यसकारण पुल्चोक झडप

पत्रपत्रिकाबाट

शुक्रबार, १९ भदौ २०७७, ०६ : ४१
यसकारण पुल्चोक झडप

ललितपुर । पुल्चोकमा रहेको रातो मत्स्येन्द्रनाथ रथ बिहीबार नै तान्ने विषय सामाजिक सञ्जालमा यस्तरी फैलियो कि त्यसको अनुमान, न ललितपुर महानगरपालिकाले गर्न सक्यो, न त जिल्ला प्रशासनले नै ।

समयमै रथयात्रा गर्न नसक्नुको कमजोरीका कारण पुल्चोक झडप हुन पुग्यो । रथयात्रा मलमासअघि नै गर्नुपर्ने आवाज उठिरहे पनि बिहीबार भने ज्यापु समाज, बौद्ध विहार संघ, श्रेष्ठ समाज, कपाली समाजलगायत १९ संगठन रथयात्रा हुनेमा अनभिज्ञ नै थिए ।

अघिल्लो दिनदेखि नै रथ तान्नुपर्ने पक्षमा रहेका अभियन्ताले बिहीबार बिहान पुल्चोकमा भेला हुन आह्वान गरिरहेको पोस्ट सामाजिक सञ्जालमा ह्वात्तै फैलियो । पाटनका विभिन्न टोल, कीर्तिपुर, काठमाडौं, भक्तपुर र ललितपुरका सुनाकोठी, लुभु, बुङ्मतीलगायत नेवार समुदायको बस्ती रहेको स्थानबाट युवा एकत्रित भए ।

प्रशासनले निषेधाज्ञा जारी गरे पनि त्यसको कमजोरीको फाइदा उठाउँदै रथयात्रामा सहभागी हुन स्थानीय गल्ली र भित्री सडक हुँदै पुल्चोक आइपुगे । मुख्य सडकमा ‘चेकिङ’ भए पनि भित्री गल्लीमा प्रहरीको आँखा छल्दै उनीहरू एकत्रित भए । राजधानी दैनिकमा खबर छ ।