काठमाडौँ । २०७२ सालको महाभूकम्पबाट क्षति भोगेका पुरातात्विक महत्वका ऐतिहासिक दरबारहरुले पुनर्जीवन पाउने भएका छन् । ती दरबारहरुको मौलिकताको अधिकतम सुरक्षा हुने गरी पुनर्निर्माणको काम भइराखेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
काठमाडौंका ऐतिहासिक सिंहदरबार, केसरमहल, बालमन्दिर, बबरमहल लगायतका दरबारहरुको प्रबलीकरण विधिमार्फत पुनर्निर्माणको काम भइराखेको हो ।
२०७२ सालको भूकम्पबाट क्षति भएका सिंहदरबारको मूख्य प्रशासनिक भवन सहित काठमाडौंमा रहेका केसरमहल, बाल मन्दिर र बबरमहल दरबार पुनर्जीवन पाउने प्रक्रियामा छन् । ती दरबारहरुमा रहेका ऐतिहासिक पुरातात्विक सम्पत्तिहरुको मौलिकतामा कुनै क्षति नहुने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रबलीकरण विधिमार्फत पुनर्निर्माण गरिरहेको छ ।
प्राधिकरणका अनुसार सिंहदरबारको मूख्य प्रशासनिक भवनको पूर्वपट्टीको भागको सम्पूर्ण कार्य आगामी मंसिर महिनाभित्रमा सम्पन्न हुनेछ । यो भवनको पुनर्निर्माणको काम सम्पन्न भएपनि फायरफाइटिङ, इन्टेरियर, ल्याण्डस्केपिङ र सुरक्षा लागयतको काम भइराखेको प्राधिकरणका आयोजना उपनिर्देशक झप्परसिंह विश्वकर्माले बताए । यो भवनको कुल लागत भ्याट बाहेक ५५ करोड ९४ लाख रपैयाँ रहेको छ ।
सिंहदरबारको पश्चिमपट्टीको मोहडाको पुनर्निर्माणले पनि तिब्रता पाएको छ । यो भवन पनि प्रबलीकरण विधिमार्फत पुनर्निर्माण भइराखेको छ । ऐतिहासिक महत्वका वस्तुहरुलाई जस्ताको तस्तै जोगाउने गरी पुरानै निर्माण सामग्रीकोे प्रयोग गरी पुरानै विधिमार्फत काम भइराखेको विश्वकर्माले बताए । यो भवनको कुल लागत भ्याट बाहेक ५० करोड रुपैयाँ छ । हालसम्म ३५ प्रतिशत कार्यप्रगति भएको छ । यो भवन २०७८ भदौ ५ गते भित्रमा सम्पन्न हुनेछ ।
काठमाडौंको केसरमहल दरबारको पुनर्निर्माण हालसम्म २० प्रतिशत सम्पन्न भएको छ । भ्याटबाहेक ५९ करोड ५० लाख रुपैयाँ बजेटमा पुनर्निर्माण हुन लागेको यो दरबार २०७८ मंसिर १२ गतेभित्रमा सम्पन्न हुनुपर्नेछ ।
बबरमहल दरबारको निर्माण कार्यमा पनि २० प्रतिशत प्रगति भएको प्राधिकरणका आयोजना उपनिर्देशक विश्वकर्माले बताए । यो दरबारको कुल लागत भ्याटबाहेक ८६ करोड रुपैयाँ छ । यसको पुनर्निर्माण २०७८ असार मसान्तसम्ममा सम्पन्न भइसक्नु पर्नेछ ।
बालमन्दिरको पुनर्निर्माणमा पनि १५ प्रतिशत प्रगति भएको छ । भ्याटबाहेक कुल ५५ करोड रुपैयाँ लागतमा पुनर्निर्माण भइरहेको यो दरबार २०७८ मंसीर मसान्तसम्ममा सम्पन्न हुनेछ ।
पुरानै निर्माण सामग्रीको प्रयोग
चारवटै दरबारको पुनर्निर्माण हुँदा ऐतिहासिक पुरातात्विक कलाकृतिहरु नबिग्रने गरी पुरानै निर्माण सामग्रीको प्रयोग गरिएको छ । सुर्की, फलाम, चुना, काठ लगायतको प्रयोग गरेर पुरानै विधिबाट प्रबलीकरण गरिरहेको आयोजना उपनिर्देशक विश्वकर्माले बताए । पुनर्निर्माणको काम हुँदा राष्ट्रिय भवन निर्माण संहिताले मागेको सुरक्षा प्रत्याभुत हुने गरी प्रबलीकरणको काम भइरहेको पनि विश्वकर्माले बताए ।
पुरानै शैली, पुरानै निर्माण सामग्री, पुरानै पद्धति र पुरानै कलाकृतिलाई ‘जस्ताको तस्तै तर बलियो प्रशस्तै’ भन्ने सिद्धान्तबाट पुनर्निर्माणको काम भइरहेको उनले बताए ।
सिंहदरबारको पूर्वी मोहडाको पुनर्निर्माणमा भने छड र सिमेन्टको प्रयोग गरिएको छ । यसअघि २०३० सालमा आगलागीबाट क्षति भएपछि यो भवनको निर्माण सिमेन्ट र छडको प्रयोगबाट गरिएको थियो ।
दरबारहरुको पुनर्निर्माण तोकिएको समयमा सम्पन्न हुनेमा भने कोभिड–१९ का कारण चुनौति थपिएको छ । निर्माण सामग्रीको नियमति आपूर्ति श्रृङखलामा असर परेको र देश बाहिरबाट निर्माण सामग्री ल्याउन नसक्दा समस्या भएको प्राधिकरणका आयोजना उपनिर्देशक विशवकर्माको भनाई छ ।
कोभिडकै कारण दक्ष कालिगढहरुको समेत अभाव भएको छ । प्राप्त कालिगढहरुलाई अतिरिक्त काम गर्ने वातावरण तयार गरेर भएपनि समयमै सम्पन्न गर्ने योजनाका साथ काम गरिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ असोज २०७७, १६ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली सेनाद्वारा बाजुराको बडी मालिका मन्दिर पुनर्निर्माण सम्पन्न
भूकम्पले जीर्ण बालाजु पौडी पोखरी एक दशकपछि पुनर्निर्माण
अझै सम्पन्न भएन लमजुङ दरबारको पुनर्निर्माण
तमोर नदीस्थित लुमुघाट मोटरेबल पुल पुनर्निर्माण थालियो
बाढी पहिरोबाट क्षतिग्रस्त सडक र पुल पुनर्निर्माण गर्न २५ अर्ब लाग्ने