गुणस्तरहीन स्यानिटाइजरले जोखिम : साबुनपानी नै ‘हितकर’

पत्रपत्रिकाबाट

सोमबार, २९ भदौ २०७७, ०७ : ०६
गुणस्तरहीन स्यानिटाइजरले जोखिम : साबुनपानी नै ‘हितकर’

काठमाडौं । धेरैजसो अवस्थामा हातबाटै भाइरस संक्रमण हुन्छ। आफू होस् या अरूमा। त्यही हातलाई संक्रमणरहित बनाउन घसिने स्यानिटाइजर गुणस्तरहीन (मेथानल मिश्रित) रहेछ भने के होला ?  त्यसमाथि बच्चाको हातमा पर्‍यो भने ? यो जिज्ञासामा चिकित्सकहरू चिन्ता व्यक्त गर्छन्।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले मेथानल  मिश्रित स्यानिटाइजर खरिद गरेको भए तत्काल फ्याँक्न सल्लाह दिन्छन्।

‘मेथानल विषाक्त हो। बच्चाबच्चीको कमलो छालामा बारम्बार घस्दा विषाक्त रसायन छालाले सोस्छ। त्यसले दीर्घकालमा दृष्टि क्षमतामा असर गर्छ। मुखमा परे ज्यानसमेत जान्छ’, डा. काफ्ले भन्छन्, ‘साबुनपानीले मिचीमिची हात धुनु जत्तिको राम्रो अरू केही होइन।’

नेपाल औषधि व्यवस्था विभागले विषाक्त स्यानिटाइजर कहाँ-कति छ भनेर लेखाजोखा गर्न सकेको छैन। सीमित साधनस्रोत र जनशक्तिका कारण अनुगमन गर्न नसक्दा बजारमा गुणस्तरहीन उत्पादन छ्यापछ्याप्ती छ। कतिपयले थाहा नपाएरै विषाक्त स्यानिटाइजर घरका कोठा–कोठामा सजाएका छन्। उत्पादक कम्पनीले स्यानिटाइजरको लेभलमा मेथानल मिसाइएको उल्लेख नगरी बिक्रीवितरण गरिरहेकाले सचेत हुन विज्ञको सुझाव छ। अन्नपूर्ण पोस्टमा खबर छ । 

प्रतिक्रिया दिनुहोस