थियो । जिल्लाकै उत्कृष्ट किसानभित्र परेपछि ज्ञान केन्द्रले उनको नाम सिफारिस गरेको हो । 

भुसालले तरकारीमात्र लगाएका छैनन्, अभियान बहुमुखी कृषि फर्म चलाएका छन् । उनको फर्मले वर्षको दुई करोड बराबरको कारोबार गर्दै आएको छ । तरकारी पेसामा लाग्न पाउँदा उनी अति नै खुसी भएका छन् । उनी भन्छन्, ‘हामीले फलाएको तरकारी ठूलठूला व्यवसायी, राजनीतिज्ञ, उद्यमी, नेताहरुको भान्सामा पुग्छ, हामीले फलाएको तरकारीको स्वाद उनीहरुले लिन पाउँदा भित्रभित्रै खुसी लाग्छ ।’

किसान भनेका यस्ता सामाजिक मानव प्राणी हुन्, जसले आफू बाँचेर अरुलाई पनि बचाइरहेको हुन्छ । अरुलाई बचाउन पाउँदा नै किसानहरु खुसी हुन्छन् । त्यसैले त किसान भुसाल पनि आफ्नो तरकारी अरुको भान्सामा पुग्दा ज्यादै खुसी लाग्ने बताउँछन् । 

उनले कृषि क्षेत्रको थप विस्तारमा लाग्ने बताउँछन् । उनले भने, ‘म अझै अन्य कृषि क्षेत्र विस्तारमा लाग्ने विचार गरेको छु, माछापालन, मेवा खेतीमा हात हाल्ने सोच बनाएको छु ।’

कृषि क्षेत्रमा लाग्नुअघि 

उनी पहिले अर्घाखाँची जिल्लाका हुन् । हाल उनी भरतपुर २५ अमृतनगर स्थायीरुपमा बस्छन् । कुनै समय अर्घाखाँचीको सन्धिखर्कमा उनले वकालत पेशा गर्दथे । कानुनमा स्नातक गरेका सन्धिखर्क नगरपालिका वडा नं ७ का भुसाल चितवन आएर कृषि क्षेत्रमा होमिएका हुन् । 

कुनै समय उनले पत्रकारित पनि गरे । उनी २०५१ सालदेखि २०५८ सम्म अर्घाखाँची जिल्लामा बसेर पत्रकारिता गरेको बताउँछन् । उनको भनाइ अनुसर पत्रकारिताले घर परिवारप्रतिको दायित्व र आर्थिक बोझ थाम्न सकेन, त्यसपछि माटोमा पसिनामा बगाउन सुरु गरे ।

भन्छन्, ‘वकालतदेखि पत्रकारितासम्म गरेँ, सबैभन्दा खुसी कृषि कर्ममा नै छु ।’ भुसालको अहिले भरतपुर–२५ अमृतचोकमा घरसहितको १३ कठ्ठा जग्गा छ । उनका दुई छोरीले बिएससी एजीको पढाइ सकेका छन् । 

उनको फार्ममा झण्डै सिजन र बेसिजनमा ४० जनासम्मले रोजगारी पाउँछन् ।  किसान भुसालका अनुसार मासिक झण्डै ४ लाख तलबमा खर्च हुने गरेको छ । वार्षिक कठ्ठाको २ हजार रुपैयाँ उनले जग्गाको भाडा बुझाउँछन् । उनी भन्छन्, ‘तरकारीबाट मासिक कमाइ यति हुन्छ भन्न सकिदैन, कुनै बेला कुहाएर फाल्नुपर्छ, कुनै बेला बाढी, रोगकीराले नष्ट गर्छ, कुनै बेला राम्रै कमाइ हुन्छ ।’

प्रतिक्रिया दिनुहोस