पन्ध्र दिनभित्रै मन्त्रिपरिषद पुनर्गठन : कोको हट्लान् ? कोको थपिएलान् ?

सफल खबर संवाददाता

बुधबार, ३१ भदौ २०७७, १४ : ०९
पन्ध्र दिनभित्रै मन्त्रिपरिषद पुनर्गठन : कोको हट्लान् ? कोको थपिएलान् ?

फाइल फोटो

काठमाडौँ । असोज दोस्रो साताभित्रै मन्त्रिपरिषद पुनर्गठन गर्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले तयारी सुरु गरिसकेका छन् । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद हेरफेरसम्बन्धी आफ्नो बटमलाइन अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सुनाइसकेका छन् ।

स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अबको क्याबिनेटमा सामेल नगरिने र गृहमन्त्री रामबहादुर थापा र रक्षामन्त्री ईश्वर पोखरेललाई नहटाउने भनी अध्यक्ष प्रचण्डलाई खुलस्त भनेका छन् । नहटाइने भनिएका यी दुई मन्त्रीको पोर्टफोलियो के हुन्छ भन्नेचाहिँ टुंगो लागिसकेको छैन ।

मन्त्रीमध्ये सातदेखि १० जनासम्मलाई बिदा गर्न प्रधानमन्त्री ओली तयार देखिएका छन् । हेरफेर गर्दा तीनजना राज्यमन्त्री हटाउने र केही मन्त्रालय फुटाउने सम्भावना पनि रहेको स्रोतको दाबी छ । संविधानले २५ जनाभन्दा बढी मन्त्री बनाउन नमिल्ने किटान गरेका कारण तीन राज्यमन्त्रीको सट्टा तीन मन्त्रालय अलगअलग पारेर तीनजना क्याबिनेट मन्त्री पठाउने तयारीमा बालुवाटार रहेको छ । 

अहिले २२ मन्त्रालय अस्तित्वमा छन् । पहिला कृषिबाट पशुपन्छी मन्त्रालय अलग पारियो, पछि फेरि गाभियो । अलग रहेको सहकारी तथा गरिवी निवारणलाई भूमिव्यवस्था मन्त्रालयमा गाभियो । यही सरकारको अघिल्लो पुनर्गठनअघिसम्म पनि शहरी विकास अलग्गै मन्त्रालय थियो । 

अर्थ र सञ्चार, शहरी विकास गरी तीन मन्त्रालयमा अहिले नेतृत्व छैन । त्यहाँ नयाँ मन्त्री तोक्दा उद्योग, वाणिज्य तथा आपूर्तिमध्ये आपूर्तिलाई अलग गरेर एक जनालाई व्यवस्थापन गर्न सकिन्छ । पहिला राजेन्द्र महतो अलग्गै आपूर्ति मन्त्री रहेकै हुन् । पहिला जलस्रोतबाट सिँचाई र ऊर्जा बनाइएजस्तो फेरि सिँचाईलाई अलग गरिने सम्भावना छ । यसरी २५ जनाभन्दा बढी मन्त्री नहुने तयारीमा बालुवाटार जुटेको छ ।

नयाँको हकमा कसलाई ल्याउने र बाँकी कसलाई हटाउने भन्नेमा कुनै रिजर्भेसन नभएको, आफू यसमा खुला भएको प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डलाई भनिसकेको स्रोत बताउँछ । त्यसैले होला केही दिनयता मन्त्रीका आकांक्षी सांसदहरुको घरदैलो शुरु भएको छ । कुन पूर्वपार्टी, कुन पूर्वसमूहले कति मन्त्रालय पाउने भन्नेजस्ता प्राविधिक कुरा भने अझै सल्टिएका छैनन् ।

नेकपाभित्र चलेको चर्चा अनुसार, स्थायी कमिटी सदस्यमध्ये प्रतिनिधिसभामा निर्वाचितमध्येबाट अब मन्त्री बन्न बाँकी देवेन्द्र पौडेल (सुनील) मात्रै हुन् । बाबुरामको नयाँशक्तिबाट विद्रोह गरेर नेकपामा फर्किएका उनी शायद अब मन्त्री बन्दैछन् । यस्तै, पम्फा भुषालको पनि सम्भावना छ । एमसिसीको विरोधी र कडिकडाउ बोल्ने स्वभाव तथा उपप्रधानमन्त्री रहिसकेको मर्यादाक्रमको कारण भीम रावलको सम्भावना छैन । 

प्रदीप ज्ञवाली अर्थमा जान इच्छुक देखिएको बताइन्छ । प्रवक्ता नारायणकाजी मन्त्री बनेमा गिरिराजमणि पोखरेलले शिक्षाबाट बहिगर्मित हुनुपर्नेछ । शुरुमा मन्त्री बनेका सबैलाई हटाइने मापदण्ड बन्यो भने घनश्याम, योगेश, पार्वत र शिवमायाबाहेक सबैजना बिदा हुनुपर्ने हुन्छ तर प्रधानमन्त्री स्वयंले गृहमन्त्री थापा र रक्षामन्त्री पोखरेलको हकमा अडान लिएरै त्यो सम्भावनालाई धमिलो बनाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस