आज देखि मलमास शुरु, के गर्नु हुन्छ, के गर्नु हुँदैन ?

सफल खबर संवाददाता

शुक्रबार, ०२ असोज २०७७, १० : ०२
आज देखि मलमास शुरु, के गर्नु हुन्छ, के गर्नु हुँदैन ?

काठमाडौं । हिन्दू परम्परानुसार यो वर्ष आज देखि मलमास शुरु भएको छ । मलमासको अवधिमा शुभ कार्य गर्न नहुने विज्ञहरु बताउदैं आएका छन् ।  बिहीबार अपरान्ह ४ः५९ बजेदेखि शुरु भएको मलमास असोज ३० गते राति १ः५३ बजेसम्म रहने छ । मलमासको अवधिमा कुनै पनि शुभ कामसँगै नयाँ कार्यको थालनी गर्न नहुने शास्त्रहरुमा उल्लेख रहेको धर्मशास्त्रीहरुको भनाई छ । 

धर्मशास्त्रमा मलमास र क्षयमास जस्ता समयमा शुभ कार्य गर्न नहुने उल्लेख छ । मलमासमा विवाह, व्रतबन्ध, पक्षअनुष्ठान, पुराणवाचन जस्ता कार्य गर्न वर्जित हुन्छ ।  ‘नित्य कर्महरु भने घरमा गरिने नियमित पूजापाठ, मन्दिर दर्शन, तिथि, बार या नक्षत्र मिलेर गर्ने योगहरु गर्न सकिन्छ ।  वर्षमा सौर र चान्द्रमास हुन्छन्। दुवैलाई समन्वय गर्न ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा मलमास वा अधिकमास आउँछ। एउटा औँसीदेखि अर्को औँसीसम्म सङ्क्रान्ति छैन भने त्यो महिनालाई मलमास भनिन्छ।

महिनामा दुई वटा सङ्क्रान्ति पर्‍यो भने क्षयमास भनिन्छ। ज्योतिषका विद्वान् भास्कराचार्यले आफ्नो ग्रन्थ सिद्धान्त शिरोमणिमा मलमास र क्षयमासको स्पष्ट परिभाषा दिएका छन् ।क्षयमास कात्तिक, मङ्सिर र पुसमा पर्ने गरेको छ। यसमा पनि बढीजसो मङ्सिर र पुसमा क्षयमास पर्छ। कात्तिक महिनामा भने क्षय र अधिकमास दुवै पर्न सक्छ। माघ महिनामा भने क्षय र अधिकमास दुवै पर्दैन। बाँकी आठ महिनामा अधिकमास पर्न सक्छ।

क्षयमास हुने वर्ष दुई अधिकमास नियमितसमेत पर्छन्। यी अधिकमास क्षयभन्दा तीन महिना अगाडि वा पछाडि हुन्छन्। क्षयभन्दा पहिले हुने अधिकमासलाई ‘संसर्प’ र पछि हुने अधिकमासलाई ‘अंहस्पति’ भनिन्छ। सबै मासको देवता हुन्छन्।

मलमासमा के गर्ने, के नगर्ने ?

मलमास अर्थात् अधिकमासमा नित्य कर्म पूजा, पाठ, जप, ध्यान गर्न हुन्छ। नित्य बसिरहेको व्रत गर्नुहुने विभिन्न शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए। पहिल्यैदेखि गर्दै आएको व्रतलाई नियमितता दिन हुने तर नयाँ व्रतको शुरुआत् गर्नु नहुने नियम छ।

मलमासको समयमा महादान, माङ्गलिक कार्य अर्थात विवाह, व्रतबन्ध, गृहनिर्माण, गृह प्रवेशजस्ता गर्नु हुँदैन। यसैगरी गर्भाधान गर्नु हुँदैन, पहिले नै गर्भ रहेको भए दोष लाग्दैन। नवविवाहित श्रीमान् श्रीमतीले मलमासलाई छल्नु पर्छ भन्ने परम्परा पनि गर्भाधान गर्नु हुँदैन भन्ने मान्यतामै आधारित रहेको धर्मशास्त्रविद्को भनाइ छ। बृहस्पति र शुक्र अस्त भएका बेला गर्न नहुने जति कर्म मलमासमा पनि गर्नुहुँदैन।

यो महिनामा भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त गरिने विभिन्न धर्मग्रन्थमा उल्लेख गरिएको छ। सुनको जलप लगाएको गरुडको कलात्मक प्रवेशद्वार मच्छेनारायण मन्दिरमा छ।  माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो चार हातमा शङ्ख, चक्र, गधा र पद्म लिएको मूर्ति देख्न सकिन्छ। भगवान् विष्णुले दश अवतार लिँदा सबभन्दा पहिले मत्स्य शरीर धारण गरे। मत्स्यरुपी भगवान्ले प्रलयकालमा समुद्रमा डुङ्गाको काम गरी वेदलाई सुरक्षा गर्नुभएको पुराणमा उल्लेख छ।

यस वर्ष पितृपक्ष सकिएर दुर्गापक्ष शुरु हुने औँसीदेखि नै मलमास लाग्ने भएकाले नेपालीको महान् चाड बडादशैँ एवं तिहार एक महिना ढिला हुने भएको छ। असोज ३० गते मलमास सकिएपछि कात्तिक १ गते घटस्थापना गरी दशैँ शुरु हुनेछ। मलमासका कारण दशैँपछिका सबै चाडवाड ढिला हुनेछन्। १९ वर्षपछि  असोज महिनामै मलमास परेको छ।

प्रतिक्रिया दिनुहोस