चितवनमा निषेधाज्ञा खुकुलो, केके खुल्छ ? केके खुल्दैन ? (सूचीसहित)

सफल खबर संवाददाता

शुक्रबार, १९ भदौ २०७७, १६ : ५८
चितवनमा निषेधाज्ञा खुकुलो, केके खुल्छ ? केके खुल्दैन  ? (सूचीसहित)

चितवन । चितवनमा निषेधाज्ञा खुकुलो बनाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले भदौ ३१ गतेसम्म निषेधाज्ञा कायमै रहेको जनाए पनि यसअघिको तुलनामा निषेधाज्ञा खुकुलो बनाइएको छ । 

चितवनमा हरेक दिन संक्रमितको संख्या बढ्दै गइरहेकाले भाद्र ३१ गते सम्म  निषेधाज्ञा गर्न निर्णय भएको जिल्ला प्रशासन कार्यालय चितवनका सुचना अधिकारी ईश्वर सिम्खडाले भने, ‘तर निषेधाज्ञालाई केही खुकुलो बनाइएको छ ।’  

केके खुल्छन् ?
भदौ मसान्त अर्थात् ३१ गतेसम्म बिहान १० देखि ४ बजेसम्म व्यवसाय खुल्नलाई छूट दिइएको छ । भाँडा पसल, कपडाका पसल, फेन्सी पसलहरु, किराना तथा खाद्य सामग्री, दूध डेरी, कृषि औजार तथा ढुवानीका पसलहरु बिहान १० देखि ४ बजेसम्म खुल्न पाउनेछन् । 

यस्तै बिजुलीका पसल, निर्माण सामग्रीका पसल, प्रोभिजनल पसलहरु पनि बिहान १० देखि ४ बजेसम्म खुल्न पाउनेछन् । मालबाहक सवारी साधन, सञ्चारकर्मीका सवारी साधन, सुरक्षाकर्मीका सवारी साधन, स्वास्थ्यकर्मीका सवारी साधन पनि चल्न पाउनेछन् । चितवन प्रशासनले पछिल्लो पटक निषेधाज्ञा थप गर्दा बैंकिङ क्षेत्रलाई केही खुकुलो बनाएको थियो । बैंक तथा वित्तीय कार्यालयहरु पनि बिहान १० देखि ४ बजेसम्म खुल्न पाउनेछन् । 

केके खुल्दैनन् ?
शैक्षिक संस्था, तालिम, भाषा कक्षा ट्युसन कक्षा सञ्चालन हुने छैन । परम्परागत गरिने नृत्य पूजा परिवारका सदस्यमात्र सहभागी हुने गरी सञ्चालन हुने बाहेकका धार्मिक सामाजिक र सांस्कृतिक र सामाजिक कार्य गर्न पाइने छैन । मेला महोत्सव जात्रा र सभा समारोह गर्न पाइने छैन । कुनै पनि भाडाका सवारी साधन चल्न पाउने छैनन् । 

सिनेमा हल, स्वीमिङ पुल, जिमखाना, सैलुन, ब्युटिपार्लर स्पा सञ्चालन गर्न पाइने छैन । ठेला रिक्सा र खुल्ला ठाउँमा व्यापार गर्न पाइने छैन । होटल तथा रेष्टुरेन्टहरु पनि चल्ने छैनन् । पिसिआर परीक्षणका लागि स्वाब दिएका मानिसहरु नतिजा नआएसम्म हिँडडुल गर्न पाइने छैन । माक्स नलगाई हिँडडुल गर्न पाइने छैन ।  

प्रतिक्रिया दिनुहोस