नेकपामा माधव नेपाल किन पर्दैछन् ओझेलमा

पत्रपत्रिकाबाट

विहीबार, २५ भदौ २०७७, ०८ : ०७
नेकपामा माधव नेपाल किन पर्दैछन् ओझेलमा

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मुख्य विवादको जड ‘एक व्यक्ति एक जिम्मेवारी’ को विषय मुल्तबीमा परेको छ। 
पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले स्थायी कमिटीमा प्रस्तुत गर्ने सहमतिको खाकासहितको प्रस्तावमा उक्त विषय आगामी महाधिवेशनले टुंगो लगाउनेगरी मुल्तबीमा राखिएको हो।

वरिष्ठ नेता माधवकुमार नेपालले उठाउँदै आएको एक व्यक्ति एक जिम्मेवारीको विषयमा अन्य सचिवालय सदस्य र स्थायी कमिटी सदस्यहरूबाट स्पष्ट खाका नआएकाले त्यसलाई आगामी महाधिवेशनबाट टुंगो लगाउनेगरी अहिलेलाई छलफलको विषय नै नबनाइएको नेकपा उच्च स्रोतले जनाएको छ। 

‘निर्वाचित जनप्रतिनिधि, पार्टीका वरिष्ठ नेता, विभागीय प्रमुखलगायत कुन–कुन पदलाई दोहोरो जिम्मेवारी दिने भन्ने खुल्दैन। पार्टीका नेताहरू सांसद, मन्त्रीदेखि गाउँपालिका प्रमुखसम्मको जिम्मेवारीमा छन्। कुन पदलाई कहाँनिर जिम्मेवारीमुक्त गर्ने भन्ने विषयले पार्टीभित्रै असजिलोपन उत्पन्न गराउँछ,’ स्रोतले भन्यो, ‘त्यसकारण अहिलेलाई उक्त विषय महाधिवेशनमै छलफल गर्नेगरी स्थगित गरिएको छ।’

बुधबार दुई अध्यक्षबीच भएको छलफलपछि शुक्रबार हुने स्थायी कमिटी बैठकमा पेस गर्ने सहमतिको प्रस्तावमा एक व्यक्ति एक जिम्मेवारीको विषयलाई कहीँकतै उल्लेख गरिएको छैन। प्रस्तावमा यसअघि पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा बनेको ६ सदस्यीय कार्यदलले तयार पारेको सुझाव प्रतिवेदनलाई आधार मानेर पार्टी विधि–पद्धतिमा सञ्चालन हुने उल्लेख गरिएको छ। तर व्यक्तिगत जिम्मेवारी हेरफेरबारे केही उल्लेख गरिएको छैन। आजको नागरिक दैनिकमा नेकपामा नेता नेपाल ओझेलमा परेको भ्नदै खबर छापिएको छ।

प्रतिक्रिया दिनुहोस