चाडपर्व लक्षित सुपथ मूल्य पसल देशभर सञ्चालन

सफल खबर संवाददाता

विहीबार, १५ असोज २०७७, १७ : ०४
चाडपर्व लक्षित सुपथ मूल्य पसल देशभर सञ्चालन

काठमाडौं । सरकारले चाडपर्व लक्षित सुपथ मूल्य पसल आज (बिहीबार) देखि सञ्चालनमा ल्याएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले देशभरका आ–आफ्नै कार्यालय, डिपो, डिलर र अनलाइन मार्फत सुपथ मूल्य पसल सञ्चालन गरेका हुन् । काठमाडौं उपत्यकामा सिंहदरबार, टेकु, कालिमाटी कोटेश्वर लगायत विभिन्न १६ स्थानमा र उपत्यका बाहिर विभिन्न ६५ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा आएका छन् । 

यस्तो पसलहरुमा दैनिक उपभोग्य वस्तुहरु चामल, दाल, गेडागुडी, चिनी, नुन लगायतका वस्तुहरु सुपथ मूल्यमा खरिद गर्न सकिने छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी विभागीय प्रमुख सर्मिला सुवेदीले चामल, दाल र चिनीमा प्रति किलो ५ रुपैयाँ छुट दिइएको बताइन् । त्यस्तै बासमती चामल, गेडागुडी, र कर्णालीको दाल, मासुजन्य वस्तुमा प्रतिकेजी १० रुपैयाँ छुट दिइएको पनि उनले बतइन् ।

कोभिड १९ को जोखिमका कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विसका संस्थानले यस वर्ष एकीकृत रुपमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका छैनन् । तर सबै कम्पनीले विक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताए । आजदेखि सुरु भएको सुपथ मूल्य पसल आगामी मंसिर ६ गतेसम्म सञ्चालन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस