चितवन । भरतपुर महानगरपालिकाको महत्वपूर्ण परियोजना सिटिहलको निर्माण आउँदो महिनाबाट थालिने भएको छ । भरतपुर महानगरपालिका–१० मा अत्याधुनिक सिटिहलको निर्माण गर्न लागिएको हो । सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरले सिटिहल निर्माणका लागि ठेकेदार छनौट प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ ।
सिटिहल निर्माणका लागि आह्वान गरिएको बोलपत्रको प्राविधिक प्रस्ताव अनुमोदन भइसकेको छ । बोलपत्रमा १५ ठेकेदार कम्पनी सहभागी भएका थिए । तीमध्ये छनौटमा परेका पाँचवटा कम्पनीको आर्थिक प्रस्ताव मुल्याङ्कन गरी शहरी तथा भवन निर्माण विभागमा सोमबार पठाइएको आयोजना प्रमुख प्रकाश अर्यालले बताए । विभागबाट अन्तिम स्वीकृत भएलगत्तै कामका लागि छनोट भएका ठेकेदार कम्पनीलाई एक साताको सूचना जारी गरेर दावी विरोध नभएमा १५ दिनभित्र बोलाएर काम शुरुआत गर्न लगाइने उनको भनाइ छ । यी सबै प्रक्रिया सम्पन्न गरी असोजबाट निर्माण शुरु गर्न सकिने भएको छ ।
सम्झौता मितिको २७ महिनाभित्र काम सम्पन्न गर्नुपर्ने हुन्छ । बोलपत्र रकम मूल्य अभिवृद्धि करबाहेक रु एक अर्ब छ करोडको रहेको छ । आर्थिक प्रस्ताव विभागबाट अनुमोदन भइनसकेकाले के कतिमा बोलपत्र सदर हुन्छ भन्ने बारेमा आयोजनाले नजनाए पनि लागत अनुमानभन्दा कममा बोलपत्र प्रस्ताव गरिएको जनाइएको छ । विभागका महानिर्देशक मणिराम गेलालले आर्थिक प्रस्ताव आफूले तोक लगाएर अघि बढाइसकेको बताए । उनले भने , “आज या भोलि चितवन पुग्छ ।” यस लगत्तै सामग्री पाएमा काम अघि बढ्ने उनको भनाइ छ ।
भरतपुर महानगरको गौरवको रूपमा सभाहललाई लिइएको छ । चार बिघा जमिनमा निर्माण गर्न लागिएको सभाहलमा मुख्य अडिटोरियम ब्लकमा दुई हजार जना अट्ने सुविधासम्पन्न सभाहल हुनेछ । सँगै ३०० क्षमताको कन्फरेन्स हल रहने छ भने विशिष्ट व्यक्तिका लागि छुट्टै कक्ष हुने अर्यालले जानकारी दिनुभयो । चारवटा भर्याङ्ग, प्रवेशद्वार, आकर्षक स्टेज, रिहर्सल कक्ष रहने छन् । मुख्य ब्लक सात हजार वर्गमिटरमा फैलिएको छ ।
उनले भने, “मुख्य ब्लक मात्र एक बिघा क्षेत्रफलमा फैलिएको छ ।” सिटिहल परिसरमा दुई पाङ्ग्रे ३१७ वटा र चार पाङ्ग्रे ६७ वटा गाडी अट्ने क्षमता रहने छ । त्यस्तै विशिष्ट व्यक्तिहरुका सात वटा सवारी अट्ने छुट्टै पार्किङ हुने अर्यालले जानकारी दिए । हाल नेपालमा यति क्षमताको संञ्चालनमा रहेको सभाकक्ष छैन । अर्यालले भने, “नेपाली शैलीमा बन्ने भए पनि उच्चस्तरीय सामग्रीहरु प्रयोग गरी अत्याधुनिक बनाइने छ ।”
भरतपुर महानगर प्रमुख रेनु दाहाल निर्वाचित भएदेखि नै सभाहलका लागि पहलमा खटिएकी थिईन् । मेयर दाहाल भन्छिन्, “पहिले त जग्गा पाउनै मुस्किल भयो, जग्गा पाएपछि सम्पूर्ण प्रक्रिया पूरा गर्न समय लाग्यो ।”
दाहालले भदौ अन्तिम साताबाट काम थाल्ने तयारी गरेको भए पनि आसोज लाग्न सक्ने बताईन् । उनले भनिन्, “यो महानगरको सान हुने छ ।” यसले स्वदेश र विदेशमा चिनाउने उहाँको विश्वास छ । अत्याधुनिक र सुविधासम्पन्न हुने भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा सम्मेलन गर्न सहज हुने दाहालको भनाइ छ । जिल्लामा ठूलो सिटिहल निर्माणका लागि यहीँबाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालको निरन्तर प्रयास सफल भएको उनको भनाई छ । ।
जिल्लाको विकासमा सिटिहल कोसेढुङ्गा हुने विश्वास लिइएको छ । ठूला कार्यक्रम गर्ने ठाउँको अभावमा देशकै केन्द्रविन्दु भएर पनि यहाँ हुन सकेका थिएनन् । दाहालले भनिन्,“ठूला दलका सभा सम्मेलनदेखि महाधिवेशनसम्म गर्न सकिने छ ।” महानगर प्रमुख दाहालले शुरुमा गरिएको नक्साङ्गकनमा अरु धेरै संरचना भए पनि पछि केही घटाइएको बताईन् । शुरुमा रु दुई अर्ब लाग्ने गरी नक्साङ्गकन गरिएको थियो । संरचना क्रमशः थप्दै लगिने छ । जिल्लाबासीको सकारात्मक सहयोगले गर्दा पनि यो महत्वपूर्ण परियोजना शुरु गर्न सकिएको दाहालको ठम्याइ छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १७ भदौ २०७७, १० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरबाट रेनु दाहालले दिइन् राजीनामा
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय भवनको ‘प्रचण्ड’ले गरे उद्घाटन
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीले हान्यो अश्रुग्यास
भरतपुर महानगरपालिकाद्वारा विपद्का उद्धार सामग्री हस्तान्तरण
‘आत्मनिर्भर भरतपुर’ को रोडम्याप : कृषि, रोजगारी र सुशासनमा दूरदर्शी योजना