एसिड छ्याप्नेमाथि अब कडा कारवाही, छैन सजाय छुटको व्यवस्था

सफल खबर संवाददाता

सोमबार, १२ असोज २०७७, १५ : ४८
एसिड छ्याप्नेमाथि अब कडा कारवाही, छैन सजाय छुटको व्यवस्था

सांकेतिक तस्विर

काठमाडौँ । महिला वा पुरुष जसलाई जसले एसिड छ्यापेपनि अब नेपालमा अरुको शरीरमाथि एसिड छ्याप्नेलाई कडा कारवाही गरिने भएको छ । यस्तो अपराधमा कैद भुक्तान गर्नेलाई सजाय छुट वा माफीको व्यवस्था गरिएको छैन ।

तेजाब आक्रमणका दोषीहरुलाई कडा कारवाही गर्ने व्यवस्थासहितको कानूनी व्यवस्था गर्न सरकारले सोमबार अध्यादेश जारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७ र फौजदारी कसूर तथा फौजदारी कार्याविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश जारी गरेकी हुन् । 

तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७ नयाँ हो भने फौजदारी कसूर तथा फैजारी कार्यविधि सम्बन्धि ऐन संशोधन गर्ने अध्यादेश हो । गत बिहीबारको मन्त्रिपरिषदको बैठकले अध्यादेश पारित गर्दै जारी गर्न राष्ट्रपति समक्ष पठाएको थियो । 

कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले एसिड आक्रमणकारीलाई कुनै पनि अवस्थामा छुट नहुने व्यवस्था गरिएको बताइन् । कानूनमा आक्रमणकारीले २० वर्ष सजाय तोकिएकोमा २० वर्ष नै सजाय काट्नुपर्ने उनले स्पष्ट पारिन् ।

उनले भनिन्, ‘कुनै व्यक्तिको शरीरमा एक, दुई थोपा मात्रै एसिड परेपनि कडा कारवाही हुन्छ । दण्ड सजाय हुन्छ । कैद सजायको व्यवस्था गरिएको छ । हामीले के सम्झिनुपर्छ भने नेपालमा भएका जतिपनि दण्डसजायको कुराहरु छन्, तीमध्ये तेजाब आक्रमण गर्नेलाई छुट हुने प्रावधान छैन । २० वर्ष कैद तोकिएको छ भने २० वर्ष नै जेलमा बस्नुपर्छ ।’

कसैले एक थोपामात्रै एसिड छ्यापेपनि कडा कारवाही हुने उनले बताइन् । कुनै महिला वा पुरुषमाथि हुने तेजाब आक्रमणलाई न्यूनीकरण गर्न कानून ल्याइएको उल्लेख गर्दै उनले तेजाब आक्रमण गरेको अवस्थामा जहिलेसुकै उजुरी दिन सक्ने प्रावधान रहेको बताइन् । एसिड आक्रमणमा परेपछि जुनसुकै मितिमा उजुरी दिएपनि त्यो मुद्दालाई प्राथमिकताका आधारमा सुनुवाई गर्ने व्यवस्था गरिएको मन्त्री तुम्बाहाङ्फेले बताइन् । 

बाहिरबाट तेजाब ल्याउन कडा व्यवस्था गरिएको र तेजाब आक्रमणको सन्दर्भमा मुद्दा परेपछि फिर्ता नहुने प्रावधान राखिएको उनले बताइन् ।
उनले भनिन्, ‘त्यो मुद्दा फिर्ता लिने प्रावधान छैन । माफीमिनाहा पनि हुँदैन । कैद कट्टा पनि हुँदैन । जति सजाय तोकियो त्यति नै बस्नुपर्छ जेलमा ।’

अभियन्ता उज्वल थापाले तेजाब आक्रमणलाई गम्भीर अपराधका रुपमा व्याख्या गर्दै सरकारले जारी गरेको अध्यादेश दक्षिण एसियामा गर्व गर्न लायक रहेको बताए । यति कडा रुपमा कुनै पनि सरकारले कानून ल्याएर बन्देज गर्ने प्रयास नगरेको उनको भनाइ छ । उनले भने, ‘सरकारी तथ्याङ्क अनुसार एसिड आक्रमणका १७ घटनामा १९ जना पीडित हुँदा यति कडा रुपमा कुनै पनि सरकारले यति कडा कानून ल्याएर बन्देज गर्ने प्रयास गरेको छैन । त्यसमा म नेपाल सरकारप्रति कृतज्ञ छु ।’

यस्तो छ सजाय र जरिवाना

तेजाबसम्बन्धी कसुरमा २० वर्षसम्म सजाय र दश लाख रुपैयाँसम्म जरिवाना तोकिएको छ । आक्रमणकारीको सम्पत्ति रोक्का गरेर पीडितलाई तुरुन्तै क्षतिपूर्ति भराइने व्यवस्था पनि गरिएको छ । तेजाब छ्यापेर पीडितको अनुहार, आँखा, नाक, कान, घाँटी तथा संवेदनशील अङ्गमा क्षति पु¥याइएमा २० वर्षसम्म कैद सजाय निर्धारण गरिएको छ । शरीरका अन्य अङ्गमा तेजाबमात्रै परे १० वर्ष सजाय भुक्तान गर्नुपर्ने छ । तेजाब बिक्रीका लागि जिल्ला प्रशासन कार्यालयबाट लाइसेन्स लिएरमात्र बिक्री वितरण गर्न पाइने र वर्षैपिच्छे लाइसेन्स, बिक्री इजाजत अद्यावधिक, नवीकरण गर्नुपर्ने नयाँ कानूनमा व्यवस्था छ । 

यसैबीच, सोमबार नै राष्ट्रपति भण्डारीले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस