महालक्ष्मीका नगरप्रमुख कोरोना मुक्तः पसल नखोलिदिन गोदावरी नगरपालिकाको आग्रह

रासस

सोमबार, १९ असोज २०७७, २१ : २८
महालक्ष्मीका नगरप्रमुख कोरोना मुक्तः पसल नखोलिदिन गोदावरी नगरपालिकाको आग्रह

काठमाडौं । महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ कोरोना सङ्क्रमणबाट मुक्त हुनुभएको छ । नगर प्रमुख श्रेष्ठ कोभिड–१९ बाट सङ्क्रमित भएपछि ग्वार्काेको किष्ट मेडिकल कलेजमा भर्ना भएर उपचार गराइ रहनु भएको थियो ।

“आज मेरो कोभिड–१९ परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ”, मेडिकल कलेजबाट घरजाने तयारीमा रहनुभएका प्रमुख श्रेष्ठले भन्नुभयो, “चिकित्सकले आवश्यक औषधि लेखेर एक हप्ता होम आइसोलेसनमा बस्न सुझाव दिनुभएको छ । त्यसपछि पनि चिकित्सकसँग छलफल गरेर मात्र घरबाहिर निस्कनेछु ।” अब केही दिन आफूले घरबाटै नगरपालिकाका सम्पूर्ण काम सञ्चालन गर्ने उहाँले बताउनुभयो । 

गत भदौ ३० गते प्रमुख श्रेष्ठ र उहाँकी श्रीमती अञ्जिका श्रेष्ठलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उहाँकी श्रीमती अञ्जिका श्रेष्ठलाई यही असोज १६ गते कोरोना परीक्षणको रिपोर्ट नेगेभिट आएको थियो । 

यसैगरी ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि असोज ९ गतेदेखि बखुन्डोलस्थित निजी निवासमा आइसोलेसनमा रहनुभएका उहाँ अहिले सानेपास्थित स्टार अस्पतालमा भर्ना हुनुभएको छ । असोज १६ गते छातीमा केही समस्या देखिएपछि उहाँ अस्पताल भर्ना हुनुभएको प्रमुख महर्जनका स्वकीय सचिव इन्द्र बज्राचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अस्पताल भर्ना भएतापनि नगरप्रमुखको स्वास्थ्य अवस्था सामान्य नै रहेको छ ।” 

त्यस्तै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उहाँकी श्रमती गङ्गामायालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि दुबै जना यही असोज नौ गतेदेखि होम आइसोलेसनमा रहनुभएको छ । दुबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको नगरपालिकाका प्रवक्ता मिलन सिलवालले जानकारी दिनुभयो । 

पसल नखोलिदिन अनुरोध 
गोदावरी नगरपालिका–५ ले काभ्रे र मनकामनाका सम्पूर्ण पसलहरु नखोलिदिन व्यापारीलाई अनुरोध गरेको छ । कोभिड–१९ महामारीका कारण हिजो मात्र सो वडाका ६२ वर्षीय पुरुषको मृत्युभएसँगै वडाले उक्त आग्रह गरेको हो । मृतकको पत्नीमा पनि कोरोना भाइरस सङ्क्रमण पुष्टि भएर हाल उहाँ होम आइसोलेसनमा बसिरहनुभएको वडाध्यक्ष मिलन सिलवालले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले एक चरणमा कन्ट्याक ट्रेसिङको काम सकेर भोलीबाट पुनःअर्काे चरणमा ट्रेसिङ् शुरु गर्ने भएका छाँै । त्यसैले अत्यावश्यक बाहेक सेवा बाहेक अन्य सेवा आजबाट आउँदो शुक्रबारसम्मका लागि बन्द गरिएको छ ।” 

गोदावरीमा आजमात्र चार महिला र छ पुरुष गरी कूल १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हालसम्म गोदावरीमा कोरोना सङ्क्रमितको सङ्ख्या २०३ पुगेको छ । तीमध्ये होम आइसोलेसनमा ५७, विभिन्न अस्पतालमा उपचार भइरहेका पाँच, बडिखेल आइसोलेसमा ६ जना रहेका छन् । उपचारपछि निको हुनेको सङ्ख्या १३२ जना रहेका छन् चने कोरोना सङ्क्रमणबाट अहिलेसमम तीन जनाको मृत्यु भएको नगरपालिककाले जनाएको छ । 

कोरोना सङ्क्रमण बढेसँगै भूमि सुधार तथा मालपोत कार्यालय ललितपुर आजदेखि पाँच दिनका लागि बन्द भएको छ । कार्यालयको अग्रपङ्तीमा रहेर सेवा दिने केही कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएसँगै पाँच दिनका लागि कार्यालय बन्द गर्ने निर्णय गरिएको प्रमुख मालपोत अधिकृत शालिकराम आचार्यले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस