को हुन् विमला ? किन बनाइँदैछ अर्थ राज्यमन्त्री ?

सफल खबर संवाददाता

सोमबार, २९ भदौ २०७७, ११ : २५
को हुन् विमला ? किन बनाइँदैछ अर्थ राज्यमन्त्री ?

काठमाडौँ । सरकार पुनर्गठनको तयारीसँगै मन्त्री हेरफेरको काम बालुवाटारले सुरु गरिसकेको छ । अर्थमन्त्रीको जिम्मेवारी आफैँले सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन र वामदेव गौतमलाई राष्ट्रियसभाको सांसदमा शपथ गराउनुअघि नै अर्थ मन्त्रालयमा डा. विमाला राई पौड्याललाई राज्यमन्त्री बनाएर पठाइहाल्ने मुड बनाएका छन् ।

डा. पौड्याललाई अर्थ राज्यमन्त्री बनाउन चाहनुको पछाडि प्रधानमन्त्री ओलीको एउटा गहिरो स्वार्थ लुकेको छ । उनलाई राज्यमन्त्री बनाइए पनि प्रधानमन्त्रीको आर्थिक मामिला सल्लाहकार नियुक्त हुन लागेका निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाले नै मन्त्रालयका कामहरु संयोजन गर्ने तयारीमा बालुवाटार रहेको छ ।

को हुन् विमला ?
राष्ट्रियसभामा राष्ट्रपतिले मनोनीत गर्ने तीनमध्येकी एक सांसद हुन् डा. विमला । केपी ओलीको अघिल्लो (२०७२) को प्रधानमन्त्रीकालमा राष्ट्रिय योजना आयोगको सदस्य बनाइएकी उनी विद्यादेवी भण्डारी राष्ट्रपति निर्वाचित भएलगत्तै राष्ट्रपतिकी विज्ञ सल्लाहकारका रुपमा नियुक्त भएकी थिइन् ।

उनले विद्यार्थीकालमा धनकुटामा अखिलको राजनीतिमा थिइन् । ०४९ सालमा जिल्ला विकास सभापति भएका धर्मराज पौडेलकी छोरी हुन् । विवाह भने राई थरका पुरुषसँग गरेकी हुन् ।

नेदरल्याण्डको हेगस्थित इन्ष्टिच्युट अफ सोसल स्टडिजबाट विकास मामिलामा विद्यावारिधी गरेकी उनले त्यसअघि बेलायतको म्यानचेष्टर युनिभर्सिटीबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेकी थिइन् । त्रिभुवन विश्वविद्यालयबाट कृषि अर्थतन्त्रमा स्नातक तहको अध्ययन पनि गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस