कृष्णबहादुर महरालाई पार्टी जिम्मेवारी दिदै सत्तारुढ दल नेकपा

सफल खबर संवाददाता

बुधबार, ३१ भदौ २०७७, ०९ : ०३
कृष्णबहादुर महरालाई पार्टी जिम्मेवारी दिदै सत्तारुढ दल नेकपा

काठमाडौं । पूर्व सभामुख तथा नेकपाका नेता कृष्णबहादुर महरा माथीको पार्टी कारवाही फुकुवा हुने भएको छ । गत वर्ष असोजमा महरामाथी संसदकै एक कर्मचारीमाथी यौन दुब्र्यवहार भएको आरोप लागेपछि उनीमाथी सत्तारुढ दलले सभामुख पदबाट राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको थियो । 

सभामुख भएपछि तत्कालिन अवस्थामा महरा कुनै पार्टीको सदस्य थिएनन् । उनले पार्टी सदस्यबाट राजीनामा दिएका थिए । सभामुख निश्पक्ष हुनुपर्ने मान्यताका आधारमा जो सभामुख भएपनि पाटीबाट राजीनामा दिएर जानुपर्ने हुन्छ । महराले पनि तत्कालिन एमाले माओवादी केन्द्रका बिचमा पार्टी एकता नहुदैं सभामुख बनेका कारण तत्कालिन माओवादी केन्दबाट राजीनामा दिएका थिए  ।  महराले पार्टीले गरेको आग्रहका कारण पदबाट राजीनामा दिए । केही समय हिरासत पनि बसे, जेलमा पनि पूर्पक्षमा बसे ।

तर अहिले उनीमाथीको आरोपमा अदालतले निर्दाेष रहेको भन्दै सफाई समेत दिइसकेको छ । यो सँगै उनको निलम्बित संसदको सदस्य पद उनलाई मिलीसकेको छ । तर महराले सफाई पाएसँगै उनको राजनीतिक पार्टी र जिम्मेवारीका विषय के हुने ? केही समय देखि यो विषयले चर्चा पाईरहेको छ । पार्टीले उनीमाथी औपचारिक कारवाही नगरेपनि नैतिक रुपमा उनी कारवाही भएका नेताका रुपमा छन् ।  तत्कालिन माओवादीमा महरा सिनियर नेताहरुमध्येकै एक थिए । वर्षमान पुन, जर्नादन शर्मा, देव गुरुड लगायतका नेताहरु भन्दा महरा सिनियर नै थिए तत्कालिन माओवादीको जिम्मेवारीमा ।

तर अब सभामुखको जिम्मेवारीमा नरहेका कारण उनको पदीय जिम्मेवारी के हुने ? उनले आफ्नो जिम्मेवारीका विषयमा पटक पटक अध्यक्ष प्रचण्डसँग भेट गरेर जिज्ञासा गरिरहेका छन् ।  नेकपामा अहिले उनी केन्द्रीय कमिटिको कुनै पनि जिम्मेवारीमा छैनन् । स्थायी समिति सदस्य रहेका अग्नि सापकोटा भने अहिले सभामुख छन् । सभामुख भएपछि सापकोटाले उक्त जिम्मेवारीबाट राजीनामा दिईसकेका छन् । उक्त पद अहिले पनि रिक्त छ । तत्कालिन एमाले माओवादी एकता हुँदा केन्द्रीय समितिमा २४१ एमाले तर्फका र २ सय जना माओवादी तर्फका नेताहरु सम्मिलित भएर केन्द्रीय समिति बनेको थियो ।

त्यस्तै स्थायी समितिमा २६ जना पूर्व एमाले र १९ जना पूर्व माओवादी नेता रहेर स्थायी समिति बनेको थियो । पूर्व माओवादी कोटाका अग्नि सापकोटा सभामुख हुन गएपछि उनको स्थान रिक्त रहदा एक सिट खाली नै छ ।  नेकपाले अहिले पार्टी स्थायी समिति बैठकबाट पारित गरेको एउटा बुँदाले महरा माथीको कारवाही फुकुवा हुने र जिम्मेवारी पाउन सम्भावना देखाएको छ । दुई अध्यक्षले प्रस्ताव गरेको र स्थायी समितिले पारित गरेको दुई अध्यक्षको प्रस्तावमा पार्टीमा माग भई आएका अनुशासनात्मक कारवाही गर्नुपर्ने वा कारवाही फुकुवा गर्नुपर्ने विषय यथाशीघ्र टुंगो लगाउने विषय पनि समावेश भएकोले महरामाथीको कारवाही फुकुवा हुने संकेत नेकपाले देखाएको छ ।  उक्त कुरा दुई अध्यक्षले हस्ताक्षर गरी २९ भदौंमा जारी गरेको अन्तर पार्टी निर्देशन ५ को पेज ७ मा पनि उल्लेख छ । 

हेर्नुहोस अन्तर पार्टी निर्देशनको पेज नम्वर ७ मा रहेको (५.७) नम्बरको बुँदा :

यो बुँदाका आधारमा हेर्दा अब बस्ने पार्टी सचिवालय बैठकमा महराका विषयमा छलफल हुन सक्ने र जिम्मेवारी तय हुन सक्ने सम्भावना देखाएको छ । कात्तिक १५ देखि १७ सम्म नेकपाले काठमाडौंमा बोलाएको पार्टी केन्द्रीय समिति बैठकमा सचिवालयले गर्ने फुकुवाको निर्णयका आधारमा महराले त्यसै बैठकमा सहभागी हुन पाउने गरी जिम्मेवारी पाउन सक्ने सम्भावना देखिएको नेकपाका एक शीर्ष नेताले बताए । 

उनलाई तत्कालका लागि अग्नि सापकोटा सभामुख हुदा रिक्त हुन पुगेको स्थायी समिति सदस्यका रुपमा लैजान सक्ने सम्भावना रहेको ति नेताले बताए । तर सिधै स्थायी समितिमा लैजाने या केन्द्रीय समितिमा मात्र महाधविशेन अगाडी राख्ने भन्नेमा भने यसै भन्न नसकिने पनि बताईएको छ । रिक्त माओवादी तर्फको स्थायी समिति सदस्यमा हितमान शाक्यको पनि दाबेदारी रहिरहेको छ । शाक्यले आफु भन्दा जुनियर नेताहरु स्थायी समिती सदस्य रहेको र आफुमाथी भने एकताका क्रममा अन्याय भएकोले रिक्त स्थायी समितीमा आफुलाई लैजानुपर्ने जिकिर गरिरहेको बताइन्छ ।