‘हावासँगै बरालिने परिपाटी लोकतन्त्र होईन’ : प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

शनिबार, ०३ असोज २०७७, ११ : १३
‘हावासँगै बरालिने परिपाटी लोकतन्त्र होईन’ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो वर्ष गरिएका कतिपय कबुल कोरोना महामारीका कारण पुरा गर्न नसकिएको बताउनु भएको छ ।  संविधान दिवसको अवसरमा शनिबार टुडिखेलबाट देशबासीको नाममा विशेष सम्बोधन गर्दै उहाले गत बर्ष यहि दिन सरकार  सञ्चालनको १८ महिनामा भएका उपलब्धिको संक्षिप्त विवरण राख्दा कबुल गरेको केही महत्वपुर्ण कामहरु कोरोनाको कारण पुरा हुन नसकेको बताउनु भयो ।

उहाले भन्नु भयो यदि कोरोना महामारी हुँदैनथ्यो भने आज गत बर्ष कबुल गरिएका कतिपय काम सम्पन्न भएको विवरणको चर्चा हुनेथियो । केही राष्ट्रिय गौरवका आयोजनाहरु उद्घाटन हुने थिए । भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हुने थियो । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट उर्जा उत्पादन शुरु भएको हुने थियो । मेलम्चीको पानी आउन थालेको हुने थियो । रानीपोखरीको पुनर्निर्माण सम्पन्न भइसकेको हुने थियो । धरहरा निर्माणको कार्य सकिने थियो । निजी आवास पुनर्निर्माणको काम पूर्ण रुपमै भइसकेको हुने थियो ।

विगत तीन बर्षदेखि अर्थतन्त्रले उच्च आर्थिक बृद्धिदरको लय समातेको भएपनि कोभिड–१९ का कारणले नेपालको अर्थतन्त्रमा नकारात्मक असर पारेको प्रधानमन्त्रीले बताउनु भयो ।  उहाँले सरकारले कोभिड–१९ बाट प्रभावित उद्योग÷व्यवसायलाई सहज सञ्चालनको वातावरण बनाउन बजेट र मौद्रिक नीतिमार्फत आर्थिक पुनरुत्थानका प्रस्तावहरु अघि सारेको बताउँदै कर सहुलियत देखि बैक ब्याज एवं विद्युत महसूल छुट र श्रमिकको सामाजिक सुरक्षा कोषमा सरकारका तर्फबाट रकम योगदान गर्नेसम्मका कामहरु भएको बताउनु भयो ।  

यस्तै अर्थतन्त्रलाई पुनरुत्थान गर्नकृषि, उर्जा, पर्यटन तथा घरेलु, साना एवम् मझौला उद्योग समेतलाई समेट्नेगरी पुनरकर्जाकोषको व्यवस्था गरिएको पनि प्रधानमन्त्रीको भनाइृ छ । लकडाउनमा पनि विकास निर्माणलाई यथासक्य निरन्तरता दिइएको र  यस अवधिमा १७८ किमी सडकलाई कालोपत्रे हुनाका साथै  ८९ मोटरेवल पुल निर्माण भएको र भूकम्पबाट भत्किएका ५३ हजारभन्दा बढी निजी आवास पुनर्निर्माण भएको उहाले बताउनु भयो । निशान छाप संशोधन मार्फत संविधानले सर्वस्वीकार्यता हासिल गरेको समेत उहाँको भनाई छ । 

संसदले सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सन्दर्भमा सर्वसम्मत निर्णय गरी  सिङ्गो राष्ट्र एक भएको त्यस दिनलाई इतिहासमा बिरलै हुने अविस्मरणीय दिनका रुपमा स्मरण समेत गर्नु भयो ।  प्रधानमन्त्री ओलीले लोकतन्त्रमा असहमत स्वरहरुले स्थान पाउँने तर हल्लाबाट प्रभावित हुने र जता हावा बग्छ त्यतै बरालिने परिपाटी लोकतन्त्र नभएको जिकिर गर्नुभयो ।  
 

प्रतिक्रिया दिनुहोस