कोरोनाका कारण दुग्ध क्षेत्रको ६० प्रतिशत बजार गुम्यो, २० अर्बको नोक्सान

सफल खबर संवाददाता

शनिबार, २० भदौ २०७७, १८ : १८
कोरोनाका कारण दुग्ध क्षेत्रको ६० प्रतिशत बजार गुम्यो, २० अर्बको नोक्सान

काठमाडौं । कोभिड–१९ को महामारीका कारण दुग्ध क्षेत्रको ६० प्रतिशत बजार गुमेको सरोकारबालाहरु बताएका छन् । कोरोना शुरु भएदेखि हालसम्म दुग्धको नीजि क्षेत्रमा मात्र २० अर्ब रुपैयाँ घाटा लागेको बताइएको छ ।

एसोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) ले शनिवार आयोजना गरेको ‘कोभिड–१९ का कारण दुग्ध क्षेत्रमा परेको समस्या र समाधानका उपायहरु’ विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रम सो क्षेत्रका सरोकारबालाहरुले धारणा राख्ने क्रममा त्यसको जानकारी दिएका हुन् । 

कोरोना महामारीका कारण डेरी क्षेत्रमा मात्र होइन, किसानलाई पनि निकै समस्या भएको धारणा राख्दै वाग्मती प्रदेशका भूमि, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले दुग्ध क्षेत्रका उद्योगीदेखि लिएर किसानसम्मको समस्या समाधान हुनुपर्ने कुरामा जोड दिए ।  

किसानले उत्पादन गरेको दुधले बजार नपाएको बताउँदै मन्त्री लामाले त्यसको बारेमा सरकार तथा नीजि क्षेत्र मिलेर छलफल गरी समाधान गर्नुपर्ने कुरामा जोड दिए । 

डेरी तथा दुध क्षेत्रको समस्याको बारेमा आफूले संघीय कृषि तथा पशुपक्षी विकास मन्त्रीसँग पनि छलफल गर्ने र समाधानका लागि प्रयास गर्ने प्रतिवद्धता जनाउँदै उनले कोरोनाका कारण देखिएको समस्या चाँडै समाधान गर्ने प्रतिवद्धता जनाए । 

केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले कोरोना महामारीका कारण दुधमा ३० प्रतिशत ह्रास आएको बताए ।  देशभरि सहकारीमा ६ लाख लिटर दुध संकलन हुन्छ, त्यसमा अहिले ३० प्रतिशत कमी आएको बताउँदै उनले अहिले सबै समस्या किसानसँग ठोकिएको बताए ।  किसानले डेरी उद्योगीबाट चार महिनादेखि भुक्तानी नपाएको गुनासो गर्दै उनले एकातिर किसानको दुध विक्रि भइरहेको छैन भने अर्कोतिर विक्रि एका दुधको भुक्तानी नपाइरहेको अवस्थामा किसान साह्रै पीडामा परेको बताए । 

डेरी उद्योगहरु पूर्ण रुपमा सञ्चालनमा रहेपनि उद्योगीहरुले किसानको दुध खरिद नगरेको बताए । नेपाल डेरी एशोसिएशनका महासचिव प्रल्हाद दाहालले कोरोनाका कारण डेरी उद्योगका ६० प्रतिशत बजार समाप्त भएको बताउँदै हालसम्म यो क्षेत्रले २० अर्बको नोक्सान बेहोरिसकेको बताए ।  

दुध विकास संस्थानका सञ्चालक समितिका सदस्य शितलकाजी श्रेष्ठले दुध क्षेत्रमा उत्पादनको समस्या नभएपनि विक्रि वितरणमा समस्या भएको कारणले डीडीसी घाटामा गइरहेको बताए । 

प्रतिक्रिया दिनुहोस