टिकटकले बिथोल्दैं इन्टरनेट

पत्रपत्रिकाबाट

शुक्रबार, १९ भदौ २०७७, ०८ : ३३
टिकटकले बिथोल्दैं इन्टरनेट

काठमाडौँ । टिकटक नेपालमा त्यति नै चर्चित र लोकप्रिय छ, जति फेसबुक । टिकटकको यो लोकप्रियता छ महिनायता झन् बढ्दो छ । ‘लकडाउन’ले घरभित्रै रहँदा धेरै इन्टरनेट प्रयोगकर्ताका लागि टिकटक समय गुजार्ने रमाइलो माध्यम पनि बन्यो । यसको लोकप्रियता त्यसयता चुलिएको छ । टिकटकको चुलिँदो लोकप्रियताले नेपालको इन्टरनेटको गुणस्तरमा भने धक्का दिएको छ ।

इन्टरनेट सेवा प्रदायकका अनुसार अहिले नेपाल भित्रिने कुल अन्तर्राष्ट्रिय हिस्सा टिकटक प्रयोगमै खपत हुन्छ अर्थात् १७० जीबीपीएस सम्मको अन्तर्राष्ट्रिय ब्यान्डविथ टिकटककै लागि प्रयोग हुने गर्छ । जुन बन्दाबन्दीअघि सम्म जम्मा १० जीबीपीएसको हाराहारी थियो । सुरक्षा सतर्कताका लागि भन्दै टिकटकले पूर्वजानकारी बिना आफ्नो इन्टरनेट प्रोटोकल एचटीपीपीबाट एचटीपीपीएसमा परिवर्तन गरेपछि नेपाली सेवा प्रदायक यतिबेला समस्यामा देखिन्छन् ।

टिकटकले आफ्नो इन्टरनेट प्रोटोकल परिवर्तन गरेपछि ‘क्यास सर्भर’को अभावमा यसका लागि सबै अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रयोग हुन थालेको छ । क्यास सर्भर कुनै पनि कन्टेन्टलाई स्थानीय रूपमै उपलब्ध गराउन राखिने सर्भर हो । जसको प्रयोगले इन्टरनेट प्रयोग केही छिटो बन्न पुग्छ । तर बन्दाबन्दीका कारण सर्भर तथा आवश्यक अपगे्रडको काम गर्न नसक्दा टिकटले अधिक ब्यान्डविथ खपत गरिरहेको इन्टरनेट सेवा प्रदायक भायनेटका प्रबन्ध निर्देशक विनय बोहरा बताउनुहुन्छ । लकडाउनका कारण सर्भर र नेटवर्कमा लगानी बढाएर अन्तर्राष्ट्रिय ब्यान्डविथ घटाउने हाम्रो प्रयास भने सफल हुन सकेको छैन, उहाँले भन्नुभयो ।

सेवा प्रदायकका अनुसार नेपालमा सबैभन्दा बढी इन्टरनेट प्रयोग हुने समय राति ८ः०० देखि १०ः०० बजेसम्म टिकटकले खपत गर्ने अन्तर्राष्ट्रिय ब्यान्डविथकै कारण ढिला चल्ने हुन थालेको छ । वल्र्डलिङ्क, सुबिसुजस्ता स्थापित इन्टरनेट सेवा प्रदायकले त टिकटकका कारण बिगे्रको इन्टरनेटको गुणस्तरमा सार्वजनिक सूचना जारी गरेर क्षमा माग्दै तत्काल यो समस्या समाधान गर्ने प्रयासमा लाग्ने जनाएका छन् । टिकटकले एचटीपीपीएस प्रोटोकलका लागि क्यास सर्भर उपलब्ध गराउन अकामाईको नेटवर्क प्रयोग गर्दै आएको छ । अचानक टिकटकले गरेको प्रोटोकल परिवर्तनले टिकटकसहित अकामाईसँग पनि सहकार्य गर्नुपर्ने बाध्यता सेवा प्रदायकलाई छ ।

छोटो भिडियो अपलोड गर्ने माध्यमका रूपमा विश्वभर छोटै समयमा स्थापित टिकटक यतिबेला अमेरिका र भारतको निशानामा छ । अमेरिकाले टिकटकको सुरक्षा कारण बताउँदै अमेरिकी लगानीकर्तालाई सेयर बिक्री नगरे बन्द गर्ने चेतावनी दिइसकेको छ । भारतले पनि चिनियाँ एपले महŒवपूर्ण डेटा चोरी गर्नसक्ने आरोप लगाउँदै टिकटकसहित अहिलेसम्म करिब दुई सय एप्सलाई प्रतिबन्ध लगाइसकेको छ ।

टिकटकका लागि दुई महत्वपूर्ण बजारले नै सुरक्षा चेतावनी दिएपछि कम्पनीले एक महिनाअघि आफ्नो सुरक्षा प्रोटोकल परिवर्तन गरेको हो । त्यसैको मारमा यतिबेला नेपाली इन्टरनेट बजार छ । सेवा प्रदायकले भारतीय इन्टरनेट सेवा प्रदायकमार्फत नेपालमा अन्तर्राष्ट्रिय ब्यान्डविथ आयात गरिरहेका छन् । जसको मूल्य प्रतिएमबी १० देखि २० डलरसम्म रहेको छ । गोरखापत्र दैनिकमा खबर छ ।