सिरियाको गुटामा शुक्रबार पनि सहायता सामाग्री पुर्‍याउन सकिएन : संयुक्त राष्ट्रसंघ

शुक्रबार, २५ फागुन २०७४, १३ : ४१
सिरियाको गुटामा शुक्रबार पनि सहायता सामाग्री पुर्‍याउन सकिएन : संयुक्त राष्ट्रसंघ

दमासकस । हिंसा जारी रहेको पूर्वी सिरियाको एक द्वन्द्वग्रस्त क्षेत्र गुटामा शुक्रबार पनि अत्यावश्यक मानवीय सहायता सामाग्रीहरु पु¥याउन सकिएको छैन ।

राष्ट्रसंघीय अधिकारीहरुले सो क्षेत्रमा ठूलो मात्रामा यस्ता सामाग्रीको खाँचो रहेको बताएका छन् । तर पनि अहिलेसम्म निकै लामो समयदेखि यहाँ सहयोग पु¥याउन सकिएको छैन ।

प्राय विद्रोहीहरूको नियन्त्रण रहेको बताउँदै आइएको उक्त क्षेत्रमा सिरियाली सेनाले हवाई आक्रमण रोकेको छैन र यसले गर्दा यस हप्तामा पनि थप हिंसा चर्किएको छ ।

प्राप्त विवरणहरूका अनुसार उक्त क्षेत्रमा अन्तर्राष्ट्रिय रेडक्रसले बिहीबार पनि सहायता पु¥याउन सकेको थिएन । शुक्रबारका लागि गरिएको तयारी पनि असफल भएको बताएको छ ।

रेडक्रसले भनेको छ– शुक्रबार पनि खतरापूर्ण अवस्था रहेको छ । गएराति भएका आक्रमणहरुमा पनि कैयौँ गैरसैनिक नागरिक मारिएको बताइएको छ ।

ब्रिटेनमा मुख्यालय रहेको एक अधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले गए रातिका आक्रमणहरुका घटनामा परी ६० जनाभन्दा बढीको ज्यान गएको बताएको छ ।

रुसी सेनाको समेत सहयोगमा सिरियाको सरकारी फौजले त्यहाँ एक महिनायता निरन्तर रुपमा विद्रोहीलक्षित भन्दै आक्रमणलाई तीव्र पारेको छ ।

सिरियाले अल कायदाको नजिक रहेका मानिने लडाकूरूलाई धपाउन भन्दै आक्रमण गरेको सिरियाली सरकारी सेनाले दाबी गरेको छ ।

तर संयुक्त राष्ट्रसंघले भने यहाँ जारी रहेका यस्ता आक्रमणहरूमा सयौँ सर्वसाधारण तथा बालबालिका पनि मारिएको विवरण प्रकाशमा आएको जनाएको छ र यस्ता क्रियाकलापहरु रोक्न बारम्बार आग्रह गर्दै आएको छ ।

महिनादिनयता जारी राखेको कारबाहीका क्रममा पूर्वी गुटाको आधाजसो भूभाग नियन्त्रणमा लिइसकेको सिरियाली सरकार समर्थित फौजले जानकारी दिएको छ ।

गत साता राष्ट्रसंघले युद्धविरामको माग गरेपनि यहाँ युद्धविराम लागू भएको छैन । राष्ट्रसंघीय सुरक्षा परिषद्ले गुटाको अवस्था अत्यन्तै नाजुक भएको भन्दै युद्धविरामका लागि छलफल गर्दै आएको जनाएको छ ।

सिरियामा गएको कम्तीमा सात वर्षदेखि हिंसा जारी रहेको छ । जसका कारण चार लाखभन्दा बढी नागरिक मारिएका छन् भने अरु लाखौँ नागरिक शरणार्थी बन्न पुगेका छन् । (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस