निराशाजनक छ खसीबोकाको कारोबार

सफल खबर संवाददाता

मंगलबार, १३ असोज २०७७, १७ : ३३
निराशाजनक छ खसीबोकाको कारोबार

चितवन । ‘घोर्ले खसी’ नढालेसम्म दशैंको रौनक भित्रिँदैन । दसैँमा सानो, ठूलो, मझौला, जस्तोसुकै होस् खसी त ढाल्नैपर्छ । यही मानसिकताले विगतका वर्षहरुमा खसीको कारोबार उत्कर्षमा पुग्थ्यो, तर अहिले कोरोना कहरका कारण खसीबोकाको कारोबार निराशाजनक छ । 

विगतका वर्षहरुमा चितवनका खसीबोका व्यवसायीहरु यतिबेला खसी खोज्दै तराईका विभिन्न जिल्लादेखि भारतसम्म पुग्थे, यसपटक घरमै बसिरहेका छन् । दसैँको कुनै रौनक छैन, खसीबोका कारोबारमा कुनै उत्साह छैन । 

‘विगतमा दसैँमा खसी किन्न एक महिनादेखि लाग्थ्यो, तर अहिले व्यवसायीहरु घर छोडेका छैनन्, कारोबार छैन, कति बिक्छ, त्यो पनि थाहा छैन, अनि कहाँ जानु ?’ भरतपुर १०, हाकिमचोकका खसीबोका व्यवसायी उद्धब तिमिल्सिनाले भने, ‘दसैँ त मुखमा आइसक्यो, व्यवसायीलाई दसा लाग्योजस्तो भइरहेको छ ।’ 

तिमिल्सिना खसीबोका मासु व्यवसायी संघ चितवनका अध्यक्षसमेत हुन् । उनका अनुसार यसपटक खसीबोका चितवनकै उत्पादनले पुग्छ । उनले भने, ‘विगतमा खसी खोज्न भारतसम्म गइयो, अहिले जानपर्ने कुनै लक्षण छैन, कोरानाका कारण विक्री नै छैन ।’ 

यसवर्षको दसैँ सुरु हुन अब २० दिन पनि छैन । गत वर्षका दसैँहरुमा यतिबेला खसीबोका किनेर जोहो गरिसकेका हुन्थे । तर यसपटक दसैँमा खसी किन्नेहरुको कुनै माहोल नबनेको व्यवसायीहरु बताउँछन् । 

अध्यक्ष तिमिल्सिनाले भने, ‘यसवर्ष कोरोनादेखि बाढीपहिरोसम्मले सताएको छ, खुसी भएर दसैँ मनाउने वातावरण छैन, देशविदेशबाट पाहुनाहरु घर फर्केने अवस्था पनि यसपटक निकै कम हुने संकेत देखिन्छ, जसका कारण दसैँमा खसीबोका अत्यन्तै कम बिक्ने अनुमान गरेका छौँ ।’

खसीबोका मासु व्यवसायी संघ चितवनका अनुसार गत वर्ष दसैँको घटस्थापनादेखि पूर्णिमासम्म (१५ दिन) चितवन जिल्लामा १५ हजार खसीबोका खपत भएको थियो । यो तथ्याङ्कमा घरमा पालेर घरमै खपत गरिएका खसीबोका गणना गरिएको थिएन ।

यस वर्षको दसैँमा कति बिक्लान् चितवनमा खसीबोका ? व्यवसायीहरु आधा पनि नबिक्ने निचोडमा पुगेका छन् । अध्यक्ष तिमिल्सिनाले भने, ‘मलाई चितवनमा घरको उत्पादन छोडेर यसवर्ष मुस्किलले दुई हजार खसीबोका बिक्न पनि गाह्रो देखेको छु ।’ 

गत वर्ष चितवनमा झन्डै करोड बढीको खसीबोकाको कारोबार भएको थियो । यसवर्ष ५० लाखको कारोबार हुने लक्षण पनि नभएको व्यवसायीहरुको भनाइ छ । यसवर्ष कोरोना कहरका कारण चितवनका खसीबोका मासु पसलेहरुले च्याङ्ग्रा ल्याउने योजनासमेत बनाएका छैनन् । आधामात्र बिके पनि ठूलो उपलब्धि भन्नुपर्ने अवस्थामा व्यवसायीहरु पुगेका छन् । 

खसीबोका व्यवसायी संघका महासचिव गणेशप्रसाद कँडेलले दसैँको माहोल यस वर्ष नदेखिएको बताए । उनले भने, ‘मासु खाएर फुरुङ्ग हुने समय छैन, त्यसकारण पनि खसीबोका ज्यादै कम बिक्ने हामीले अनुमान गरेका छौँ ।’

चितवनमा यतिबेला जिउँदो खसी प्रतिकिलो ६०० रुपैयाँ र मासु ११ सय रुपैयाँ किलो भएको बताए । खसीबोका मासु व्यवसायी संघले खसीबोका कति ल्याउने भन्ने विषयमा हालसम्म कुनै योजना बनाएको छैन । अध्यक्ष तिमिल्सिनाले भने, ‘कतै जाने लक्षण छैन, कति खसीबोका बिक्छ थाहा छैन, चितवनको उत्पादनले पुग्छ भन्ने हाम्रो विश्वास छ, मुस्किलले चार पाँच हजार खसीबोका विक्यो भने पनि चितवनको उत्पादनले सजिलै पुग्छ ।’

भरतपुर र नारायणगढका व्यवसायीहरुले जिल्लाका पहाडी क्षेत्र कविलास, शक्तिखोर, सिद्धि, काउले, कोराकका सहकारीबाट खसी ल्याउने योजना बनाइरहेका छन् । पश्चिम चितवनमा खसीपालन गर्दै आएका किसान भेषराज सुवेदी कति खसीबोका यसपटक बिक्ने हो भन्ने विषय अन्यौल रहेको बताउँछन् । 

प्रतिक्रिया दिनुहोस