रुसले भारतलाई १० करोड डोज कोभिड–१९ को खोप दिने घोषणा

एजेन्सी

बुधबार, ३१ भदौ २०७७, २१ : १०
रुसले भारतलाई १० करोड डोज कोभिड–१९ को खोप दिने घोषणा

काठमाडौं । रुसमा कोरोनाभाइरस विरुद्धको खोप निर्माता रसियाली प्रत्यक्ष लगानी कोष (आरडिआइएफ) ले भारतको डा रेड्डी लेबोरेटोरीजलाई दश करोड डोज खोप उपलब्ध गराउने बुधबार घोषणा गरेको छ । कोषले रुसमा स्पुतनिक भी नामको खोप विकास गरेको छ । 

कोषद्वारा बुधबार प्रकाशित विज्ञप्तिमा भारतमा स्पुतनिक भी खोपको क्लिनिकल परीक्षण र खोप वितरणका लागि कोष र विश्वविख्यात औषधि उत्पादक कम्पनी डा रेड्डीबीच सम्झौता भएको उल्लेख छ । कोषले भारतीय नियामक निकायबाट अनुमति पाएलगत्तै स्पुतनिक खोपको आपूर्ति गरिने बताएको छ । 

डा रेड्डीका सहअध्यक्ष एवं व्यवस्थापन निर्देशक जीभी प्रसादले रसियाली खोपका सन्दर्भमा सहकार्य गर्न पाएकामा खुशी लागेको बताउनुभएको छ । उहाँले भारतीय नियामक निकायहरुका आवश्यकतालाई दृष्टि गरी तेस्रो चरणको परीक्षण गरिने बताउँदै भारतमा कोभिड–१९ विरुद्ध लड्न स्पुतनिक भी खोप विश्वासिलो विकल्प हुने विश्वास व्यक्त गर्नुभयो ।

रसियाली कोषका प्रमुख कार्यकारी किरिल डिमिट्रिभले भारतीय औषधि उत्पादक कम्पनीसँग सहकार्य गर्न पाएकामा खुशी लागेको बताउनुभयो । डा रेड्डीले विगत २५ वर्षदेखि रुसमा औषधि उत्पादनका कार्यमा निकै प्रतिष्ठा कमाएको कम्पनी रहेको बताउँदै किरिलले यो भारतमै पनि अग्रणी औषधि निर्माता कम्पनी रहेको जानकारी दिनुभयो । 

कोरोनाभाइरसका कारण भारत अहिले सर्वाधिक असर परेको मुलुकका रुपमा देखिएको छ । यहाँ कोरोना संक्रमितको संख्या ५० लाख नाघिसकेको छ । 

रुसको स्वास्थ्य मन्त्रालयले गत असष्ट ११ मा स्पुतनिक भी लाई औपचारिक रुपमा मान्यता दिएको छ ।