बाजुरा । सुदूरपश्चिमको बाजुरा जिल्लामा अवस्थित ऐतिहासिक, पुरातात्त्विक र धार्मिक महत्त्वको बडी मालिका मन्दिरको पुनर्निर्माण कार्य नेपाली सेनाले सम्पन्न गरेको छ। समुद्री सतहबाट करिब ४,२२० मिटर उचाइमा रहेको मल्लागिरी पर्वतमा अवस्थित यो मन्दिर नेपालको आस्थाको प्रमुख केन्द्र मानिन्छ।
नेपाली सेनाले मन्दिरको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यसहित २०८१ चैत २८ गतेबाट सुरु गरेको पुनर्निर्माण कार्य २०८२ असार २३ गते सम्पन्न भएको हो। पुनर्निर्माणको अवधिमा पनि मन्दिर श्रद्धालु भक्तजनका लागि निरन्तर खुला राखिएको थियो।
प्राचीन स्मारक संरक्षण ऐन, २०१३ (पाँचौँ संशोधनसहित) को दायराभित्र रहेर पुरातत्त्व विभागको स्वीकृत ड्रइङ डिजाइन र प्राविधिक सहयोगमा परम्परागत निर्माण सामग्रीको प्रयोग गरी मन्दिरको मौलिक स्वरूप कायम राख्दै पुनर्निर्माण गरिएको नेपाली सेनाले प्रशासनलाई जानकारी गराएको छ । त्रिवेणी नगरपालिकाको समन्वयमा भक्तपुर र ललितपुरका दक्ष कालिगडहरूले यो कार्यमा महत्त्वपूर्ण योगदान पुर्याएका छन्।
रक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्त्व विभाग, त्रिवेणी नगरपालिका, बडी मालिका मन्दिरका पुजारी नेत्र प्रसाद उपाध्याय र स्थानीयवासीको सहकार्यमा विकट भौगोलिक अवस्था, प्रतिकूल मौसम र निर्माण सामग्री व्यवस्थापनका चुनौतीका बाबजुद करिब दुई महिनामा यो कार्य सम्पन्न भएको सैनिक जनसम्पर्क निर्देशनालयले प्रशासनलाई जानकारी गराएको छ ।
पुनर्निर्माणले बडी मालिका मन्दिरको ऐतिहासिक र धार्मिक महत्त्वलाई संरक्षण गर्नुका साथै पर्यटकीय सम्भावनालाई समेत वृद्धि गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ असार २०८२, १२ : २२
लेखकबाट थप