तयारीबिना ल्याउँदा थन्किए रेल

पत्रपत्रिकाबाट

शनिबार, १० असोज २०७७, ०८ : ०१
तयारीबिना ल्याउँदा थन्किए रेल

काठमाडौँ, जनकपुर । जनकपुरको रेलवे प्लेटफर्ममा असोज २ गते सर्वसाधारणको भीड थियो । भारतबाट आउँदै गरेको रेल हेर्न उनीहरू बिहान सबेरैदेखि जम्मा भएका थिए । दिउँसो दुइटा रेल हर्न बजाउँदै आउँदा सबै दंग परे । ताली बजाएर स्वागत गरे । रेलसँग फोटो खिच्न तँछाडमछाड चल्यो । अब नेपालको आफ्नै रेल नियमित चल्ने भयो भनेर मुलुकभर खुसी सञ्चार भयो । तर रेल त्यस दिनदेखि नै थन्किए ।

तामझामसाथ ल्याइएका रेल नेपाल–भारत सीमा क्षेत्रको इनर्वा स्टेसनमा पालले ढाकेर राखिएका छन् । रेल कहिलेदेखि चल्छन् भन्ने टुंगो पनि छैन । कानुन र कर्मचारी नहुँदा थन्क्याउनुपरेको नेपाल रेलवे कम्पनीले जनाएको छ । ‘कोभिड–१९ को जोखिम पनि छ,’ कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले भने । उनले नेपाली र भारतीय कर्मचारी भर्ना प्रक्रिया सुरु भइसकेको र एक महिनाभित्र कर्मचारी टुंगो लगाइसक्ने जानकारी दिए । कानुन र कर्मचारीको व्यवस्था भए पनि कोभिड–१९ को जोखिम कायमै रहे रेल सञ्चालन मिति पछि सर्न सक्ने भट्टराईले बताए ।

रेलवे कम्पनीले गत फागुन ९ गते नै करारमा नियुक्तिका लागि प्राविधिक कर्मचारीको माग गर्दै विज्ञापन खुलाएको थियो । १५ दिन समय दिएर विज्ञापन खुलाइएकामा नेपालबाट एक जनाको पनि आवेदन परेन । त्यसपछि भारतबाट कर्मचारी ल्याउन लागिएको छ । कर्मचारी बेलैमा व्यवस्था गरिएको भए अहिले स्वास्थ्य सावधानी अपनाएर रेल चलाउन सकिन्थ्यो । अहिले लामो दूरीका सार्वजनिक यातायात र हवाई सेवा स्वास्थ्य मापदण्ड पालना गरेरै चलाइएका छन् ।

रेल सञ्चालन अनिश्चित भएपछि तयार रेल नेपालमै राख्दा असुरक्षित हुने भन्दै भारतको जयनगरस्थित नेपालको स्टेसनमा लगिएको थियो तर पछि पुनः फर्काएर इनर्वा स्टेसनमा राखिएको हो । त्यहाँ नजिकै सशस्त्रको बेस क्याम्प छ । नेपाल प्रहरीले पनि रेलको सुरक्षा गरिरहेको रेलवे कम्पनीले जनाएको छ । ‘कोंकण रेलवे कर्पोरेसनले रेल बनाएर दिएको हो,’ कम्पनीका महाप्रबन्धक भट्टराईले भने, ‘कोभिडको समस्या रहुन्जेल जयनगरमै रेल राख्ने कुरा थियो । तर हाम्रो सम्पत्तिको कति ख्याल होलारनहोला भनेर फर्काएका हौं ।’

समय–समयमा रेलको प्राविधिक जाँच गर्नुपर्छ । त्यसका लागि नेपालसँग जनशक्ति नहुँदासम्म कोंकणले नै जाँच गर्ने सम्झौता भएको बताए । रेलवे कम्पनीका जनकपुर साइटका इन्जिनियर विनोद ओझाका अनुसार रेलको रेखदेखका लागि भारतीय रेल निर्माता कम्पनी कोंकण रेलवेका दुई जना प्राविधिकलाई त्यहीं राखिएको छ । रेल सञ्चालनका लागि कानुनले भने नछेक्ने महाप्रबन्धक भट्टराईको भनाइ छ ।